‘बिजुली गती’मा उकालो चढ्दै प्याजको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 02:14:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मूल्यअभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले भारतबाट आलु र प्याजको आयात ठप्प भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जेठ १८ गतेदेखि आलु र प्याज भारतबाट आउन छोडेको छ । जसका कारण बजारमा प्याजको भाउ तीव्र रुपमा बढेको छ ।

जेठ २४ गते बुधबारदेखि नै कालिमाटीबाट प्याजको बिक्री भएको छैन । जेठ २३ गते मङ्गलबार प्रतिकिलो औसतमा ४५ रुपैयाँ मूल्यसूची रहेकामा बुधबार मूल्यसूची नै राखिएन । बजारमा भने बुधबारबाटै प्याजको भाउ बढ्न थाल्यो ।

जेठ २५ गते बिहिबार प्याजको भाउ बजारमा प्रतिकिलो ६० रुपैयाँ थियो । नक्सालस्थित तरकारी बजारमा प्याजको भाउ शुक्रबार प्रतिकिलो ८० रुपैयाँ कायम थियो । शनिबार स्वयम्भूको सानोभर्याङस्थित तरकारी बजारमा प्याजको भाउ बुझ्दा प्रतिकिलो १ सय रुपैयाँ पुगिसकेको थियो ।

आज आइतबार पनि १ सय रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भइरहेको छ । तर, तरकारी बजारभन्दा बाहिर भने प्याजको भाउ प्रतिकिलो १२० रुपैयाँसम्म पुगिसकेको छ । 

काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालिमाटी भने प्याजविहीन बनेको छ। त्यही भएर समितिले प्याजको मूल्य सूची नै राखेको छैन । स्थानीय किसानले उत्पादन गरेका हरियो प्याज भने आइतबार कालिमाटी तरकारी बजारबाट प्रतिकिलो अधिकतम् ५५ रुपैयाँमा बिक्री भइरहेको छ ।

दैनिक पुर्याउनुपर्ने होटलमा पुर्याउन मुस्किल

नक्सालस्थित तरकारी बजारमा एउटा प्याजको गोदाम छ । त्यहाँ पनि अब केही दिनलाई मात्रै पुग्ने प्याज बाँकी रहेको बिक्रेता बताउँछन् । बजार भित्रैको एउटा स्टलबाट तरकारी बिक्री गरिरहेका अर्का व्यवसायीलाई दैनिक प्याज लैजाने होटललाई अब कसरी उपलब्ध गराउने भन्ने चिन्ता छ । उनले विगत ३ वर्षदेखि नक्साल आसपासका केही होटलमा प्याज ‘डेलिभरी’ गर्दै आएका थिए । 

‘दैनिक ४ बोरा (२४० किलो) प्याज लैजाने होटललाई आजसम्म १८० किलो दिएँ, भोलिबाट एक बोरा पनि कसरी दिने भन्ने चिन्ता छ’ उनले भने, ‘आयात हुन नदिनु राम्रो हो, अहिले हाम्रै देशभित्र फलेको प्याज अलिअलि त आइरहेको छ, तर यसले पुग्दैन ।’

नेपालमा वार्षिक २१ हजार हेक्टर क्षेत्रफलमा करिब ३ लाख मेट्रिकटन प्याज उत्पादन हुँदै आएको कृषि मन्त्रालयको तथ्याङ्क छ । तर, स्वदेशी उत्पादनले करिब ४० प्रतिशत मात्रै बजार माग पूर्ति गर्छ । बाँकी ६० प्रतिशत भने आयातमै निर्भर हुनु परिरहेको छ । आयात हुनेमध्ये सबैभन्दा बढी भारतबाट आउँछ । चीनबाट केही मात्रामा मात्रै आउने गरेको छ । भारत विश्वमा सबैभन्दा धेरै प्याज उत्पादन तथा निर्यात गर्ने मूलुक हो ।

कालिमाटीमा भारतीय आलु पनि सकियो

त्यसो त, आजबाट कालिमाटी तरकारी बजारमा भारतीय आलु पनि शून्यमा झरेको छ । जेठ २४ देखि ३ दिन औसतमा ३८ रुपैयाँ प्रतिकिलो कायम गरिएको भारतीय रातो आलु आजबाट सकिएको छ । अहिले कालिमाटी तरकारी बजारमा तीन थरी आलु बिक्री भइरहेको छ । आलु रातो प्रतिकिलो अधिकतम् ४५ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो अधिकतम् ४० रुपैयाँ ५० पैसा र आलु सेतो प्रतिकिलो अधिकतम् ३६ रुपैयाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

केराउ, सागपात, कोसे तरकारी, बोडीलगायतका तरकारीमा पनि भ्याट लागेपछि महँगिएका छन् । बोडी प्रतिकिलो ६० रुपैयाँ र मटरकोसा प्रतिकिलो १८० रुपैयाँ पुगेको छ । एकातिर नेपालमा सिजनल हुने खेतीका कारण अहिले तरकारी उत्पादनको ‘अफसिजन’ चलिरहेको र अर्कोतिर आयात पनि प्रभावित हुँदा बजारमा दैनिक भान्छामा चाहिने तरकारी अभाव हुने अवस्था आउन सक्ने नक्साल तरकारी बजारका एक जना व्यवसायीले बताए । 

त्यस्तै, स्याउ, भुइँकटहर, किवी, एभोकाडो र हलुवावेद जस्ता फलफूलमा पनि अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमार्फत भ्याट लगाउन सुरु गरेका छन् । जसका कारण यस्ता फलफूलको भाउ पनि बढ्न थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved