बाम सरकारको समृद्धिको नारा: काशी जानु कुत्तिको बाटो (स्थलगत रिपोर्ट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 23, 2018 | 08:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

भावना तामाङ 

'राजधानीकै सडक हेर्दा साढे १६ शताब्दीमा छु जस्ताे लाग्छ, प्रधानमन्त्री, मन्त्रीका भाषण सुन्दा स्विट्जरल्यान्ड पछि पार्दैछाैं लाग्छ' यो भनाई विदेश जान भिसाको पर्खाईमा बसेका कुनै व्यक्तिको नभई एक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकारको हो।

पत्रकारको कामै हो देखेका कुरा लेख्ने। तर यो लेखाईले प्रधानमन्त्री, मन्त्री र तिनका परिवारका सदस्य बाहेक लाखौँ नेपालीहरुको भावनालाई प्रतिनिधित्व गरेको छ। हिलाम्मे सडक छलेर स्मार्ट सिटिको भाषण सुन्न जाने नेपालीहरुको संख्या यहाँ कम छैन। विश्वकै प्रदुषित राजधानीमा बसेर सुन्दर भविष्यको कल्पना गर्ने नेपालीहरुको भावनालाई समेत यो भनाईले प्रतिनिधित्व गरेको छ।  

हुन पनि हो, आर्थिक समृद्धिको नारा दिएर सरकार संचालनको जनादेश प्राप्त गरेको बाम गठबन्धन सरकारका मन्त्रीहरुको भाषण सुन्दा यस्तै लाग्छ। उनीहरुको भाषण सुन्दा, 'अब देशले काया पलट गर्छ, रोजगारीका लागि नेपाली विदेशमा जाने होइन, बरु बिदेशी नागरीक नै काम खोज्दै नेपालपो आउने हुन कि जस्तो लाग्छ।'

कार्यकर्ताले कति पत्याएका छन यी नेताहरुको भाषण त्यो उनीहरुलाई सोध्नै पर्छ, कुनै दिन सोधौंला। तर उनीहरुलाई देश संचालनको जिम्मा दिएका युवाहरुले भने प्रधानमन्त्री ओलीका टुक्का र मन्त्रीहरुको भाषणलाई रत्ति भर बिश्वास नगरेको देखिन्छ। कोरिया जाने सपना देखेर मध्यरात देखि नै लाइनमा बस्ने नेपाली युवाहरुको ताँतीले प्रधानमन्त्री ओली र श्रम मन्त्री गोकर्ण बिष्ट लगायतका 'मन्त्री' हरुको भनाईलाई जिस्क्याई रहेको छ। 

युएई जाने नेपाली कामदारले नेपाल स्थित युएईको दुतावासबाट आफ्ना सर्टिफिकेट 'भेरीफाई' गर्नुपर्छ भनेकै कारण दुतावास अगाडी हजारौं संख्याको नेपाली युवाहरुको लाइनले सायद मन्त्री बिष्ट लगायतका नेताहरुको ध्यान खिचेन होला। तर कोरिया जान नपाउने चिन्तामा ओछ्यान नै बोकेर लाइनमा उभिन जाने नेपालीहरुको 'ताँती' ले भने पक्कै पनि नेताहरुको ध्यान तानेको होला। 

आलोचना गर्नेहरुले भन्न पनि सक्छन, रहरले विदेश जानेहरुकै कारण नेताहरुलाई दोष दिन मिल्दैन। हो पक्कै पनि रहरले विदेश जानेहरुकै कारण भाषणमा रमाउने नेताहरुलाई गाली गरियो भने 'अन्याय' नै पो हुन सक्छ देश बनाउन अघि बढेका 'इमान्दार नेताहरु' प्रति। नेताहरुलाई 'अन्याय' नहोस भनेर नै हामिले कोरियाको इपिएस परिक्षामा सहभागी हुनका लागि कोरियन भाषा परीक्षाको शुल्क बुझाउन लाइनमा उभिएकाहरुलाई भेटेर नै उनीहरु विदेश जान चाहनुको कारण खोतल्ने प्रयास गरेका छौँ। 

रिपोर्ट संकलनका लागि हामि डिल्ली बजार स्थित ग्लोबल आईएमईको शाखा कार्यालय पुग्ने निधो गर्यौं र प्रस्थान गर्यौं। ट्राफिक जामकै कारण हामिले उक्त कार्यालय भन्दा वर गाडी पार्क गर्यौं। तर लाइन नजिक पुगेपछि मात्र थाहा भयो ट्राफिक जामको कारण पनि कोरियाको काम नै रहेछ ट्राफिक जामको कारण।  

लाइनमा उभिनेहरु सबै सक्दो छिट्टो फारम भर्ने हतारमा देखिन्थे। कसैको अनुहार थकित देखिन्थ्यो त कतिका अनुहार बिहानै देखि खाना खान नपाएको जस्तो। सायद भोक भोकै लाइनमा बस्नुपरेर होला, केहि त पालो मिचिएकै निहुँमा एक आपसमा बांझेका थिए। 

निकै तनाबमा देखिएका उनीहरुलाई कसरि प्रश्न सोध्ने भन्ने अप्ठ्यारो महसुस हुँदा हुँदैपनि हामीले कुरा गर्यौं। उनि रहेछन, पाँचथरका राज लिम्बु। निकै तनाबमा देखिएका लिम्बुले भौचर भर्न बिहान ६ बजेदेखि लामबद्ध भएको सुनाए। लिम्बुले नेपाल सरकार र नेताहरु प्रति नै तिब्र असन्तुष्टि पोखे। उनले भने, 'युवाहरुको लागी रोजगारीको अवसर प्रदान गरिदिएको भए यसरी अरुको देशमा जानको लागी बिहान देखी तछाड् मछाड् गरेर लाइनमा बस्ने रहर कसलाई पो हुन्थ्यो र।'

लिम्बु झैँ कोरिया जानको लागी तयारी गर्दै गरेका संखुवासभाका विजय तामाङको पिडा पनि उस्तै छ। उनि पनि नेपाल सरकार संग रुष्ट देखिए।  'यदि सरकारले हामी युवाहरुका लागी रोजगारीको व्यवस्था गरिदिएको भए हामीले हाम्रो जीवनको उर्जाशील समय विदेशी भूमिमा व्यतित गर्नुपर्दैन थियो' उनले भने।

पहिलो पटक भाषा परिक्षामा संलग्न हुन लागेका विजय लामाले नेपालमा विकलप नभेटिएपछि कोरिया जान लागेको सुनाए। दैनिक ८ घण्टा काम गर्दा पनि महिनामा १५ हजार कमाउन मुस्किल भएकैले विदेश जाने निर्णयमा पुगेको उनको भनाई छ। उनि भन्छन, 'दैनिक ८ घण्टा काम गर्दा पनि हातमुख जोड्न गाह्रो हुने अवस्थाले गर्दा नै विदेशिन पर्ने अवस्था आएको हो।'  

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने 'गफ' मा सिमित भएको धेरै भएको छैन। आजै मात्र प्रधानमन्त्री ओलीले अब परियोजनाकै आधारमा ऋण उपलब्ध गराइने 'भाषण' गरेका छन। तर प्रधानमन्त्री ओलीको भनाई बिपरित छ इपिएस परिक्षा शुल्क तिर्न लामबद्ध भएका कमल दुवाडीको यथार्थ। 

सरकारले प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने भनेर घोषणा गरेपनि आफुले कहीं कतैंबाट ऋण नपाएको दुखेसो पोख्दै दुवाडीले उल्टै हामीलाई प्रति प्रश्न गर्दै भने 'स्वदेशमै व्यवसाय गर्न मन भएर के गर्ने, लगानी गर्न पैसा छैन, भएको भनेको पढाईको प्रमाणपत्र हो , त्यो कहीं बिकेन, न बैंकले पत्याए, जागिर खान न पहुँच पुग्यो, अब कोरिया नगएर के गर्नु त हजुर ?

उनि अगाडी थप्छन, गाउँमा साहुबाट ऋण लियो, ऋण तिर्ने सकिदैन, नेपाल बसेर व्यवसाय गर्नु भन्दा कोरिया गएर दैनिक १२ घण्टा खटेर काम गर्नु नै उचित ठाने र यहाँ इपिएसको परिक्षा दिन आएको हो। उनले आफ्नो दुखेसो मात्र पोखेनन, बरु भविष्यको सुनौलो कल्पना समेत सुनाए, '५ बर्षको समयावधीभर कोरिया बसेर फर्कदा राम्रै जीवनयापन गर्न सकिन्छ, आर्थिक रुपमा पनि सक्षम भइन्छ, त्यसैले नगई सुखै भएन।' 

त्यस्तै परिक्षा शुल्क तिर्न लामबद्ध कमल थापा भन्छन, 'यहाँ कमिशनको खेल बढी हुन्छ, युवाहरुलाई स्वदेश मै रोक्नुपर्छ भन्ने चिन्ता कसैलाई छैन ' वास्तवमा उनलाई इपिएसको परिक्षा फारम अनलाइनबाटै भर्न पाइने भएपनि परिक्षा शुल्क तिर्नकै लागि लाइनमा बस्नुपरेको पिडा रहेछ। उनि अगाडी भन्छन, 'विदेश जानेहरुलाई नै हो लुट्ने भनेजस्तो देखिन्छ नेपालमा, यत्रा बैंकहरु छन, ग्लोबल आएमई बाहेक अरुबाट फिस तिर्न नपाइने रहेछ, हेर्नुस त दुख पनि कति दिन जानेको।' 

यहि चैत ८ देखि चैत १७ सम्मका लागि कोरियन भाषा परीक्षाको शुल्क बुझाउन पाइनेछ। बैंकमा पहिले पैसा बुझाएर त्यसकै भौचर नम्वर अनलाइन फारम भर्दा चाहिने भएपछि पहिले नै युवाहरु बैंकका शाखामा लाइन लाग्न थालेका हुन्। परीक्षा शुल्क २४ अमेरिकी डलर अर्थात करिब २५१० रुपैयाँ तोकिएको छ।

परिक्षा शुल्क बुझाउन इपिएस कोरिया शाखाले ग्लोबल आइएमई बैंक मात्र रोजेकाले कोरिया जान चाहनेहरुको दुख बढेको हो। इपिएस कोरिया  शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले बैंकका ११८ शाखाहरुबाट छुट्टै काउन्टरहरु राखेर शुल्क लिइएकाले कुनै असहजता नरहेको दाबि गरेपनि अवस्था त्यसको ठिक बिपरित रहेको छ। 

जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ। परीक्षाका लागि आवेदकले काठमाडौं वा पोखरा केन्द्र छनौट गर्न पाउने छन्। वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ । 

यसको रिजल्ट २०७५ असार १६ सार्वजनिक गरिने इपिएस शाखाले जनाएको छ। शाखाका अनुसार उत्पादनमूलकतर्फ ४ हजार ८ सय र कृषितर्फ २ हजार ३ सय गरी ७ हजार १ सय जना परीक्षाबाट उत्तीर्ण हुने छन। 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved