६ महिनामा ६ अर्ब रुपैयाँ बढीको बीमा पोलेसी सरेण्डर, कुनको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 10:49:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म करिब साढे ६ अर्ब रुपैयाँ बराबरका ४३ हजार बढी बीमालेख  त्याग ( पोलेसी सरेण्डर) भएका छन्। सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुका पुस मसान्तसम्म आउँदा ६ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ बराबरका ४३ हजार ७ सय १५ वटा पोलेसी सरेण्डर भएका हुन्।

समीक्षा अवधिमा सरेण्डर भएको पोलीसी सरेण्डरको रकम कम्पनीहरुले चालु आर्जन गरेको बीमा शुल्कको ८ प्रतिशत बढी हो। अर्थात आर्जन गरेको रकमको ८ प्रतिशत भन्दा बढी रकम बीमा गर्ने व्यक्ति(बीमित)ले पोलेसी सरेण्डर गर्दा बाहिरिएको छ। पुस मसान्तसम्म कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख बीमाशुल्क संकलन गरेका थिए।

रकमका आधारमा साउन महिनामा सबैभन्दा बढी पोलेसी सरेण्डर भएको देखिन्छ। साउनमा कुल ८ हजार ४ सय २२ वटा पोलेसी सरेण्डर हुँदा १ अर्ब ५१ करोड २७ लाख बढी रकम कम्पनीहरुबाट बीमाको योजना तथा उद्देश्य विपरित बाहिरिएको हो। अर्थात पोलीसीको समयम्याद नपुगी र कुनै दाबी बीना नै उक्त रकम बाहिरिएका हो। यो ६ महिनाको अवधिमा असोज महिनामा सबैभन्दा कम रकम बराबरका पोलेसी सरेण्डर भएका छन्। यो महिनामा ६ हजार ६३ वटा पोलीसी सरेण्डर हुँदा ७७ करोड ३२ लाख रुपैयाँ बराबरका पोलेसी सरेण्डर भएका हुन्। 

यसरी बीमा सरेण्डर बढ्नु बीमा बजारको लागि राम्रो मानिदैन। तर, यसलाई नियन्त्रण गर्न न कम्पनीहरु नै सक्षम भएका छन् न त नियामक निकाय बीमा प्राधिकरण नै। पोलेसी सरेण्डर अस्वभाविक बढी भएकोमा बीमा व्यवसाय गर्ने कम्पनी सम्बद्ध व्यक्ति तथा प्राधिकरण सबैले स्वीकार गर्छन्। पछिल्लो सयम यसलाई मुलुकका आर्थिक गतिविधिले समेत थप प्रभावित पारेको उनीहरुको भनाई छ। विगतका वर्षहरुमा बीमालेख व्यतित बजारमा अस्वस्थ प्रतिस्पर्धा तथा असक्षम जनशक्तिको कारण भएपनि यो वर्ष भने महँगिको कारणले बढेको कम्पनी सम्बद्ध व्यत्तिहरु बताउँछन्।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल पनि पछिल्लो समय पोलिसि सरेण्डर बढ्नुमा मुलुकका आर्थिक गतिविधिलाई नै लिन्छन्। ‘पहिला अभिकर्ताले फट्याइँ गरेको देखिन्थ्यो, बजारमा अस्वस्थ प्रतिस्प्रर्धा हुने गथ्र्याे जसरले सरेण्डर बढेको थियो।’ उनले भने, ‘पछिल्लो समय प्राधिकरणले पोलिसि बनाउने देखि कम्पनीलाई सरेण्डर कम गर्न निर्देशन दिँदै आएको छ। बीमा बजार भित्रैका आन्तरिक कमिकमजोरीले हुने सरेन्डरमा अहिले कमि आएको छ।’

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सार्वजनीक रुपमै तथा सिईओहरुलाई छलफलमै नयाँ व्यवसाय ल्याउनमा भन्दा पनि पुराना व्यवसाय जोगाउन निर्देशन समेत दिँदै आएका छन्। उनले पुराना व्यवसाय बचाउन नसके नयाँ व्यवसाय लिएर मात्रै जीवन बीमा व्यवसाय गर्न नसकिने र पछिलाई नराम्रो प्रभाव पार्नेमा कम्पनीहरुलाई पटकपटक सचेत बनाउँदै आएका छन्। यसो त प्रथम बीमा शुल्क आर्जनको ५० प्रतिशत रकम खर्च हुन्छ। 

प्राधिकरणले गत वर्ष जीवन बीमालेख सम्बन्धि निर्देशिका जारी गरी पोलिसी किनेको १ वर्षमा नै सरेण्डर गर्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै ३ वर्ष पछि मात्रै सरेण्डर गर्न सकिने व्यवस्था गरेको थियो। 

यता बहु कम्पनीमा एजेन्ट बनी एउटा कम्पनीमा १ वर्ष पुगेका बिमितलाई सरेण्डर गर्न लगाएर अर्काे कम्पनीको बीमालेख खरिद गराएको पाईएपछि प्राधिकरणले एउटा मात्रै कम्पनीमा एजेन्ट बन्न पाउने समेत नियम लिएको छ। जसले गर्दा बीमा क्षेत्र भित्रका कमजोरीका कारण हुने पोलिसि सरेण्डरमा भने कमि आएको पौडेल बताउँछन्। 

साथै अहिले अन्डरराइटिङलाई पनि कडाई गरेको उनको दाबी छ। जसले गर्दा पहिला ठुला रकमको बीमा गरेका बिमीतले बीमालेख त्याग गरेपनि पछिल्ला बीमालेख सहजै सरेण्डर नहुने किसिमका रहेको उनी बताउँछन्। 

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बीमा गर्ने व्यक्तिको आम्दानी स्रोत, खर्चको अवस्था र बचतको अवस्थाको बारेमा जानकारी नलिई गरिने परम्परागत समस्यामा अहिलेको आर्थिक संकुचन थपिनु सरेण्डरको कारण भएको जानकारहरुको भनाई छ। 

बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं बीमा सरेण्डरको मुख्य कारण फाइनान्सियल अन्डरराइटिङ राम्रोसँग नगरिनु भएपनि अहिले बढ्दो महँगी र कमजोर आर्थिक अवस्थाले थप प्रभावित भएको बताउँछन्। 

पछिल्ला दिनहरुमा देखिएको बढ्दो बजार मूल्य र सोही अनुसार आम्दानी अनुपात नबढ्नुले पोलिसी सरेण्डर बढेको उनको भनाइ छ। ‘अन्डरराइटिङको समस्या पहिला देखि नै हो। सुरुमा अभिकर्ताले कमिशनको लोभमा बढी रकमको बीमा गराउने पछि बीमितसँग पैसा हुँदैनथ्यो सरेण्डर गर्थे।’ उनले भने, ‘अहिले दिन प्रतिदिन महँगी बढ्दै छ। जुन अनुपातमा नागरिकको आम्दानी छैन। यसले पनि सरेण्डर गर्नुपर्ने बाध्यता आएको हो।’

कोभिडको महामारीपछि धेरैको रोजगार खोसिनु, व्यवसायीको व्यवसाय पनि अझै लयमा आउन नसक्नु, महँगी बढ्नु, ऋण नपाईनु तथा नउठ्नु जस्ता बजारमा देखिएका समस्याको कारण पोलिसी सरेण्डर गरेरै भए पनि समस्या टारौँ भन्ने मनस्थितिले पनि बिमितले सरेण्डर गरेको उनको बुझाई छ।

हेर्नुस् कसको कति बीमालेख त्याग : 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved