बिजपाटी सम्बाददाता     Sep 11, 2019 | 04:13:45 PM



सरकारले साउनबाट शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने श्रमिकको संख्या ५० हजार नाघेको छ। भदौ २५ गतेसम्म सुचीकृत ४ हजार ७९० रोजगार दाताबाट ५० हजार १४० श्रमिकहरु सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ। 

सुचीकरणका लागि तोकिएको समयसिमा नजिकिदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताएका छन। 

कोषमा सुचीकृत हुनेमा ठुला रोजगारदाताको संख्या बढी देखिएको उनले बताए। बुधबार अपरान्ह दुई बजेसम्म श्रमिकहरु कोषमा आवद्ध भएर ९२  लाख भन्दा बढी रुपैया संकलन भएको छ।

नेपालमा नयाँ अभ्यास भएका कारण पनि शुरुमा कम सहभागीता देखिएको उनी बताउँछन् । ‘कार्यक्रम राम्रो छ, सबै आउनैपर्छ,’ उनले भने, ‘ठूला विजनेश हाउसहरु धमाधम आइरहनु भएको छ, क्रमशः सबै आउनेमा आशावादी छौं ।’

कोषमा आवद्ध हुन अन्य रोजगारदाता र तिनमा कार्यरत श्रमिकहरु समेत पाइपलाइनमा रहेको कार्यकारी निर्देशक ज्ञवाली बताउँछन् । उनका अनुसार चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जि फोर एस सहित ११७ वटा आउटसोर्सिङ कम्पनीहरु, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज( विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम जस्ता ठूला रोजगारदाताहरु आइसकेका छन्। कोषमा सूचीकृत भएको चौधरी ग्रुपमा १० हजारभन्दा बढी कामदार छन्। तीमध्ये १ हजार २ सय श्रमिकहरुले योगदान शुरु गरिसकेका छन्।

ठुला रोजगारदाताकोमै कोषका कर्मचारी पुगी श्रमिक सुचीकरणमा सहयोग गरिरहेको कोषका निर्देशक ज्ञवालीले बताए। विभिन्न क्षेत्रसँग छलफल चलाइरहेको भन्दै उनले कल सेन्टर केहि दिनमै खोल्ने तयारी समेत रहेको बताएका छन।  

सूचीकृत भएका केही ठूला रोजगारदाता 

१. चौधरी ग्रुप

२. गोल्छा अर्गनाइजेसन

३. डाबर नेपाल

४. सूर्य नेपाल

५. शिवम सिमेन्ट

६. युनिलिभर नेपाल  लि.

७. नोवल मेडिकल कलेज

८. मेडिकेयर अस्पताल

९. नर्भिक अस्पताल

१०. आम्दा नेपाल अस्पताल

११. सानिमा हाइड्रो

१२. सोल्टी होटल

१३. मेरियट होटल

१४. सांग्रिला होटल

१५. शंकर ग्रुप

१६. यती डिष्टिलरी

१७. ट्रिनिटी कलेज

१८. किष्ट कलेज

१७. त्रियोग स्कुल

१८. इन्फोटेक सर्भिसेज

१९. दराज डटकम

२०. जि फोर एस सहित ११७ वटा आउटसोर्सिङ कम्पनीहरु

२१. शंकर एशोसिएसट

२२. बिएण्डबी अस्पताल

योजनामा सहभागी हुन श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्छ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्छ । रकम जम्मा गरेपश्चात कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा योजनाअनुसार सुविधा पाइनेछ । कोषले अहिले औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र बृद्धावस्था सुरक्षा योजना ल्याएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना बिशेषगरि निजी क्षेत्रका कामदारका लागि ल्याइएको हो । रोजगारदाता तथा कामदारलाई कोषमा सूचीकृत हुन असोज मसान्तसम्म म्याद दिइएको छ ।म्याद सकिन एक महिना जति बाँकी हुँदा धेरै रोजगारदाता भने कोषबाट बाहिरै छन् ।

मन्त्रालयको सक्रियता

रोजगारदाताले कोषमा दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । सूचीकरण आगामी दिनमा तीव्र पार्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोषले अनलाइन दर्ताको पनि व्यवस्था मिलाएको छ ।

ठूला रोजगारदाताकोमा कोषले आफ्नै कर्मचारीहरु खटाएर समेत सूचीकृत गरिरहेको छ । मन्त्रालयले विभिन्न रोजगारदाताहरुसँग छलफललाई तीव्रता समेत दिएको छ ।

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जीफोरएस लगायतका आउटसोर्सिङ कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलपछि योजनामा चाँडो सहभागी हुन उनीहरुले प्रतिवद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ ।

वाणिज्य बैंक एउटा मात्र

तथ्यांक विभागका अनुसार नेपालमा दर्ता भएका प्रतिष्ठानहरु ९ लाख २३ हजार ३ सय ५६ वटा छन् । यसमध्ये कोषमा सहभागी भएका प्रतिष्ठानहरुको संख्या अझै नगण्य छ ।

तर स्वरोजगार प्रतिष्ठानहरु (अरुलाई रोजगारी नदिने) मात्रै ६ लाख ७० हजार भन्दा बढी छन् । बाँकी करिब ३ लाख हाराहारीमा १० जना भन्दा बढी कर्मचारीलाई रोजगारी दिने संस्था छन् । १ हजार भन्दा बढीलाई रोजगारी दिनेको संख्या ५३ मात्र छ । यसमा केही वाणिज्य बैंकहरु पर्छन् । कोषले वाणिज्य बैंकहरुलाई समेत ल्याउने कोशिस गरिरहेको छ ।

कोषका निर्देशक ज्ञवालीले अहिलेसम्म एउटा मात्र वाणिज्य बैंक सूचीकृत भएको जानकारी दिए । उनका अनुसार लक्ष्मी बैंक सूचीकृत भएको छ भने अन्य दुई वाणिज्य बैंकहरु (मेगा र ग्लोबल आइएमई) सूचीकृत हुने प्रक्रियामा छन्।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7