अझै खुलेन रोल्पा बम बिस्फोटको बास्तविकता, घटना रहस्यमयी

महेश न्यौपाने

महेश न्यौपाने

May 24, 2020 | 03:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चार अवोध बालिबालिकाको ज्यान जाने गरि भएको रोल्पा त्रिवेणी बम विस्फोट घटनाको सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । घटना घटेको २५ दिन पार गर्दा समेत घटनावारे सत्यतथ्य जानकारी नहुदा यसबारे अनेक अड्कलवाजी समेत सुरु भएका छन्।

 बम पुरानो हो कि नयाँ भन्ने विषयमा यहाँको जनमत समेत बिभाजित  देखिएको छ । बम नयाँ भन्नेहरु पछिल्लो समय राज्यसंग असन्तुष्ट  नेत्र विक्रम चन्द  बिप्लव नेतृत्वको नेकपा माथि  औला तेर्साइरहेका छन्। बम पुरानो भन्नेहरु  तत्कालिन नेकपा माओबादी माथि प्रश्न गरिरहेका छन्। 

    नेपाली कांग्रेस  रोल्पाले बम युद्धकालिन हुन  सक्ने बताएको छ । पार्टीका  कार्यवाहक सभापति  किशोर आचार्यले बिप्लव नेतृत्वको  नेकपा माथि आशंका गर्दै विषयान्तर  गर्न खोजिएको आरोप लगाए । 'बिप्लव नेतृत्वको  नेकपाको अहिलेसम्मका गतिविधि हेर्दा त्यो स्तरको बम प्रयोग गर्ने अवस्था देखिदैन, सरकारले सत्यतथ्य छानविन गरि आगामी दिनमा त्यस्ता  घटना हुन नदिने  बातावरण बनाउनु पर्छ' आचार्यले भने । घटना सशस्त्र युद्धसंग संवन्धित भएकाले मृतक बालबालिकालाई शहिद घोषणा गर्दै परिवारलाई राहात र परिपुरणको व्यवस्था गर्नु पर्ने आचार्य बताउछन् । जिल्लाका थुप्रै ठाउँहरुमा यस्ता बेवारिसे बम हुन सक्ने भएकाले ती क्षेत्रको खोजी गर्नुपर्ने आचार्यको माग छ । 

     घटनामा भेटिएको  बमका बारेमा  अनेकन अड्कलवाजीहरु आईरहेकोले विज्ञ टोलीले त्यसको सत्यतथ्य छानविन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सचिव  हरिप्रसाद घर्ती मगर बताउछन् । 'भएको घटनावाट शिक्षा लिदै आगामी दिनमा पुनः यस्ता घटना नदोहोरिने वातावरण बनाउनु नै अहिले जनताको  माग हो' घर्तीमगरले भने । रोल्पा दश बर्षे सशस्त्र द्धन्दमा सबैभन्दा  वढी  प्रभाव क्षेत्र भएकाले यसरी  बेवारिसे बम  राखिएका वा छोडिएका ठाँउहरु धेरै हुन सक्ने भएकोले त्यतातिर ध्यान जान जरुरी रहेको घर्तीमगर बताउछन् । मृतक बालबालिकाहरु सशस्त्र द्धन्द संग जोडिएको घटनाबाट  मारिएको हुदा उनीहरुलाई राज्यले शहिद घोषणा गरि परिवारजनलाई राहातको व्यवस्था हुनुपर्ने घर्तीको भनाई छ । 

तत्कालिन विद्रोही र सरकारी  पक्ष नै अहिले मिलेर सरकार चलाई रहेको हुदा उहाँहरुको अर्थपूर्ण अग्रसरताले मात्रै घटनावारे सत्यतथ्य वाहिर आउन सक्ने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष  विश्वकुमार चन्दको भनाई छ । रोल्पाका अधिकांश स्थानीय तह र वडाहरुमा तत्कालिन विद्रोही  माओवादीहरु नै जनप्रतिनिधि भएकाले आफ्नो  स्थानीय तहको कुन ठाउँमा यस्ता हतियार र खरखजाना लुकाईएका हुनसक्छन  भन्ने कुराको खोजी गर्न  सहज हुने चन्दको दावि छ । 

पछिल्ला दिनमा यस्ता घटनाको शृंखला वढ्दै गएको नेपाल रेडक्रस  सोसाईटी रोल्पा शाखाका सभापति डीवी घर्तीमगरको भनाई छ । 'शान्ति संझौताको  केही वर्ष द्धन्दकालिन बम विस्फोट र हतियारहरु भेटिए पनि वीचमा त्यो क्रम रोकिएको थियो, अहिले फेरि निरन्तरता भइरहदा जनमानसमा निकै त्रासदीपूर्ण वातावरण सिर्जना भएको छ' घर्तीमगरले भने ।

विगतमा नेपाल  रेडक्रस सोसाईटीले माईन रिस्क  एजुकेशन संचालन गरे पनि पछिल्लो पिडिका बालबालिकाले त्यस्ता शिक्षा नपाउदा पनि बालबालिकाहरु नै यस्तो घटनाका शिकार भएको घर्तीमगरले बताए । विगतवाट पाठ सिक्दै भविष्यमा  यस्ता घटना हुन नदिने गरि योजना वनाउनु नै वुद्धीमता हुने उनले बताए । 

घटनामा विस्फोट भएको र  विस्फोट  नभएको बम दुवै एकैखाल हो की फरक फरक हो भन्ने प्रश्न समेत उव्जीएको छ । विस्फोट नभएको बम ५१  एमएम मोटार बम भएको निस्कृय वनाउन संलग्न नेपाली सेनाको टोलीको रिपोर्टमा उल्लेख गरिएको छ । भुईमा प्रेसर भएपछि मात्रै पड्कने  भएकाले उक्त बम सामान्य ढंगले छुँदा वा  ओसार  पसार  गर्दा पट्कदैन । 'अलि वढि  नै प्रेसर दिएर मात्रै पड्कने भएकाले बालबालिकाहरु खेल्ने क्रममा ढुंगाले थिचेर पड्केको अड्कल गर्न सकिन्छ' नेपाली सेनाका एक अधिकृतले भने । 'टाढा असर नगर्ने प्रकृतीको बम भएकाले चारै जना बालबालिकाहरु एकैठाउँ भेला भएर बम खेलाएको हुन सक्छन' ती अधिकृतले भने ।

बममा लट ९५ लेखिएको हुदा नेपाली  सेनाले  त्यस्तो बम प्रयोग नगरेको सेनाको दावि छ । 'सेनाले प्रयोग गर्ने बममा लट नम्वर हुदैन' ती अधिकृतले भने । बम विस्फोट भएको ठाउँ देखी माथिको डाँडामा माओवादी  विद्रोही र सरकारी सेना  वीच ठूलो भिडन्त भएका कारण सरकारी  सेना वा  विद्रोही कसैले छाडेको हुन सक्ने आशंका वढिरहेको बेला नेपाली सेनाले बम आफ्नो नभएको स्पष्ट  पारेको हो । 

द्धन्दकालिन हातहतियार छोडिएका वा लुकाइएका हुन सक्ने संभावित ठाउँहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाई छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिलो चरणमा चार बालबालिकाको ज्यान जाने गरि भएको घटनास्थल आसपासका क्षेत्र तथा गंगादेव गाउँपालिकाको शंखास्पद विभिन्न ठाउँहरुमा समेत खोजी गरेको थियो । 'पहिलो चरणमा खोजी कार्य गरिएका कुनै पनि ठाउँमा द्धन्दकालिन थप हात हतियार भेटिएको छैन' प्रमुख जिल्ला अधिकारी ढकालले भने ।  

चार अवोध बालबालिकाको ज्यान जाने गरि  भएको वम विस्फोटको घटनाले रोल्पालीहरुमा त्रास  बढाई दिएको छ  । सशस्त्र द्धन्द शान्ति प्रकृयामा रुपान्तरण भएको डेढ दशक  पार गरिसक्दा वेबारिसे बम विस्फोटका घटना वढ्दै जान थालेपछि उनीहरुमा यस्तो त्रासको अवस्था  सिर्जना  भएको हो ।

पछिल्ला घटनाले रोल्पाको कुनै पनि भुभाग सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह भएको महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था  आचार्यको भनाई छ । 'बम विस्फोटका घटनामा महिला र  बालबालिका प्रभावित भईरहेका छन्,  जंगलमा घाँस दाउरा तथा गोठालो जाने महिला र विद्यालय उमेरका बालबालिका नै प्रभावित भएको देखिन्छ' आचार्यले भनिन । यसको खोजी कार्य गरि निस्कृय वनाउने कार्यमा राज्य गम्भिर ढंगले लाग्नु पर्ने आचार्यको माग छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved