होटलक्षेत्रको अवस्था र अबको संभावना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2016 | 10:57:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला २ वर्ष यता नेपालको पर्यटनक्षेत्रमा निकै उतार चढावहरु आए । हुन त यसवीचमा उतारचढाव नआएको कुनै क्षेत्र रहेन , तैपनि धेरै प्रभावित भएको मध्ये पर्यटन र होटलक्षेत्र पनि हो । गतवर्षको भूकम्प र भारतिय नाकाबन्दीपछि नेपालमा पर्यटक आगमन ह्वात्तै घट्यो । विगतमा भन्दा यो समय अवधिमा ३२ प्रतिशतले पर्यटक आगमनमा कमी आएसँगै नेपालको होटलक्षेत्र पनि नराम्ररी प्रभावित भएको थियो ।

पर्यटन र होटलको अन्तर सम्बन्ध भएका कारण पर्यटकको संख्या घट्नु भनेको होटल व्यवसाय पनि प्रभावित हुनु हो । भर्खरै मात्र केहि प्रगतीको बाटोमा अगाडी जान थालेको होटल व्यवसाय भूकम्प र नाकाबन्दी पछि झण्डै धराशायीको अवस्थामा नै पुगे । तर अहिले यसलाई पूनर्जीवन दिन व्यवसायीहरु अग्रसर भएका छन् । 


यो पनि:     कसरी चलेको छ नेपालको विकास निर्माण ?

देशका विभिन्न शहरहरुमा पर्यटक लक्षित तारेहोटल, रिसोर्ट र रेष्टुरेन्टहरु खोल्नेक्रम अहिले वढ्न थालेको पाइएको छ । विशेषगरि पर्यटकहरुको आवागमन धेरै हुने प्रमुख शहरहरु काठमाडौंका अतिरिक्त पोखरा, भैरहवा, नेपालगञ्ज र धरान लगायतमा होटलहरुमा लगानी गर्नेहरुको संख्यामा वृद्धि भएको छ । नेपालगञ्जमा पहिलो चारतारे होटल कृष्णा संचालनमा आएको छ । व्यवसायी दिपेन्द्र अग्रवालले ५० करोड लगानी गरि उक्त होटल संचालनमा ल्याएका हुन् । यसमा साधारणका साथै स्वीटरुम, डिलक्सरुम, सेमी डिलक्सरुम र सुपेरियर डिलक्सरुम गरि ९६ वटा कोठाहरु रहेका छन् । नेपालगञ्जको पर्यटन व्यवसायलाई माथी उकास्न यस्ता होटलहरुको उल्लेख्य भूमिका रहने बताइएको छ । 

यो पनिकुन प्रदेशको आर्थिक संभाव्यता कति ?

त्यस्तै धार्मिक, ऐतिहासिक र आर्थिक दृष्टिकोणले निकै नै महत्व रहेको अर्को शहर भैरहवा र लुम्बिनीक्षेत्रमा पनि तारेहोटलहरु खोल्ने होडबाजी नै लागेको छ । यहाँको होटल व्यवसायमा २ वर्ष यता ७ अर्ब भन्दा धेरै लगानी भएको पाइएको छ । यहाँ गौतमबुद्ध विमानस्थल निर्माणको काम तिव्ररुपमा अघि वढेकाले यसरी पर्यटकका लागि होटल खोल्ने क्रम वढेको हो । यहाँ अबको केहि समयमै ४ वटा पाँचतारे होटल संचालनमा आउने छन् । यससँगै केहि तीनतारे र दर्जन भन्दा वढी साना होटलहरु पनि खोल्ने तयारी भइरहेको छ । व्यवसायी पवनकुमार हलुवाईले एक अर्ब ४० करोड लगानी गरि पाँचतारे होटल खोल्दैछन् । यसमा १४९ वटा अत्याधुनिक सुविधा सम्पन्न कोठाहरु रहने बताइएको छ । यसैगरि भैरहवामै सिल्भर हेरिटेजग्रुपले ४ सय कोठा रहने गरि लक्जरी रिर्सोट संचालन गर्दैछ । यसमा ३ अर्ब भन्दा वढी लगानी हुने ग्रुपले बताएको छ । 

यो पनिनेपालमा संचार क्षेत्रमा फड्को: 'म्याग्नेटो'देखि 'आइफोन सेभेन' सम्मको रोचक यात्रा 

भैरहवा, लुम्बिनी, वुटवल र पाल्पा लगायतका क्षेत्रमा आगामी केहि वर्षमै १० करोड देखि १५ करोड रुपैयाँ सम्म लगानी हुने २ दर्जन जति होटल र रिर्सोटहरु संचालनको तयारी अन्तिम चरणमा पुगेको छ । यहाँ होटल खोल्न काठमाडौं र पोखराका व्यवसायी समेत पुगेकाछन् । त्यसैगरि अर्को पर्यटकिय नगरि पोखरामा पनि होटलमा लगानी गर्नेहरु वढीरहेको पाइएको छ । हुन त पोखरामा पहिले नै होटलमा प्रशस्त लगानी भइसकेकाले पछिल्ला दिनमा अन्य शहरको तुलनामा लगानी गर्नेहरु कम नै छन् । तर पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या विगतको भन्दा कम भएकाले यहाँ भएका होटलहरु हिजोआज त्यति भीडभाड छैनन् ।

यहाँ भूकम्प अघि ८० देखि ९५ प्रतिशत कोठाहरु बुकिङ हुने गरेको भएपनि यसवर्ष सो संख्यामा झण्डै आधाले कमी आएको छ । अहिले ५० प्रतिशत कोठा मात्र बुकिङ हुने गरेका छन् । असार, साउन र भदौमा त विगतको भन्दा ३० प्रतिशत मात्र पर्यटक आएको पोखरामा १० प्रतिशत मात्र विदेशी पर्यटकहरु भित्रिएका थिए । यसर्थ पोखरामा भने होटल व्यवसायमा मन्दीको अवस्था आएको र यस्तै अवस्था कायम रहेमा होटल व्यवसाय नराम्ररी प्रभावित हुने देखिएको छ । यहाँको पर्यटन र होटलक्षेत्रमा ७० अर्ब भन्दा वढी लगानी भएको छ । 

यो पनिनेपालको औद्योगिक क्षेत्रमा देखिएका प्रमुख ५ चुनौती
    
यसैवीच विगत वर्षमा करिव शुन्यप्राय जस्तै रहेका धरानका होटलहरुमा भने यसवर्ष पर्यटकहरुको चाप वढेको छ । धरानमा संचालनमा रहेका २ सय भन्दा वढी होटल तथा लजमा अहिले विभिन्न देशका पर्यटकहरुले १ महिना अघि देखि नै बुकिङ गरिरहेको पाइएको छ । यहाँ धेरैजसो भारतिय पर्यटकहरु आउने गरेका छन् । यसका अतिरिक्त आन्तरिक पर्यटकहरुको पनि बाक्लो उपस्थिती रहने गरेको धरानमा पनि अहिले होटलमा लगानी गर्नेहरु वढ्दै गरेका छन् । धार्मिक र पर्यटकिय दृष्टिले निकै नै आर्कषणको केन्द्र रहेको धरान र नजिकैको भेडेटारमा ५० वटा भन्दा वढी सुविधा सम्पन्न होटलहरु रहेकाछन् । यहाँ मात्र होटल व्यवसायमा १० हजार भन्दा धेरैले रोजगारी पाइरहेको बताइएको छ । 
    
त्यस्तै देशका अन्य प्रमुख शहर तथा जिल्लाहरुमा पनि होटलमा उत्साहजनक लगानी वढीरहेको छ । कतिपय क्षेत्रमा भने सानो लगानीमा होमस्टेहरु संचालन गरि पर्यटक लक्षित कार्यक्रमहरु गरिरहेको पनि पाइएको छ । नेपालमा हालसम्म तारेहोटलहरुको संख्या ११६ वटा रहेको छ । यिनीहरुमा ९ हजार ७१० वटा शैयाहरु रहेका छन् । तारेहोटल बाहेक अन्य होटलको संख्या १ हजार २६ छ । जहाँ ३४ हजार ५२३ वटा शैयाहरु छन् । यसरी हेर्दा यो संख्या धेरै जस्तो लागे पनि नेपालको पर्यटकिय संभाव्यताका दृष्टिले यो निकै कम हो । यहाँ वाषर््िाक करिव ९ लाख विदेशी पर्यटकहरु आउँछन् । स्वदेशी पर्यटकहरुको संख्या त धेरै नै हुन्छ । उनीहरुका लागि सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु प्रशस्त हुने हो भने देशको आम्दानी वढ्ने आधार पनि बन्न सक्छ । 
   

यो पनि : कस्तो छ वित्तिय संस्था प्रति सर्वसाधारणको आर्कषण ? 

यी बाहेक निर्माणाधिन केहि पाँचतारे होटलमा लगानी र तिनीहरुमा कोठाको क्षमता यस्तो छ ः होटल सेराटन, काठमाडौंमा ८ अर्ब लगानी रहने छ । जहाँ २१८ वटा कोठाहरु हुनेछन् । त्यस्तै होटल अल्फट काठमाडौंमा पनि ५ अर्ब लगानी रहने र २२० वटा कोठा निर्माण हुने बताइएको छ । होटल एमएस मारियोटमा ४ अर्ब लगानी गरि २३५ वटा कोठा राखिनेछन् । होटल टाइगर प्यालेसमा ३ अर्ब लगानी हुने र यहाँ २०० वटा कोठा रहनेछ । बोधी रेड्सनमा १ अर्ब लगानी हुने र यहाँ १०० वटा कोठा बनाइनेछन् । होटल पवन प्यालेसमा १ अर्ब ४० करोड लगानी हुने र यहाँ १४९ कोठा हुने बताइएको छ । होटल लि शेर्पामा २ अर्बको लगानी गरिने छ । यहाँ १२० वटा कोठा रहनेछन् ।

यस्तै दुगढ समुहमा १ अर्ब लगानी र १२० कोठा हुनेछ । यसरी हेर्दा अबको १ वर्ष भित्रमा थप १ हजार ५ सय वटा कोठा रहने ठूला होटलहरु संचालनमा आउने छन् । यसले आगामीवर्षहरुमा पर्यटक आगमनको अवस्थालाई सुधार गर्दै जाने पक्का रहेको छ । तर पुराना तारेहोटलहरुमा विगतको भन्दा नाफामा भारी गिरावट आएको पनि देखिएको छ । सोल्टीहोटल, हायात रिजन्सी र ¥याडिसन होटलको नाफा विगतवर्ष भन्दा यो वर्ष झण्डै आधाले घटेको छ । बन्द, हड्ताल, भूकम्प, नाकाबन्दी लगायतका कारणले नाफामा कमी आएको बताउने यी होटल पनि अब राजनितीक अवस्थामा सुधार आए आगामीवर्ष देखि नाफा बढ्ने आशामा छन् ।  
    
राजनितीक अस्थिरताले गाँजेको नेपाल जस्तो अल्पविकसित देशमा होटलक्षेत्रमा भएको यो अवस्थालाई दयनिय भन्ने अवस्था छैन । तर यतिले मात्रै चित्त बुझाउन पनि सकिंदैन । पर्यटनका हजारौं संभावना रहेको नेपालमा होटलक्षेत्रमा अझ सुधार गर्न सक्ने हो भने यसले देशको अर्थतन्त्रमा सुधार पुर्याउने छ भने रोजगारीको संख्यामा पनि वृद्धि गर्नेछ । यसमा गरिएको लगानी अनुशार प्रतिफल आउने र लगानीको जोखिम हटाउन सक्ने हो भने होटलक्षेत्रले उल्लेखनिय फड्को मार्न सक्नेमा ठोकुवा गर्न सकिन्छ । 

[email protected]

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved