बर्दियाको मधुवन नगरपालिका ४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने सडक खण्डमा लु २ ख २०८४ नम्बरको गाडीमा सोही गाडीका चालक रामु चौधरीले आगो लगाए । चालक चौधरीले बीमा रकम पाउने लोभमा गाडीमा आजगनी गरेको उनले प्रहरीको बयानमा बताएका छन् । प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बीमा दावीका लागि गाडी जलाएको खुलेको तर अन्य कुरा अनुसन्धान गर्न बाँकी रहेको बताए ।
यसअघि भदौ ७ गते पनि दाङमा यस्तै घटना घटेको थियो । उक्त दिन नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले नेपाल बन्दको घोषणा ग¥यो । सोही मौका छोपेर लमही–घोराही सडकखण्डको बबईखोला पुल नजिकै रा.१ ख १६९४ नम्बरको टिप्परमा आगजनी भयो ।
उक्त आगजनी चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार उनीहरुले पनि बीमा रकम पाइने लोभमा गाडीमा आगो लगाएका थिए ।
बीमा ‘विश्वास’ र ‘क्षतिपूर्ति’ हो भन्ने कुरा स्थापित हुन नसक्नु, व्यक्तिमा नैतिकताको अभाव हुनु्, कम समयमै धेरै कमाउने चिन्तन, मुलुकको आर्थिक सामाजिक अवस्था आदिको कारणले यस्ता घटनाहरु घट्ने गरेको छ ।
निर्जिवन बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले संस्थाप्रति व्यक्ति तथा व्यक्ति प्रति विश्वासको कमि हुनु र व्यक्तिमा नैतिकताको अभाव हुँदै जाँदा यस्ता घटना घट्ने बताउँछन् ।
‘बीमा क्षतिपुर्ति हो, बीमा कम्पनीले दाबी भुक्तानी गर्न हिचकिचाउनु हुँदैन, बीमितले क्षतिपुर्तिभन्दा माथि पुगेर नाफाको बारेमा सोच्नु हुँदैन’, सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अध्यक्ष क्षेत्रीले भने, ‘यदि कुनै पनि पक्ष त्यो भन्दा माथि पुगेर बीमाको मर्म विपरित जान खोज्छ भने उसमा नैतिकता पतन भई अपराधिक चिन्तन आएको हुनुपर्छ ।’
बीमासँग सम्बन्धित आपराधिक घटनालाई पनि अन्य घटनालाई जसरी नै हेर्नुपर्ने बीमाविद् रवीन्द्र घिमिरे बताउँछन् । ‘अपराध गर्ने व्यक्तिले बीमामा आबद्ध भएर अपराध गर्नुपूर्व नै केही न केही अपराध गरिसकेको हुन्छ, यदि गरेको रहेनछ भने पनि गर्छ,’ उनले भने, ‘उसले अपराध गर्ने योजना वा मानसिकतामा राखेकै क्रममा बिमालाई माध्यम बनाएको मात्रै हो ।’
घिमिरेका अनुसार यस्ता किसिमका घटनालाई फाइनान्सियल क्राइम भनिन्छ, जुन आर्थिक लोभबाट उत्पन्न हुन्छ । यस्ता किसिमका आपराधिक घटनाका पछाडि धेरै कारण हुन्छन् । सामाजिक, आर्थिक, मनोवैज्ञानिक आदि तत्व नै अपराधका कारण हुन् ।
व्यक्तिमा रातारात दुःख नगरी धनी हुने, साथी–सर्कलको बराबरी हुने चाहना र अपराधका छिद्रा चयन गर्न उपयुक्त बाटो भेटिने कारणले यस्ता घटना हुन्छन् ।
चोरीबाटोबाट सजिलै कमाउन सकिने वातावरण, दोषी ठहरिए पनि उम्कन सक्ने वातावरण, राजनीतिक उच्च तहबाट संरक्षण पाएका र आपराधिक मानसिकता भएका व्यक्तिबाट यस्ता किसिमका घटना हुने गर्छन् ।
यस्ता आपराधिक घटनालाई बीमासँग मात्रै ट्याग लगाउन नमिल्ने घिमिरेको बुझाइ छ । यसको न्यूनिकरणका लागि आर्थिक, राजनीतिक, सामाजिक अवस्थामा सुधार आउनुपर्छ । जस्तो, राजनीतिमा अपराधिकरण बढे स्वतः बीमामा पनि त्यसको प्रभाव रहने हुन्छ । सरकारले मनोवैज्ञानिक उपकरण प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
कम्पनी, नियामक निकायले अपराध गर्नेलाई कडा सजाय व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । कम्पनी सञ्चालक, कर्मचारी, अभिकर्ता तथा बीमित र हकदावी गर्ने व्यक्ति पनि उत्तिकै नैतिकवान हुन जरुरी रहेको उनी बताउँछन् ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नियोजित रुपमा हुने यस्ता किसिमका ‘इन्स्योरेन्स फ्रड’ नेपालमा निकै कम हुने बताउँछन् ।
उनका अनुसार यस्ता घटनाहरु प्रहरी अनुसन्धान हुने साथसाथै कम्पनीका सर्वेयर र शंका लागेमा प्राधिकरणले पनि अनुसन्धानका लागि सर्वेयर खटाउन सक्ने छन् ।
बीमित स्वयमले आफैँ घटना घटाएमा के हुन्छ ?
बीमा गर्ने व्यक्ति (बीमित) आफैँले नियतवश घटना घटाइ दाबी माग गरेमा बीमा कम्पनीले दाबी गर्दैन । त्यसको नोक्सानी स्वयम बीमितले नै व्यहोर्नुपर्ने हुन्छ ।
हाल सञ्चालनमा रहेको मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद ६ (शर्तहरु) को बुँदा १७ मा स्पष्टसँग भनिएको छ, “कुनै दावी जालसाजीपूर्ण भएमा वा दावीको लिलसिलामा झुटा बयान दिइ बीमितले वा निजको तर्फबाट काम गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले यो बीमालेखअन्गर्तत कुनै अनुचित लाभ उठाउन खोजेमा वा जानीजानी बीमित–बीमित वा अन्य कुनै व्यक्तिको मितेमतोमा कुनै क्षति÷हानी–नोक्सानीको घटना घटाएमा बीमित यो बीमालेख अन्तर्गतको सबै लाभबाट बञ्चित हुनेछ ।”
झुक्काएर दाबी भुक्तानी लिएमा के हुन्छ ?
जालसाजी रुपमा बीमा दाबी भुक्तानी लिएमा बीमित कारबाहीमा पर्ने व्यवस्था छ । बीमा ऐन २०७९ को दफा १४० ‘कसुर’ को दफा १(घ) मा कुनै पनि बीमितले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक वा अन्य पक्षसँग मिली वा नमिली बीमा सम्बन्धी कुनै जालसाजी किर्ते गरी वा गल विवरण वा कागजात पेश गरी वा नगरी बीमा दाबी भुक्तानी प्राप्ति गरेमा कसुर मानिले उल्लेख गरेको छ ।
त्यस्तो कसुर गरेमा बिगो जफत गरी बिगो बराबरको जरिवाना वा तीन वर्षसम्म कैद हुने व्यवस्था सोही ऐनको दफा १४१ को उपदफा २ मा व्यवस्था छ ।