चन्दा उठाएर कोरोना आइसोलेशन केन्द्र

महेश न्यौपाने

महेश न्यौपाने

Jun 25, 2020 | 09:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी संलग्न जिल्ला विपद व्यवस्थापन समितिको वैठकले रोल्पामा ५० शैयाको कोरोना आइसोलेशन सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति रोल्पाका  प्रमुख राजवहादुर बुढाको संयोजकत्वमा ५ सदस्यीय समितिले आईसोलेशन सेन्टरका लागि संभावित क्षेत्र खोजी गर्ने र स्थापनाका लागि पहल गर्ने जिम्मेवारी दिएको छ । सोही बमोजिम लामो समय लगाएर जलजला बहुमुखी क्याम्पस रोल्पामा ५० शैयाको आइसोलेशन सेन्टर स्थापना भएको हो । 

गृह जिल्ला रोल्पालाई सेभ जोन बनाउने मन्त्री केसीको सदिच्छा थियो । सेभ जोन बनाउनका लािग मन्त्री केसीले भिन्न भिन्नै क्वारेनटिन, जिल्लामा २  वटा नाका मात्रै खुला गर्ने जस्ता विषय महत्वका साथ उठाए पनि सेभ जोन हुन सकेन् । जिल्ला स्तरीय आईसोलेशन केन्द्र स्थापना गर्न निर्देशन दिएका केसीले बजेट प्रदेश सरकारबाट उपलाब्ध हुने बताएका थिए । मन्त्री बोलेको लामो समयसम्म जिल्लामा स्थापना हुने आइसोलेशन सेन्टरका लागि बजेट उपलव्ध नभएपछि  जिल्लाका १० वटा स्थानीय तहले ३।३  लाखका दरले पैसा उठाए । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर बुढाको समन्वयमा स्थानीय तहबाट बजेट उठाइएको थियो । ‘सबै स्थानीय तहले भनेको बेला बजेट नदिएका कारण तोकिएको समय भन्दा अलिक ढिला सुरु गर्न बाध्य भयो’, बुढाले भने । प्रदेशले १० लाख रुपैयाँ दिने आश्वासन दिएकोमा अहिलेसम्म उपलब्ध नगराएको बढाले बताए । 

आइसोलशन केन्द्र संचालनमा समस्या भएपछि सहयोगको आवह्वान गरिएको छ । रोल्पा अस्पतालको सिअहेब कुलवहादुर डाँगी र जनस्वास्थ्य कार्यालयका लेखापाल मोतिराज न्यौपानेलाई उक्त जिम्मेवारी दिइएको आइसोलन केन्द्रका प्रमुख डा. अनिल केसीले सार्वजनिक गरे ।  सोही बमोजिम अहिले विभिन्न व्यक्तिहरुले केन्द्र संचालनमा आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् ।  संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले सो केन्द्रका  लागि १ ट्रक सामान लिएर जिल्ला गईन् । सभापति घर्तीको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको सामाग्रीहरुमा पुरै सेट सहित ५० सेटको वेड, १ हजार थान आरडिटी किट,  १ ट्रली औषधी र अन्य आवश्यक सामान उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिए । आइसोलेशन केन्द्र संचालनमा विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग गरिरहेका छन रोल्पा अस्पतालका सि अहेव कुलवहादुर डागीले भने । 

केन्द्र संचालनमा निकै समस्या रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको भनाई छ । सहयोग उठाएर चलाउनु  पर्ने भएको छ वुढाले भने । केन्द्र संचालनका लागि आवश्यक सामाग्रीको जोरजाम भएपनि  विरामीहरुको खाना व्यवस्थापन गर्न धौ धौ परिरहेको बुढाको भनाई छ ।

सवै स्थानीय तहमा कम्तिमा १५ बेडको आइसोलेशन केन्द्र:

जिल्लामा रहेको ५० बेडको आइसोलेशन केन्द्रले  धान्न नसक्ने देखिएकाले अब हरेक स्थानीय तहमा कम्तिमा १५ बेडको केन्द्र स्थापना गरिने भएको छ । बिपद व्यवस्थापन समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाको गत आषाढ २ गतेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । निर्णयानुसार  अब हरेक स्थानीय तहले नजिकको स्वास्थ्य केन्द्रको निगरानी रहने गरि यस्ता केन्द्र संचालन गर्ने छन् । ‘लक्षण नदिएका बिरामीहरु स्थानीय तहमा रहेका आइसोलेशनमा बस्नेछन भने लक्षण देखिएकाहरुलाई जिल्ला स्तरीय आइसोलेशनमा  ल्याईने छ ।’ जिल्ला स्तरीय संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले भने । त्यसरी स्थापना हुने आइसोलेशन सेन्टरको संचालको जिम्मेवारी संवन्धित स्थानीय तहको हुने बताइएको छ । 

प्रदेश र संघको मुख ताक्दा संक्रमण भयावह:

संघीय सरकार  र प्रदेश सरकारको  मुख  ताक्दा कोरोना संक्रमण भयावह हुने भन्दै स्थानीय  सरकारहरु  आफै रोकथाम तथा नियन्त्रणमा जुटेका छन् । लामो समय सम्म जिल्लामा कोरोना संक्रमण नदेखिदा ढुक्क भएका उनीहरु  एकाएक यसको संक्रमण फैलिन थालेपछि भने चिन्तित  देखिन थालेका हुन् । यसको  अगुवाई जिल्लाको सुनिल स्मृती गाउँपालिकाले गरेको छ ।

पछिल्लो पटक भारतवाट आउनेको चाप पनि वढ्दै जान थाल्यो । भित्राभित्रै भुसको आगो झैं कोरोना फैलिएको हुन सक्ने लख काट्ने बाहेक उपाय थिएन । आरडीटि परिक्षणमा भर पर्नु पर्ने अवस्था  झेल्दै आएको रोल्पामा पाहिलो पटक आफ्नै पहलमा भिटिएम खरिद गरेर स्वाव परिक्षण गर्ने कामको अगुवाई सुनिलस्मृती गाउँपालिकाले गरेको हो । सो गाउँपालिकामा मात्रै जेठ  १  यता भारतवाट ६२९ जना भित्रिएका छन् ।  उसले स्वस्थ्यकर्मी र भारतबाट आएकाहरु समेत गरि ६४६  जनाको स्वाव परिक्षणका लागि भिटिएम खरिद गरि पिसिआरका  लागी भेरी अस्पताल नेपाल गंज, राप्ती  विज्ञान प्रतिष्ठान दाङ, वुटवल  लगायतका परिक्षण केन्द्रहरुमा पठायो । परिक्षणका लागि  पठाएका  मध्ये ५३० जनाको रिपोर्ट प्राप्त भईसकेको छ । जस  मध्ये सो गाउँपालिकामा मात्रै ३४ जना कोरोना संक्रमित  भेटिएका छन् । 

‘आफ्नै श्रोत साधन खर्चेर आरडिटी परिक्षण गराएका कारण सुनिलस्मृती गाउँपालिकामा जिल्लामै सबभन्दा धेरै संक्रमित भेटिए, जिल्लाका अधिकांश स्थानीय तहको अवस्था यस्तै हुन सक्छ ।’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने । स्वास्थ्य कार्यालयले १ सय थान दिएको  थियो बाकी सवै आफै खरिद गरेर परिक्षण गरेका हौ घर्तीले बताए । 

पछिल्लो पटक राप्ती विज्ञान प्रतिष्ठान  र भेरी  अस्पतालले पिसीआर चेकका गर्न मानेका छैनन घर्तीले भने । भेरी अस्पतालले बाँके र बर्दिया जिल्लाका संक्रमितको मात्रै परिक्षण गर्ने निर्णय गरेको भन्ने जानकारीमा आएको घर्तीले बताए । ‘अस्पतालहरुले नै पिसिआर परिक्षण नगर्ने हो भने अव कहाँ पठाउने हो ?’ घर्तीले दुखेसो पोखे । 

जिल्लामा स्थापना हुने आईसोलेशन केन्द्र स्थापनामा  प्रदेश र संघीय सरकारको प्रभावकारी  भूमिका नदेखिएको रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको भनाई छ । कोरोना विरुद्धको लडाईमा स्थानीय सरकारहरु  एक्लैले संघर्ष गर्नु परिरहेको केसीले बताए । संघीय सरकार र प्रदेश सरकारको भूमिका प्रति नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्य पनि सन्तुष्ट छैनन्  । कोरोना विरुद्ध तीनै तहका सरकारको कृयाशिलता देखिनु पर्नेमा स्थानीय सरकारहरु मात्रै खटेकोे आचार्यको भनाई छ ।  ‘संघीय सरकार र प्रदेश सरकारले न बजेट दिए न जनशक्ति’, आचार्यले भने । 

रोल्पामा  हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४४ पुगेको छ । यसरी संक्रमित हुनेमा ३९ पुरुष र ५ महिला रहेका छन् । जसमध्ये ७  वर्षिय एक नावालक समेत रहेका छन् । सुनिल स्मृती गाउँपालिकामा ३५, रोल्पा नगरपालिकामा ७  र लुंग्री गाउँपालिकामा २ जना संक्रमित  भएको स्वस्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

संक्रमित मध्ये ४० जनालाई रोल्पा नगरपालिकास्थित जजलजला क्याम्पसमा रहेको आइसोलेशनमा राखिएको छ भने नावालकलाई सुलिचौरमा रहेको आईसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय रोल्पाका अरुण भिटुले जानकारी दिए । संक्रमण देखिएका सबै  भारतबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । हासम्म १ हजार ७६ जनाको स्वाब संकलन गरिएकोमा ८८२ जनाको  परिक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेको सामान्य  क्वारेनटिन बसेर घर फर्कनेको संख्या ११ हजार १४० जना रहेको छ भने ६०३ जना अझै क्वारेनटिन बसिरहेका छन् । 

जिल्लामा  गत जेठ १ गते यता भारतबाट १ हजार ७४७ जना फर्किसकेका छन् । जस अनुसार  सबभन्दै धेरै सुनिल स्मृती  गाउँपालिकामा ६४६  जना, त्रिवेणी गाउँपालिलका ४२३ जना, गंगादेब गाउपालिकामा ३०३ जना रहेका छन् । यसैगरि रोल्पा नगरपालिकामा १४९ जना, रुन्टीगढी गाउँपालिका १३१ जना, लुंग्री गाउँपालिका ७७ जना, माडीगाउपालिका ४८  जना, परिवर्तन गाउँपालिका ४५ जना, थवाड गाउँपालिका  १७ जना  र  सुनछहरी गाउपालिका  १२ जना रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved