बजेटले उपेक्षा गर्दा घोषणापत्र मै तुहिए बैज्ञानिक पर्यटनका नारा, अबको बाटो के ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2018 | 05:31:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटकको रुपमा परिभाषित गरेको छ । यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, खाने बस्नेको प्रवन्ध गरिदिने जस्ता कार्यलाई पर्यटन व्यवसाय भनिन्छ ।

पुस्तौ अगाडी रोमन रिपब्लिकको समयदेखि नै विभिन्न कला तथा संस्कृतिको विषयमा जानकारी लिन मानिसहरु घुम्न जाने गर्दथे । यसै क्रममा पर्यटक भन्ने शब्द सन् १७७२ मा र पर्यटनभन्ने शब्द सन् १८११ मा प्रयोग भएका हुन् ।

बेलायत लगायतका देशहरुमा औद्योगिक क्रान्ति पछि घुमफिर गर्ने चलन बढेको पाईन्छ । तर निरन्तर त्यही क्रम चलेपछि पर्यटन क्षेत्र एउटा उद्योगको रुपमा विकसित भएको हो । थमस कुकले ट्राभल एजेन्सी मार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको हो । इन्डोनेशियाको बाली, कोलम्विया, ब्राजिल, क्युबा, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया लगायतका ठाउँहरु उच्च भ्रमण गरिने देशहरु हुन् ।

हाल नेपालको लागी मात्रै नभई संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा छ । हाल इन्टरनेटको सहज पहुँच, अन्तराष्ट्रिय संघ संस्थाहरुको स्थापना, शिक्षा, खेलकुद, सभासम्मेलन लगायतका बहुदेशीय कार्यक्रमहरुको आयोजनाले गर्दा अहिले एक देशको परिचय अन्य देशले सहजै प्राप्त गर्न सक्ने वातावरण बनेको छ ।

नेपाल थोरै क्षेत्रफलमा बढी बिबिधता भएको देश हो । संसारकै सबैभन्दा होचोदेखी संसारको सबैभन्दा अग्लो स्थान समेत नेपालमै छ । विश्वका १० विश्व सम्पदा सूचीमा परेका सम्पदा नेपालमा हुनु, संसारको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा, ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल नेपालमा हुनुले पनि नेपालको पर्यटन उद्योगलाई सम्भावनाको दिशा निर्देश गरिरहेको छ ।

एभरेष्ट, अन्नपूर्ण, लाङटाङ लगायतका पदयात्राका चर्चित स्थानहरुले पनि पर्यटकलाई तानिरहेकै छ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक सम्पदाले नेपालको धार्मिक पर्यटन प्रवर्दनमा उल्लेख्य सहयोग गरेका छन् । एकसिँगे गैँडा र पाटेबाघ सहितको निकुञ्ज, अग्ला हिमाल र पर्वतारोहण जस्ता कुराले पर्यटकलाई नेपालप्रति आकर्षित गरेको छ ।

पवर्तारोहण, पदयात्रा, ¥याफ्टिङ, जंगल सफारी, बन्जि जम लगायतका साहसीक गतिविधि तथा प्याराग्लाइडिङ, अल्ट्रालाइट जस्ता क्रियाकलापको लागी नेपाल उत्कृष्ट गन्तव्य हो । यहाँको हावापानी विश्वलाई नै चकित पार्ने किसिमको छ ।

केही वर्षदेखी पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकासको मेरुदण्ड भनिदै आईएको छ । यो बीचमा पर्यटन क्षेत्रको विकासका लागी सरकारी वा गैह्रसरकारी स्तरमा धेरै काम भएका छन् । पर्यटनसम्बन्धी नीति, योजना, ऐन, कानूनहरू बनेका छन् । पर्यटनसम्बन्धी काम गर्न धेरै संस्थाहरू खोलिएका छन् ।

तर राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले पु¥याउने योगदान र त्यसको सम्भावित भविष्यलाई सामान्य मात्रै सोचिएको छ । सरकारी स्तरबाट हुनपर्ने जति पहलकदमी नभएकै हो । यसवर्ष भने सरकारले पर्यटनलाई ठूलो उद्योगको रुपमा विकास गर्ने आफ्नो लक्ष्य प्रस्तुत गरेको छ । भिजिट नेपाल २०२० को अवधारणा अघि सारिएको छ । अब यसलाई सफल बनाउन तत् तत् निकाय मात्रै नभई सबैले कम्मर कसेर लाग्नुपर्ने बेला भएको छ ।

तर यसका लागी सरकारले छुट्याउने बजेट र काम गर्ने नीति निकै फितलो देखिँदै आएको छ । नेपाल साहसिक पर्यटनका लागि परिचित छ तर यस क्षेत्रलाई बजेट छुट्याउन भने सरकारले साहस देखाएको छैन  आर्थिक वर्ष २०७५÷७६ मा सरकारले विनियोजन गरेको बजेट हेर्दा उक्त बजेटले नेपालको साहसिक पर्यटनक क्षेत्रलाई वेवास्ता गरेको प्रष्ट देखिन्छ ।

सरकारले भने धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने भनेको छ । केही महिना अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको जनकपूर भ्रमणमा आए । मुक्तिनाथ सम्मको दर्श गर्न पनि भ्याए । एक हिसाबमा धार्मीक पर्यटन विकास गर्ने सरकारी योजना सकारात्मक नै भएपनि धार्मिक पर्यटकले साहसिक पर्यटकबाट जस्तो लाभ मिल्दैन भन्ने कुरा विहान पशुपति नाथ दर्शन गर्न आउने र बेलुका फर्कने पर्यटकहरुले नै देखाइसकेका छन् ।

महत्वाकांक्षी योजना, बजेट कम

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ मा कुल ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ नेपालको पर्यटन क्षेत्रको लागी विनियोजन गरेका छन् । १९ अर्ब ३५ करोड हवाई तथा नागरिक उड्ड्यन क्षेत्रमा विनियोजन भएको छ । यो बजेट नेपालको पर्यटन क्षेत्रले अपेक्षा गरेअनुसारको बजेट होईन ।

त्यसैगरी सन् २०२० सम्म नेपालमा वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको योजना र पर्यटन क्षेत्रमा विनियोजन भएको बजेटको तालमेल नै मिल्दैन । एकातिर सरकारको लक्ष्य महत्वाकांक्षी देखिन्छ भने अर्कोतिर विनियोजित बजेट पूर्वाधार निर्माण गर्नको लागी पनि नपुग्ने छ ।

बजेटमा सरकारले सय वटा पर्यटकीय गन्तव्यहरुको खोजी र विकास गर्ने भनेको छ, तर भएका पर्यटककीय गन्तव्यहरु पनि उचित पूर्वाधारको अभावमा व्यवस्थित बन्न सकेका छैनन् । भएका गन्तव्यहरुमा पूर्वाधारको विकास गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भए प्रभावकारी हुने थियो । 

बैज्ञानिक पर्यटनको नारा घोषणापत्र मै तुहिए

नेपाल पर्यटन विकासको अथाह सम्भावना भएको देश भएता पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन । सन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको रुपमा आमन्त्रण गर्ने नीति नै थिएन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो । सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलिय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा हुने बन्द, हड्तालले प्रभावित भएकै थियो, जुन आजसम्म पनि कायम नै छ ।

सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीच जनयुद्धकालमा भएको हिंसा, प्रति हिंसा, जनआन्दोल, मधेस जनआन्दोल लगायतका कारण पर्यटनमैत्री वातावरण बन्न सकेन । सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात विस्तारै वामे सर्दै गरेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुले प्रत्येक चुनाबी घोषणापत्रमा आफ्ना प्रतिबद्दता बनाए । सबैले प्राथमिकता प्राप्त क्षेत्र पनि भने, तर ती बाचा घोषणापत्रसँगै च्यातिए । बिगत २५ वर्ष अगाडिदेखि आवधिक निर्बाचनका बेला बिभिन्न राजनीतिक दलहरुका घोषणापत्रमा महत्वकांक्षी योजना सहितका बैज्ञानिक पर्यटनका नारा कतै छुटेनन् । तर कार्यान्वयन पक्ष निकै फितलो भइदिँदा वैज्ञानिक पर्यटनको नारा केवल नारामै सिमित हुन पुग्यो ।

अबको गन्तव्य कता ?

विगतको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा खडा गरी उद्योगको रुपमा विकसित गर्नु वर्तमान सरकारको मुख्य काम हो । पर्यटन उद्योग सेवामा आधारित व्यवसाय हो । यसको विकास र प्रवद्र्धन अन्य उद्योग व्यवसायको तुलनामा बढी चुनौतिपूर्ण र संवेदनशील नै हुन्छ । केही समय अघिदेखी नेपालको पर्यटकीय गन्तव्यलाई नै असुरक्षित देखाउने खालका गतिविधि सलबलाएका छन् । व्यवसायी नै कमाउ धन्दामा छन् । नेपाल घुम्न आएका पर्यटकलाई विरामी बनाएर पैसा असुल्ने काम पनि भएका छन् ।

नेपालको पर्यटकीय क्षेत्रहरु सुरक्षित छन भन्ने सन्देश दिनुपर्ने बेलामा व्यवसायीहरु आफैँ पर्यटकलाई विरामी बनाएर बिमा कम्पनीसँग ठुलो रकम दाबी गरिरहेका छन् । यसले नेपालको उच्च भुभाग (पर्यटकीय गन्तव्य) जोखिमयुक्त छ भन्ने गलत सन्देश गएको छ ।

तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीतिक योजना तय गरी सरकारी र नीजि क्षेत्र एक भई अघि बढ्नु आजको अनिवार्यता हो । यसको लागी ब्यापक प्रचार प्रसार तथा बजार ब्यबस्थापनको उल्लेख्य भूमिका निर्बाह गर्नुपर्छ । २०७२ को महाभुकम्पका कारण धेरै पर्यटकीय एतिहासिक सम्पदाहरू ध्वस्त भएका छन् । बन्नुपर्ने कयौ सम्पदाहरु बन्ने सुरसार समेत भएको छैन । सम्पदा लगायत अन्य पूर्वाधारहरुको यथासक्य पुनर्निर्माण सम्पन्न गर्नु पर्छ

अतः भौगोलिक हिसाबले उत्तम स्थानमा अवस्थित नेपालले छिमेकी देशहरुबाट लिन सकिने फाइदाको सम्भाव्यतालाई मध्यनजर गर्दै राज्य र निजी क्षेत्रको तर्फबाट ढुक्क भएर पर्यटनलाई हर विषयबस्तुबाट स्वतन्त्र छोडिदिनुपर्छ । यसको मतलब सबै नीजी क्षेत्रलाई सुम्पिनु पर्छ भन्ने होईन । तर देशमा हुने राजनीतिक, विषयगत विवाद, विचारको बहस लगायतका कुराहरुले पर्यटन क्षेत्रलाई प्रभावित पार्नु हुँदैन । यस्ता अहम विषयमा सम्बद्ध पक्ष गम्भिर बन्न सक्ने हो भने सरकारले भनेजस्तै समृद्ध नेपालखुशी नेपालीको नारालाई पूरा गर्न पर्यटन उद्योगले महत्वपूर्ण योगदान गर्न सक्ने कुरामा शंका छैन । यसमा प्रतिबद्धता, इमान्दारी र शंवेदनशीलता प्रदर्शन गरी सबैको तर्फबाट जवाफदेही बन्ने हो भने पर्यटन क्षेत्रले अग्रगामि छलाङ मार्नुका साथै मुलुकको आर्थिक बिकासमा उच्च योगदान दिन सक्छ । अन्य उद्योगहरुमा चूनौती ज्यादा र सम्भावना कम हुन्छ तर पर्यटन उद्योग मात्रै त्यस्तो उद्योग हो, जहाँ चूनौती कम र सम्भावना ज्यादा हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved