
नेपालमा चैत्र २९ गते बिहिबार ईद मनाईने भएको छ। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज मंगलबार चन्द्रमा (चाँद) नदेखिएकोले नेपालमा बिहिबार मनाईने तय भएको जानकारी दिए ।
यस संगै ईदको सार्वजनिक विदा पनि बिहिबार नै हुने भएको छ । यसको लागि गृह मन्त्रालयले बुधबार सर्वजनिक सूचना प्रकाशन गर्ने छ ।
मुस्लिम धर्मावलम्वीहरुको एक महिने ब्रत आज साँझ सकिँदै छ। इद उल फित्र पर्व एक महिनाको ब्रत रोजा सकिएको दिन साँझमा चन्द्रमा देखिएमा भोलिपल्ट इद मनाउने गरिन्छ। इदको नमाज पढ्नु अगाडी नेपाल लगायत बिश्वभरका मुस्लिम समुदायले आफ्नो एक वर्षको आम्दानिबाट तोकिए बमोजीमको निश्चित रकम छुट्याएर त्यसलाई सहयोग तथा दानको रुपमा वितरण गर्छन्।
यसरी छुट्याएर वितरण गरिने रकमलाई अरेबिकमा 'जकात' दिने भनिन्छ। जकात बापतको यस्तो रकम आफ्नो परिवारको सबैभन्दा कम्जोर आर्थिक अवस्था भएकोलाई, त्यो नभए छिमेकमा सबै भन्दा बढी कम्जोर आर्थिक अवस्था भएकोलाई र एवम रितले वितरण गर्नुपर्ने इस्लामिक कानुन छ।
इदमा आफ्नो हिस्साको जकातको पैसा छुट्याएपछि मुस्लिम समुदायहरु आफ्नो घर नजिकैको इदगाह (खुला मैदान) मा सामुहिक रुपमा नमाज पढ्ने गर्छन । र एक आपसमा शुभकामना आदानप्रदान गर्दै मिठा परिकार खाएर इदको खुसियाली मनाउने गर्छन्।