नेपालका यी स्थानमा फेरी सलह छिर्ने अनुमान, निगरानी राख्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 08:43:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फेरी सलह किरा भित्रिने सम्भावना बढेको छ  । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले फेरी सलह छिर्न सक्ने जनाएको हो ।

केन्द्रका अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बिचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएका छन् । यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा/महोत्तरी/सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको केन्द्रले जनाएको छ ।

यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरुपनि दक्षिण पश्चिमी वायुसंगै नयाँदिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको केन्द्रले जनाएको छ ।

पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा र सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश नं ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा नेपालभित्र प्रवेश गर्न सक्ने सम्भावना रहेको केन्द्रले जनाएको हो ।

केन्द्रले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्न गराउनु समेत सबैमा अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved