सान्जेन जलबिद्युत कम्पनी
सान्जेन जलबिद्युत कम्पनी लिमिटेडले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत बैशाख ६ देखि आइपीओ निष्काशन गर्दै छ। सान्जेन माथिल्लो (१४।८ मेगा वाट) तथा सान्जेन जलबिद्युत आयोजना (४२।५०) मेगावाटका लागि कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो। यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ४९ लाख ८२ हजार २५० कित्ता आइपीओमा सर्वसाधारणले आबेदन दिन सक्नेछन।
इच्छुकले यहि बैशाख ६ देखि छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आइपीओंका लागि आबेदन दिन सक्नेछन। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्तासम्मलाई आबेदन दिन सक्नेछन।
बिक्रि प्रबन्धक
आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन।
सर्वसाधारण तथा लगानीकर्ताहरुलाई आइपीओ एफपीओ सेयर जारि गर्ने कम्पनीहरुको बारेमा जानकारी दिने बिजपाटी डटकमले निरन्तर रुपमा कम्पनीको आधारभूत विश्लेषण गर्दै आएको छ। सान्जेनले रसुवा जिल्लाको साविक चिलिमे गाबिसमा पर्ने सान्जेन माथिल्लो र सान्जेन गरि दुईवटा आयोजना निर्माण गरिरहेको छ।
यी दुई परियोजनाबाट २०७६ पुष देखि बिजुली बेच्ने लक्ष्य राखेको सान्जेनको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ।
पुंजीको प्रयोग
कम्पनीले सर्वसाधारणलाई सेयर बिक्रि गरि प्राप्त हुने रकम ५ लटमा विभाजन गरि निर्माण भईरहेको आयोजनामा खर्च गर्ने विवरणपत्रमा उल्लेख गरेको छ।
नाफा नोक्सान
कम्पनीले २०७६ पुषदेखि व्यवसायिक उत्पादन गर्ने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा कम्पनीको सञ्चित घाटा १० करोड रुपैयाँ रहने विवरणपत्रमा उल्लेख छ। कम्पनीको प्रक्षेपणअनुसार आगामी पुसमा व्यापारिक उत्पादन भएमा आर्थिक बर्ष २०७६/७७ मा आम्दानी गर्ने अनुमान गर्न सकिन्छ ।
कम्पनीको प्रतिबेदनमा यस आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ३५ लाख रुपैयाँ खुद घाटा हुने प्रक्षेपण छ। तर आर्थिक वर्ष २०७६-७७ बाट कम्पनी निरन्तर रुपमा नाफामा जाने विवरणपत्रमा उल्लेख छ। अर्को आर्थिक बर्ष बिजुली बिक्रि गरि कम्पनीले ८० करोड ६० लाख आम्दानी गर्ने र कम्पनीलाई २ करोड ४७ लाख खुद मुनाफा हुने प्रक्षेपणमा उल्लेख छ।
कम्पनीले आम्दानी र खुद नाफा हुने प्रक्षेपण गरे पनि लाभांश प्रस्ताव गरेको छैन। यद्दपी २०७७/७८ का लागि गरिएको प्रक्षेपित खुद आम्दानीलाई आधार बनाउँदा यसै वर्षबाट २० प्रतिशत लाभांश घोषणा गर्न सक्छ।
लगानी निर्णय
यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो। यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन। तर बुझेर लगानी गर्छु भन्नेलाई अरु थप आधार खोज्न मार्ग दर्शन मात्र दिन्छ।
कम्पनीले अर्को बर्षदेखि नै बिजुली बिक्रि गरि आम्दानी गर्ने प्रक्षेपण गरेको छ। उसको प्रक्षेपणअनुसार नै काम अघि बढेमा यहि बर्षदेखि लाभांश दिन सक्नेछ। कम्पनीले वितरण गर्ने लाभांश बाहेक शेयर बजारमा हुनसक्ने मूल्य उतार चढावबाट पनि लाभ लिन सकिने हुँदा लगानी अर्थपूर्ण हुन सक्छ।