नाडेप लघुवित्तले फागुन १९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । चुक्ता पूँजीको शतप्रतिशत अर्थात १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्दा बिक्रि नभएको ६१ हजार २ सय ३६ कित्ता अवितरित हकप्रद शेयर लिलाम गर्न लागेको हो ।
फागुन १९ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको निष्काशक तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग रहेको छ । आवेदन दिंदा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबुल गरी दिनु पर्ने छ । बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्या वा अधिकत्तम सबै लिलामी शेयरमा आवेदन गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्साल काठमाडौं, नाडेप लघुवित्तको इलाका कार्यालयहरु विराटनगर, पोखरा र बुटवलमा आवेदन पेश गर्न सकिन्छ । यस्तै नबिल बैंकको शाखा कार्यालयहरु आर्दशनगर वीरगञ्ज, विरेन्द्रनगर सुर्खेत, नेपालगञ्ज र मेनरोड धनगढीबाट आवेदन दिन सक्ने छन् ।
हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३२ करोड पुग्ने छ ।
