अर्थमन्त्री महतले बढाएनन् वृद्धभत्ता, कुन मन्त्रीले कहिले कति बनाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:33:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वृद्धभत्तालाई यथावत राखेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै हालको वृद्धभत्तालाई यथावत राखिएको संसदमा जानकारी गराएका हुन्। 

अर्थमन्त्री प्रकाशशरण महतले वृद्धभत्तालाई मात्र नभई वृद्धभत्ता पाउने उमेर पनि अहिलेकै उमेरलाई निरन्तरता दिएका छन्। 

जसअनुसार अहिले कायम ६८ वर्ष पुगेपछि प्राप्त हुने वृद्धभत्ताको व्यवस्था यथावत हुनेछ। हाल वृद्धभत्ता बापत मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन्।विभिन्न सामाजिक सुरक्षाका लागि सरकारले आगामी आर्थिक वर्षका लािग १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।

कुन बेला कति बनाइयो वृद्धभत्ता ?

वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था सुरु भएको करिब तीन दशक पुग्न लागेको छ। यस अवधिमा विभिन्न समयमा गठन भएको सरकारले पटकपटक वृद्धभत्ता बढाउँदै आएका छन्।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले भत्ता नबढाई ७० बाट दुई वर्ष उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध हुने व्यवस्था गरेका थिए।   नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५१/०५२ को बजेटमार्फत वृद्धभत्ता उपलब्ध गराउन सुरु गरिएको थियो । त्यो बेला अर्थमन्त्रीमा भरतमोहन अधिकारी थिए । त्यो बेला ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरिएको थियो । 

त्यसपछि आर्थिक वर्ष २०५६/०५७ को बजेटमा नेपाली कांग्रेस नेतृत्वको सरकारले भत्तालाई बढाएर रु १५० पुर्याएको हो। आव २०६१/०६२ को बजेटमार्फत वृद्धभत्ता प्रतिमहिना रु १६५ बनाउँदा पनि अधिकारी नै अर्थमन्त्री थिए । 

आर्थिक वर्ष २०६५/०६६ को बजेटमार्फत डा बाबुराम भट्टराईले त्यसलाई बढाएर  ५०० पुर्याएका थिए । 

पछि तत्कालीन अर्थमन्त्री नेपाली कांग्रेसका नेता डा रामशरण महतले आर्थिक वर्ष २०७२/०७३ को बजेटमार्फत भत्ता बढाएर रु एक हजार पुर्याएका थिए । 

त्यसपछि आर्थिक वर्ष २०७३/०७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बढाएर रु दुई हजार बनाएका थिए । 

आव २०७६/०७७ को बजेटमार्फत डा युवराज खतिवडा अर्थमन्त्री हुँदा वृद्धभत्ता तीन हजार पुर्याएका थिए। पछि अध्ययादेशमार्फत आएको चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत वृद्धभत्ता चार हजार पु¥याइएको थियो।  

२०७४ सालमा शेरबहादुर देउवाले आफु प्रधानमन्त्री हुँदा उमेर घटाउने योजना अघि सारेका थिए। त्यो बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरिएको थियो । तर त्यसपछिको सरकारले उक्त निर्णय खारेज गरेर ७० वर्ष पुर्याएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved