अमेरिकी डलर अहिलेसम्मकै महँगो, नेपालमा पर्नेछ यस्तो असर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 11:22:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १२७ रुपैयाँ ५१ पैसा कायम गरेको छ। डलरको विक्रीदर १२८ रुपैयाँ ११ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । 

यसको अर्थ नेपालीहरुले एक डलर किन्न १२८ रुपैयाँ ११ पैसा खर्च गर्नु पर्नेछ । नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

 नेपालमा पर्नेछ यस्तो असर

डलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  

यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। 

डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। 

नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। 

डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। 

औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved