पब्लिक कम्पनीमा परिणत हुँदै बीमा संस्थान, डेढ अर्बको आईपीओ निष्काशन तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 02:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान अबको केही दिनमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ मा भएको प्रावधान बमोजिम संस्थान आगामी कात्तिक २३ गतेभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था छ ।

बीमा ऐन २०७९ मा गरिएको व्यवस्था बमोजिम कम्पनीले विशेष साधारणसभाबाट सो सम्बन्धि प्रस्ताव पारित गर्दै छ । संस्थानले सोहि प्रस्ताव पारित गर्न भदौ १५ मा विशेष साधारणसभा बोलाएको थियो।  सो दिन सभा विविध कारणवश बस्न नसकेको भन्दै संस्थानले भदौ २९ गते फेरि विशेष साधारणसभा बोलाएको छ । 

 गत असोज २३ गते जारी भएको बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कात्तिकको २३ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने छ । साथै हाल २० करोड मात्रै चुक्ता पूँजी रहेको यस संस्थानले नियामक निकाय बीमा प्राधीकरणले तोके बमोजिम चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्नेछ । 

हाल संस्थापकतर्फको मात्र स्वामित्व रहेको यस संस्थाले सर्वसाधारणलाई समेत समेट्दै पूँजी र्पुयाउने योजना अघि सारेको जानकारी दिएको छ । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय बमोजिम कार्य योजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ । 

यससम्बन्धमा संस्थानले नेपाल राष्ट्र बैंक र नेपाल बैंकको भने स्वीकृति लिइसकेको जानकारी दिएको छ । संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले विशेष साधारणसभा बस्ने र चुक्तापूँजी ७०ः३० कायम गर्ने सन्दर्भमा नेपाल सरकारको स्वीकृतिका लागि पेश गरिसकेको बताए । नेपाल सरकारको स्वामित्वमा रहेको संस्थान भएकाले सरकारको तर्फबाट स्वीकृत भएपछि सभा बस्ने बाँकी प्रक्रिया अघि बढ्ने उनको भनाई छ । 

संस्थान कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने र सेयर संरचना हेरफेर गरी पूँजीवृद्धि गर्न सकिने हुँदा संस्थानले सोहीअनुसार पूँजीवृद्धि योजना तयार गरेको छ । संस्थानको योजनाअनुसार कुल ५ अर्ब चुक्तापूँजीमा संस्थापकतर्फ  ३ अर्ब ५० करोड कायम गर्ने र बाँकी १ अर्ब ५० करोडको लागि सर्वसाधारणमा सेयर जारी गरिनेछ  । 

संस्थापकतर्फ नेपाल सरकार अर्थमन्त्रालयका २७.७७ प्रतिशत, नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा रुपान्तरण भई शेयर जारी गरे पश्चात भने अर्थमन्त्रालयका १९.४४ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३८.८५ प्रतिशत र नेपाल बैंकको ११.६९ प्रतिशत सेयर स्वामित्व कायम हुने प्रशासक पाठकको भनाई छ । 

कहिले आउला डेढ अर्बको आईपीओ ?

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै राष्ट्रिय बीमा संस्थानले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । संस्थानका अनुसार अब बन्ने कम्पनीआमा संस्थापकले चुक्ता गर्ने पूँजी ३ अर्ब ५० करोड रुपैयाँको हुनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँको लागि सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना छ । 

संस्थानका अनुसार कम्पनीको सेयरधनी बन्नका लागि सर्वसाधारणले अझै केही समय कुर्नु पर्ने छ। संस्थान कम्पनीमा रुपान्तरण भएपश्चात पनि सर्वसाधारणमा जानका लागि डेढ देखि दुई वर्ष लाग्न सक्ने प्रशासक पाठकले बताए । आईपीओमा सेवा निवृत कर्मचारीले पनि दाबी गरेकोले विवाद बढ्ने समेत देखिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved