निरन्तर उकालो लागेको सुनको भाउ कति पुग्ला ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 21, 2020 | 02:35:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको समयमा बन्द भएको सुन चाँदीको कारोबार सञ्चालन हुनसाथ निरन्तर भाउ बढिरहेको छ । लकडाउनपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २५ गते सुनको भाउ तोकेको थियो । चैत्र ११ पछि भाउ तोकिँदा सुनको भाउ तोलाको ८७ हजार ४ सय कायम थियो । लकडाउनपछि महासंघले तोकेको भाउ १५ दिनपछि अर्थात् आज असार ७ गतेसम्म आईपुग्दा ३२ सयले बढेर ९० हजार ६०० रुपैयाँ पुगेको छ । 

जेठ २५ गते तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ९६० तोकेकोमा ३२ सयले नै बढेर ९० हजार १६० पुगेको छ । जेठ २५ मा चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएकोमा लकडाउनपछि कारोबार सुरु भएको १५ दिनमा चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँ पुगेको छ । 

लकडाउन अगाडि प्रतिदिन २० केजी खपत हुदै आएको सुन लकडाउनपछि भने ५ केजीमा खुम्चिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् । उनका अनुसार  लकडाउन अघि प्रतिदिन २० केजी सुन आयात हुने गरेकोमा अहिले आयात ठप्प छ । अहिले लकडाउन अघि आयात भएको सुनले नै काम चलिरहेको शाक्यको भनाई छ । अझैपनि करिब ३ सय किलोग्राम सुन स्टक रहेको महासंघको तथ्यांक छ । उक्त स्टक रहेको सुनले अहिलेकै स्थितिमा करिब तीन महिनाको बजारको माग धान्ने उनको आकलन छ । तर परिस्थिति फेरियो भने १५ दिनमै स्टक सकिने उनको भनाइ छ ।

त्यस्तै उपध्यक्ष शाक्यका अनुसार हाल सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकहरु बढी रहेका छन् । लकडाउनले गर्दा सबैले कारोबार गर्ने अवसर नपाएको उनको भनाइ छ । हाल निरन्तर उकालो लागिरहेको सुनको भाउ बढ्ने क्रम तीन महिनासम्म नरोकिने शाक्यको भनाइ छ । सुनको मृल्य प्रतितोला ९३ हजारभन्दा बढी पुग्ने उनको अनुमान छ ।

हाल कोरोना माहामारीले गर्दा लगानी सुरक्षाको लागि पनि मनिसहरुले सुन नै रोज्ने भएकाले अहिले सुनको मूल्य वृद्धि भइरहेको उनको भनाई छ । महामारी रहुन्जेल अर्थात पहिलाकै अवस्थामा नफर्किएसम्म सुनको भाउ वृद्धि भइरहने उनको भनाइ छ । यस्तै स्थिति रहिरहने हो भने मूल्य यति नै पुग्छ भनेर आँकलन गर्न नसकिने व्यवसायीहरु बताउँछन् ।

सुनचाँदीको मूल्य वृद्धि हुनुमा अर्को कारण भारत र चीनबीचको सीमा विवाद पनि रहेको उनको भनाइ छ । पछिल्लो समय भारत र चीनबीचको सीमा विवादले अन्तराष्ट्रिय व्यापारमा प्रभाव पारेको र यसको असर सुनको मूल्यमा पनि देखिएको र यस्तै विवाद जारी रहे भाउ अझै बढ्दै जाने शाक्यको भनाई छ ।

त्यस्तै भन्सार वृद्धिले पनि भाउ बढेको उनको भनाइ छ । सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमार्फत प्रति १० ग्राम सुनको भन्सार दर ८ हजार ५ सय पुर्याएको छ । यसअघि १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएको थियो । प्रति १० ग्राम सुनको आयातमा २ हजार रुपैयाँले भन्सार वृद्धि हुनु पनि सुनको भाउ बढ्नुको अर्को कारण रहेको उपाध्यक्ष शाक्यको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved