प्याजमा भ्याटः ठगिँदै उपभोक्ता, मोटाउँदै विचौलिया

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2023 | 06:04:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि बजारमा प्याजको भाउ आकासिएको छ । 

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न भन्दै प्याज आयातमा भ्याट लगाएपछि बजारमा भाउ बढेको हो । देशकै ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा जेठ २४ गतेपछि प्याज छैन । तर, बजारमा भने प्याजको कुनै अभाव छैन । जेठ १६ गते (बजेट भाषणको भोलिपल्ट) सम्म प्रतिकिलो औसतमा ३४ रुपैयाँ रहेको प्याजको भाउ अहिले १ सय रुपैयाँसम्म पुगेको छ । 

‘कालिमाटी तरकारी बजारमा प्याज शून्य छ, जेठ २३ सम्म पूरानै स्टक बिक्री भयो, तर त्यसपछि यहाँ प्याज छैन’ कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले भने, ‘त्यहीँ भएर प्याजको मूल्यसूची पनि राखेका छैनौँ ।’

बजारमा प्याजको अभाव नभएको तर, मूल्य मात्रै बढिरहेकाले प्याजको आयात रोकिएको छैन भन्ने देखिन्छ । जेठ १५ गते बजेट भाषण भएपछि १६ गतेबाटै प्याज आयातमा भ्याट लाग्न सुरु भयो । आर्थिक ऐनका प्रावधानमध्ये केही तत्काल लागू हुन्छन् भने केही नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै लागू हुन्छन् । तर, मूल्य अभिवृद्धि कर ऐनको अनुसूची १ मा समावेश नभएका वस्तुमा तत्कालै भ्याट लाग्ने गर्दछ । मूल्य अभिवृद्धि कर ऐनको अनुसूची १ बाट आलु र प्याज हटेपछि यिनको आयातमा भ्याट लाग्न थाल्यो ।

आन्तरिक राजस्व विभागले प्याज आयात गर्ने फर्महरु अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने बताएको छ । तर, तत्कालै फर्महरु भ्याटमा दर्ता गरेर प्याजको आयात गर्न कति सहज भन्ने जिज्ञासामा आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले दर्तामा समस्या नरहेको बताए ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरु)अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरुको सूचीमा आलु तथा प्याज रहँदै आएकामा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो । 

‘मैले हिजोसम्म प्यानमा दर्ता भएर प्याज आयात गर्दै थिएँ, अब सरकारको नियमअनुसार भ्याटमा जानुपर्ने भयो भनेपछि तुरुन्तै दर्ता हुन्छ’ उनले भने, ‘जुन राजस्व कार्यालयमा प्यान दर्ता गरेको फर्म हो, उसले त्यहीँ राजस्व कार्यालयबाट भ्याटमा दर्ता गराउन सक्छ, १० मिनेटमै दर्ता हुन्छ ।’

वाणिज्य विभागले धमाधम जरिवाना गराउँदै

कर लगाएको देखाएर बजारमा प्याजको भाउ अस्वभाविकरुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन थालेको छ । आइतबार एउटा सूचना नै निकालेर विभागले भने प्याजको मूल्य बढी लिए कारबाही गर्ने जनाएको थियो ।

विभागका प्रवक्ता होमनाथ भट्टराईले केही ठाउँमा अनुगमनका क्रममा कारबाही पनि गरिएको बताएका छन् । विभागले अनुगमनका क्रममा विभिन्न ५ ठाउँमा बील बीजक बिना नै बिक्री गर्दै आएकालाई कारबाही गरिएको छ । उनीहरुलाई नगद पाँच हजारका दरले जरिवाना तिराइएको छ ।

‘बजारमा छैन भन्ने तर रातीराती ढुवानी गरेर तरकारी बिक्री गर्नेहरुलाई उपलब्ध गराएर यति मूल्यमा बेच्नु भन्ने खालका केही विचौलियाहरु भेटिए’ प्रवक्ता भट्टराईले भने, ‘उनीहरुलाई कारबाही गर्न थालिएपछि अवस्था सामान्य हुँदैछ, लाग्दो मूल्यभन्दा बढीमा प्याज बिक्री गर्नेहरुलाई विभागले कारबाही अभियान जारी राख्छ ।’

विभागले विचौलियाहरुले प्याजको भाउ अस्वभाविक रुपमा बढाएको देखिएकाले विभागले अझै पनि काठमाडौँ उपत्यकासहित अन्य बजारमा समेत सुक्ष्म अनुसन्धान र निगरानी बढाइरहेको भट्टराई बताउँछन् । ‘परिमाण हेरेर तत्कालै ३ लाखसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ’ उनले भने ।

यसअघिः

करले डामेपछि व्यवसायीले ठप्प पारे आलु–प्याज आयात, महँगिदै भान्छा

‘बिजुली गती’मा उकालो चढ्दै प्याजको भाउ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved