चालू आर्थिक बर्षको पहिलो तीन महिनामा नेपालमा दैनिक उपभोग्य बस्तुको मुल्य अचाक्ली बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा तरकारी, दाल तथा गेडागुडीमा मुल्य अचाक्ली वृद्धि भएको उल्लेख छ।
गत आर्थिक बर्षको यसअवधिसँगको तुलनामा तरकारीको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडीको मुल्यबृद्धि १३.८६ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ। दैनिक उपभोग्य बस्तुको मुल्यमा यत्तिका मुल्य वृद्धि हुँदा मुद्रास्फीति भने सामान्य देखिएको छ। बार्षिक उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ। गत आर्थिक बर्षको यस अवधिमा बार्षिक उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत थियो।
नेपाली मुद्राको बस्तु तथा सेवा खरिद गर्ने सक्ने क्षमता कम हुने अवस्थालाई मुद्रास्फीति भनिन्छ। यसलाई अर्को शब्दमा भन्नुपर्दा केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
बस्तु तथा सेवाको मुल्य वृद्धि सामान्य अवस्थामा रहेपनि तरकारी, दाल तथा गेडागुडी लगायतका दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि हुनुलाई आपूर्तिको असहजतालाई लिइएको छ। कोरोनाको लकडाउनको कारण भारतबाट सहजरूपमा आपूर्ति नहुनु र नेपालका उत्पादन सहज रुपमा बजार नपुग्नु रहेको विश्लेषण गरिएको छ।
यद्दपी कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने सिजनखालका तरकारीहरुको मुल्यमा वृद्धि भएपनि अन्य दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा वृद्धि नभएको बताए। उनकाअनुसार पहिलेको तुलनामा तरकारी तथा फलफुलको मुल्यमा कमी आएको छ।