३ प्रतिशत ब्याजमा ऋण पाउन १६ सय स्टार्टअपको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 09:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्टाटर्अप उद्यम कजार्का लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गर्दा १६ सय बढी स्टार्टअपले आवेदन दिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार २०८० माघ १९ गतेदेखि २०८० फागुन १० गतेसम्मको अवधिमा कुल १ हजार ६ सय ५८ वटा प्रस्ताव पेश भएका हुन् । 

अब मापदण्ड पूरा गरेको परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकी प्रस्तुतीकरणको लागि आव्हान गर्ने जनाएको छ । प्रतिष्ठानका अनुसार तोकिएको समयमा प्रस्तुतीकरणको लागि उपस्थित नभएका परियोजनाहरू स्वतः छनौटमा पर्ने छैनन् । प्रस्तुतीकरण गरेका परियोजनाहरूलाई बैङ्कमार्फत क्रेडिट अप्राइजल गरी पचास अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिनेछ । सिफारिसमा परेका उद्यमीहरूले बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ले स्टार्ट अप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित मापदण्ड तोकेको छ । सोही मापदण्डलाई आधार मानी प्राप्त परियोजनाहरूको प्रारम्भिक सूची तयार गर्न प्रतिष्ठानले नेपाल सरकार र विज्ञहरूको सहयोगमा मापदण्ड बनाएको छ । 

जस अनुसार प्रतिष्ठानमा दर्ता भएका १६५८ प्रस्तावलाई मूल्याङ्कन समितिमा एक एक गरी अध्ययन गर्ने र छलफल गरी निर्णय लिने उल्लेख छ। मूल्याङ्कन गर्ने क्रममा मूल्याङ्कन समिति लगायत यससँग प्रत्यक्ष संलग्न कर्मचारीहरूले कुनै आग्रह– पूर्वाग्रह नराखी निर्णय गर्ने तथा सूचनाको संवेदनशीलतालाई मध्यनजर गरी मूल्याङ्कनकर्ता लगायत यससँग प्रत्यक्ष सलग्न कर्मचारीहरूले आफ्नो कार्य जिम्मेवारीअनुसार सूचनाको गोपनीयता पालना गर्ने मापदण्डमा उल्लेख छ ।

कुनै वस्तु वा सेवाको उत्पादन / सञ्चालन / वितरण प्रक्रियामा नवीन प्रविधि एवम् सृजनशील सोचको प्रयोग गरेको वा नगरेको विषयमा निर्णय लिनका लागि मूल्याङ्कन समितिका सदस्यहरूबीच छलफल गरी निष्कर्षमा पुग्ने प्रतिष्ठानले जनाएको छ । स्टार्टअप व्यवसाय दर्ता गर्ने निकायको रूपमा कानुन बमोजिम उद्योग विभाग, प्रदेश उद्योग दर्ता गर्ने निकाय र स्थानीय तहले काम सम्पादन गर्ने भएकाले उल्लेखित निकायबाट दर्ता भएका व्यवसायका निवेदन मात्र कर्जा प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउने पनि प्रतिष्ठानले प्रष्ट पारेको छ ।

पूँजी नखुलेको, रितपूर्वक प्रस्ताव फाराम नभरेको वा आंशिक भरेको प्रस्ताव मूल्याङ्कनमा समावेश नगर्ने पनि प्रतिष्ठानले जनाएको छ। एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न नपाइने भएकाले यदि कसैले एकभन्दा बढी प्रस्ताव पेश गरेको पाइएमा सबै प्रस्तावलाई प्रक्रियामा अगाडि नबढाउने मापदण्डमा उल्लेख छ । मूल्याङ्कनकर्ताले प्रस्ताव उपर अध्ययन गर्दा प्रस्तावका विवरण र उद्देश्य स्पष्ट नखुलेको, विगतमा गरेको कार्य कतै उल्लेख नभएको र पेश गरेको कागजातमा कारोबार गरिरहेको नदेखिएको अवस्थामा त्यस्ता प्रस्तावहरूलाई प्रक्रियामा अगाडि नबढाउने पनि मापदण्डमा उल्लेख छ । प्रस्तावमा उल्लेख गरेको विवरण र पेश गरेको कागजातमा फरक पर्न गएको अवस्थामा त्यस्ता प्रस्तावलाई प्रक्रियामा अगाडि नबढाउने प्रतिष्ठानले जनाएको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न नेपाल सरकारले चालु आ.व.का लागि रु. २५ करोड विनियोजन गरेको छ । सो कार्यक्रमबाट ३% व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भएको छ । सो रकमको परिचालन गर्न राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता भईसकेको छ । स्टार्टअप कर्जा प्राप्त गर्ने उद्यमी छनौट गर्न कर्जाको अप्राइजल, कर्जा प्रवाह र कर्जा साँवा – ब्याज असुली सबै प्रक्रियामा राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका रहने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

  कार्यविधिमा स्टार्टअप उद्यमको रूपमा सञ्चालन गर्न सकिने उद्यमका १६ वटा क्षेत्र तोकिएका थिए। 

कुन क्षेत्रका स्टार्टअपले आवेदन दिन पाउँने व्य्वात्षा थियो?

(क) कृषि तथा पशुपन्छीसँग सम्बन्धित,

(ख) वन पैदावारसँग सम्बन्धित,

(ग) पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित,

(घ) विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित,

(ङ) मानव स्वास्थ्य सेवासँग सम्बन्धित,

(च) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित,

(छ) सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित,

(ज) अटोमोबाइलसँग सम्बन्धित,

(झ) परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित,

(ञ) खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित,

(ट) घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित,

(ठ) खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित,

(ड) फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धित,

(ढ) विपद व्यवस्थापनसँग सम्बन्धित,

(ण) वैकल्पिक तथा नवीकरणीय उर्जासँग सम्बन्धित,

(त) जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित ।


कस्ता स्टार्ट अप योग्य हुन्छन् ?

 निवेदन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका देहाय बमोजिमका मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुनेछन् ।

(क) कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन विध एवम् सृजनशील सोचको प्रयोग गरेको,

(ख) कुल चुक्ता पूँजी दुई लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म भएको,

(ग) उद्यमको कुल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको,

(घ) स्थिर पूँजी (घर जग्गाको मूल्य बाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको ।

माथि जुनसुकै कुरा लेखिएको भएतापनि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन :

(क) प्रचलित कानून बमोजिम दर्ता नभएको,
(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(घ) होल्डिङ्ग तथा लगानी कम्पनीको रूपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको ।


प्रस्तावमा के के समावेश गर्नु पर्ने थियो?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको अनुसूची-१ बमोजिमको ढाँचामा प्रतिष्ठानमा परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ ।
तर, एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाइनेछैन । पेश भएका प्रस्तावमा उल्लेख भएको विवरण तथा संलग्न कागजात ठीक साँचो हो भनी सम्बन्धित प्रस्तावकले स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणा झुटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बखत रद्द हुनेछ र प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा लेखी पठाइनेछ।यस्ता प्रस्तावक भविष्यमा स्टार्टअप उद्यम कर्जाको लागि आवेदन पेश गर्न अयोग्य हुनेछन् ।

प्रस्तावको साथमा के के कागजात समावेश गर्नु पर्ने थियो?

उद्योगको दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,·
अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म/कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पूर्णकालीन कामदारको विवरण,
IT (Information Technology) को उपयोग र Innovation को प्रमाण ।

 

कर्जा कसरी प्राप्त हुन्छ ?

कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गरिनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्ष हुनेछ । साँवा र ब्याज वापतको रकम ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट फिर्ता गर्न प्रारम्भ गर्नुपर्नेछ। कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुनेछ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुई किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ। प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्ट्याइँसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनेछ । बैङ्कले स्वीकृत परियोजना नै धितोको रूपमा राख्नेछ । परियोजनाको बीमा उद्यमी स्वयंले गर्नुपर्नेछ।

छनौट भएको कसरी थाहा हुन्छ ?

सर्टलिस्टिङमा परेका, प्रस्तुतीकरणका लागि योग्य भएका र अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण वेबसाइट www.iedi.org.np मा राखिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved