उद्योग विभागले ट्रेडमार्क दर्ताको लागि आवेदन दिएका ९ सय ५६ कम्पनीहरुको ट्रेडमार्क डिजाइन सार्वजनिक गरेको छ । विभागले ट्रेडमार्कका लागि निवेदन दिएका ति कम्पनीहरुको डिजाइन दाबी बिरोधको लागि उद्योगिक वुलेटीनमा प्रकाशित गरी सार्वजनिक गरेको हो ।
विभागले पेटेण्ड, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १७ तथा १८ (१) मा भएको व्यवस्था अनुसार दावी विरोधका लागि सूचना प्रकाशन गरेको हो । प्रकाशित ट्रेडमार्कहरुको दर्ता सम्बन्धमा कुनै दाबी विरोध भए आफ्नो आधार प्रमाण समेत संलग्न राखी ९० दिनभित्र विभागमा उजुरी दर्ता गराउनु पर्ने छ। यदि ९० दिनभित्र कुनै उजुरी नपरे उक्त ट्रेडमार्क दर्ता हुने छ ।
चोरी गरिएको डिजाइन, रंग तथा शब्द उस्तै पर्न गएको उजुरी भने ३५ दिनभित्र दिनु पर्छ । बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादन अनुसारको ट्रेडमार्क डिजाइन दर्ता गर्ने गरेको विभागले जनाएको छ । फेसबुक, प्राइम अमेजन, एप्पल लगायतका कम्पनीहरुले पनि ट्रेडमार्क दर्ताको लागि आवेदन दिएका छन् । फेसबुकको थम अप तथा एफ एण्ड डिजाइन गरी २ छुट्टा छुट्टै डिजाइन रहेको छ ।
निवेदकको मागमा कसैको दाबी विरोध भएन भने कम्पनीले निश्चित समय पछि ट्रेडमार्क, पेटेन्ट र डिजाइन निश्चित गरिदिन्छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि कम्पनीको स्वीकृति नलिई लोगोमात्रै उसको बनाएर वस्तु उत्पादन गर्न पाइँदैन । यस्तो गर्नु भनेको पेटेन्टको चोरी गर्नु हो र यसो गरिएको खण्डमा बढीमा एक लाखसम्म जरिवाना गर्ने सकिने तथा उत्पादित वस्तु जफत हुने व्यवस्था छ।