ग्रहणहरू रोचक खगोलीय घटना हुन्। मानिसहरू ग्रहण हेर्न रमाउँछन्।
चैत २६ गते (एप्रिल ८) सोमवारमा औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन्। यसपालि म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्ने छ। नेपाल र एशियाबाट भने यसपालि खण्डग्रास सूर्यग्रहण देखिने छैन।
सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ। त्यस बेला उषाकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ।
सन् २०२४ को खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा सुरु हुने छ। कुक द्वीपको पेनरिन एटोलका बासिन्दाले स्थानीय समयानुसार बिहान ६ बजेर ४० मिनेट जाँदा सूर्य कालो भएको देख्ने छन्। त्यसपछि चन्द्रमाको सघन छाया पृथ्वीको सतहमा प्रतिघण्टा २,५०० किलोमिटरको गतिमा पर्ने छ। त्यसले स्थानीय समयानुसार ११ बजेर ७ मिनेट जाँदा मेक्सिको तट पार गर्ने छ र म्याक्सिको र अमेरिका बीचको रिओ ग्र्यान्डी सीमा स्थानीय समयानुसार १ बजेर २७ मिनेट जाँदा पार गर्ने छ।
खग्रास सूर्यग्रहण कैयौँ खगोलीय अवस्थामध्येको एक हो। साइन्स कम्युनिकेशन सेन्टर अफ दि अटोनोमस यूनिभर्सिटी अफ चिलेका खगोलविद् ह्वाँ कार्लोस बीयामिनले आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेखेका छन्, "सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण।" उनका अनुसार दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुन्छ।
पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ। त्यसो हुँदा सूर्यग्रहण हुन्छ। सूर्यग्रहणका तीनवटा प्रकार हुन्छन्। चन्द्रमाले सूर्यलाई कति र कसरी छेक्छ त्यसले गर्दा फरकफरक किसिमका ग्रहण बन्छन्।