के प्रचण्ड साच्चै गरिब नै हुन त ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 05:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सरकार गठन भएको चार महिनापछि भए पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सावर्जनिक भएको छ । पद सम्हालेकोे महिना दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण चार महिनासम्म पनि सार्वजनिक नभएको भन्दै चौतर्फी विरोध हुन थालेपछि सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

यतिबेला प्रधानमन्त्री दाहालको आश्चर्यचकित सम्पत्ति विवरण देखेर सडकदेखि सामाजिक सञ्जालका भित्ताहरु हास्यब्यंग्य रसले भरिएका छन् । दाहालले आफूले विगतदेखि भन्दै आएको ‘सर्वहाराका नेता’को उपमालाई शिरोधार गर्दै आफूसँग तीन तोला सुन र एक कठ्ठा जमिन मात्र भएको सम्पत्ति पेश गरेका हुन । योसँगै दाहाल नेपालका सबैभन्दा गरिव प्रधानमन्त्रीहरुको सूचिमा दोश्रो स्थानमा पर्न सफल भएका छन । 

यसअघि पहिलो पटक प्रधानमन्त्री बन्दा दाहालले २ तोला सुन र एक कठ्ठा जमिन मात्र भएको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । यस मानेमा दोश्रो पटक प्रधानमन्त्री हुँदा उनले एक तोला सुन जोडेको पाइयो । तर उनको यो विवरण स्वयं माओवादीका कार्यकर्ताले समेत पत्याएका छैनन् । 

आखिर अपाच्य किन त ?

दाहालको लवाई खवाई र हिडाईले पनि उनको सम्पत्ति विवरण सत्य हो भन्न लाज लाग्ने धेरैको ठम्याई छ । लाजिम्पातको दुई रोपनी जग्गामा निर्मित आलिसान महलमा आसिन दाहालले मासिक एक लाख ३ हजार रुपैँया भाडा तिर्छन । तर कतिपयले भने दाहालको यो महल आप्mनै निजी सम्पत्ति भएको आरोप लगाउदैं आएका छन । रोलेक्स र ओमगा ब्राण्डको घडी तथा नाइक, द नर्थ फेस ब्राण्डका कपडा दाहालको जीवनशैली हो ।
दाहालको कतै लगानी छैन भन्ने त सम्पत्ति विवरणबाटै थाहा भयो । छोरा र छोरी राजनीतिमै संलग्न छन् । प्रधानमन्त्री जस्तो मान्छेले कुनै अवैध धन्दा गर्ने कुरै भएन । बैध तरिकाबाट आर्जन गरेका हुन भनौ भने बैंकमा खाता नै छन । न पेन्सन छ न त कोही कसैको जागिर नै । ऋण र चन्दाले घर भाडा तिर्न सम्भव नै छैन । अघिल्ला सरकारले सहयोग गरेको पनि सुनिदैन । न त सम्पत्ति छैन भनेर सामान्य जीवनशैली अंगालेका छन न त सार्वजनिक यातायातमा यात्रा गरेको नै सुनिन्छ । चिल्ला कारमा गुड्ने, मासिक लाखौ भाडा तिरेर आलिसान महलमा बस्नेलाई कसरी पत्याउने नेपालका दोश्रो गरिव प्रधानमन्त्री भनेर । त्यसैले त प्रश्न उठीरहेका छन लाखौको भाडा तिर्ने स्रोत के हो ? विलासी जीवनशैलीको राज के हो ?

किन लुकाउनु प¥यो वास्तविकता ?

दुई पटक प्रधानमन्त्री बनिसकेका मान्छेले केही करोडसम्मको सम्पत्ति विवरण दोखाउनु नौलो कुरा होईन । सरकारी सुविधा र हल्काफुल्का दायाँबाँयाबाट कमाएको रकमले खर्चपर्च कटाएर पनि केही करोडको सम्पत्ति जोडिन्छ । ढाटेर, छलेर, थर्काएर पो खानु हुँदैन श्रम गरेर कमाएको पसिनाको मूल्य देखाउन प्रधानमन्त्रीलाई किन गाह्रो भयो ?

यावत प्रश्नमा प्रधानमन्त्रीको निजी जवाफ बेग्लै होला । तर एउटा आंकलन गर्न सकिने विषय भने माओवादको नैतिकताको बन्धन पनि एक हो । माओवादी नेताहरुले त्यति बेला नै आप्mनो सम्पत्ति पार्टीलाई बुझाएका थिए । भलै त्यो नाम मात्रको किन नहोस् । प्रशस्त अर्थआर्जन नगर्ने माओवादीको सिद्धान्त नै छ । कतिपयले कमाएनन् होला त्यो आप्mनो ठाउँमा छ तर दाहालसँग प्रशस्त सम्पत्ति भैहाले भने पनि त्यही सिद्धान्तका नेतृत्वकर्ता भएकाले आप्mनो श्री सम्पत्ति सार्वजनिक गर्न सक्दैनन् । 

अर्काे कुरा दाहालमाथि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, मोहन बैध, बिप्लवदेखि माओवादीमा बाँकी केन्द्रिय नेताहरुले समेत धनवादी भएको आरोप पटक पटक लगाउदै आएका छन् । उनीमाथि सर्वहारावर्गको नाममा राजनीति गरेर सर्वगुण सम्पन्न बनेको आरोप लाग्दै आएको छ । यसैकारण पनि उनलाई आप्mनो वास्तविक सम्पत्ति विवरण सार्वजनिक गर्न गाह्रो परेको हो । आप्mना नेता कार्यकर्ता र आम सर्वसाधारणमाझ चोखिन खोज्दा उनी फेरि एकपटक नराम्ररी फसेका छन् । अति गर्नु अत्याचार नगर्नु भन्थे तर दाहालले आफैविरुद्ध जानाजान अत्याचार गर्न पुगेका छन् । आप्mनै नजरमा सही भए पनि जनताको नजरमा दाहाल फेरि एकपटक नराम्ररी चिप्लिन पुगेका छन् । केटाकेटीको ख्यालठट्टा खेल देखाएर जग हसाँउने काम भएको छ । कुरो र ब्यवहार जहिले पनि पाच्य हुनुपर्छ  । जव बनावटी र नाटकीय हाउभाउ प्रस्तुत गरिन्छ त्यसले आफैलाई भड्खालोमा हाल्ने काम गर्छ । अहिले भईरहेको पनि त्यही नै हो ।

कुरा किन मिलाएको ?

दाहालको सम्पत्ति विवरण सार्वजनिक भएसँगै उठेको अर्काे जल्दोबल्दो विषय हो अख्तियारसँग ‘कुरा मिलाएको’ प्रसंग । केही समयअघि दाहाल भारत भ्रमणमा रहेकै बखत तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमानसिंह कार्कीले माओवादी लडाकु शिविरको फाइल खोल्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए । लगतै प्रधानमन्त्री दाहालले पार्टीको आन्तरिक वैठकमा नेतालाई नडराउन अपिल गर्दै अख्तियारसँग कुरा मिलाइसकेको जानकारी दिएका थिए । त्यतिबेला प्रधानमन्त्री जस्तो मान्छेले भ्रष्टाचारविरद्ध डटेर लड्नुको सट्टा भ्रष्टाचार लुकाउन कुरा मिलाएको भन्दै चौतर्फी विरोध भएको थियो ।

यतिबेला दाहालसामु उठेको जिज्ञासा हो ‘सम्पत्ति नै नभएको मान्छे भएर अख्तियारसँग डराएर किन कुरा मिलाएको ?’ के यो प्रश्नको बिश्वासिलो जवाफ दाहालसँग छ ? स्मरण होस् सरकारले लडाकु शिविर व्यवस्थापनका लागि भन्दै २० अर्व रुपैया खर्चेको थियो । तर माओवादीका उच्च पदस्थ नेताहरुले लडाकुहरुलाई न्यूनतम सुविधा पनि नदिई भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । घर फिर्ता भएका लडाकुहरुको चेक समेत खोसेर खाएको भन्ने घृणित आरोप समेत लाग्ने गरेको छ ।

राज्यलाई कर तिर्छन कि तिर्दैनन ?

प्रधानमन्त्री दाहालसामु तेर्सिएको अर्काे प्रश्न हो– ‘दाहालले राज्यलाई कर तिर्छन कि तिर्दैनन् ?’ किनकी सम्पत्ति विवरणमा उनले बैंकमा खाता समेत नभएको जनाउ दिएका छन् । सरकारले सबै नेपालीलाई बैंकिङ पँहुच पु¥याउने लक्ष्य लिईरहँदा स्वयं देशकै प्रधानमन्त्रीको बैंक खाता नहुनु कहाँसम्मको लज्जास्पद ? अहिले आर्थिक पारदर्शिताका लागि हरेक कार्यालयले बैंकमार्फत कारोवार गर्दै आएका छन र सरकारले पनि बैंकमार्फत कारोवार गर्न प्रोत्साहन गर्दै आएका छन । तर विडम्वना प्रधानमन्त्री स्वंयले नगदमा तलव बुभ्mछन् । बैंकमा खाता नहुने मान्छेले प्यान कार्ड बनायो होला र सरकारलाई कर तिर्याे होला भनेर कसरी विश्वास गर्ने ? प्रधानमन्त्रीले मासिक तलव ७७ हजार २७५ रुपैंया बुभ्mछन । यो रकम दाहालले सिरानीमूनि राख्छन कि कसैलाई सापती÷ऋण दिन्छन् अथवा अवैध ठाउँमा लगानी गर्छन । कतै बैध लगानी गरेको भए अथवा बैंकमा जम्मा गरेको भए सम्पत्ति विवरणमा त्यो खुलाउनुपर्ने होईन र ? 

आरोपहरु अरोप मात्रै हुन ?

अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री दाहालसँग गाँजिएर विभिन्न आरोपहरु तेर्साइएका छन् । स्मरण होस् दाहालले प्रधानमन्त्री भएको केही दिन भित्रै व्यापारी सुमार्गीको कालोधनबारे चासो राखेका थिए । यावत कारणले गर्दा दाहाल सुमार्गी कनेक्सनलाई जोडेर विभिन्न आरोपहरु लाग्दै आएका छन् । दाहालमाथि नेपाल ग्याँस, एनसेल, भाटभटेनी, चन्द्रागिरी केवलकार, मुक्ति टावर, थाहा सञ्चार, इटहरीको गरिमा होटल, मितेरी हस्पिटल, नोबेल हस्पिटल, स्वीस बैंक लगायतसँग जोडेर सर्वसाधारणदेखि माओवादीका कार्यकर्ता समेतले आरोप लगाउदै आएका छन् । दाहालले स्वभाविक सम्पत्ति देखाउन नसक्दा देहायका आरोपहरुमा बल पुगेको छ ।

अन्त्यमा, दाहाल स्वयंले स्विकारे झै उनमा मौसमी प्रवृती त छदै थियो तर अब त त्यो प्रवृति झांगिन थालेको छ । कुनै बेला अग्रगामी छलाङका कुरा गर्ने दाहाल अहिले ‘जनता भनेका भेडा हुन’ भने जसरी ब्यवहारमा प्रस्तुत हुन थालेका छन् । संसदीय ब्यवस्थाको विरोध गरेको नाटक जप्दै संसदीय ब्यवस्थाबाटै प्रधानमन्त्री बनेका छन् । दाहालको पछिल्लो गतिविधि नियाल्दा जनताप्रति समर्पित भन्दा पनि छारो हाल्ने÷भ्रम छर्ने खालका ब्यवहार देखिन्छ । यो दाहालको पुरानो प्रण अनुरुपको ब्यवहार होईन । र यसले दाहाल, माओवादी अथवा मुलुक कसैलाई पनि फाइदा गर्दैन ।

र भन्नैपर्छ निजी सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमिन मात्रै हो भने त्यो विलासी जीवनशैलीको राज के हो ? खुलस्त भनि दिनुस् । जनता स्वयं तपाईको पक्षमा उर्लिनेछन । अन्यथा सर्वहाराका नाममा सर्वगुण सम्पन्न बन्नु जस्तो ‘बेइमानी’ अरु सायदै होला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved