अघिअघि कालोपत्रे, पछिपछि गैँची र सावेल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2020 | 03:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनअघि मात्रै काठमाडौँका सडक चिल्ला बनाएको भन्दै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङको प्रसंशा भयो । लकडाउनमा पनि काम गरेको भन्दै मन्त्री नेम्वाङले स्याबासी मात्रै पाएनन्, अरु मन्त्रीले काम नगरेको आरोप खेपिरहेको सरकारको पनि काम देखियो । वर्षौदेखि काठमाडौँका सडकमा भएका खाल्डाखुल्डी पुर्न नसकेको आरोप सहँदै आएको सरकारलाई भौतिक काम देखाउन लकडाउनले साथ दिएको पनि हो । 

काठमाडौँका सडक पिच भएको, खाल्डा पुरिएको तस्बिर सामाजिक सञ्जालमा राखेर सरकार सञ्चालन गरिरहेको नेकपाका कार्यकर्ताले सरकार र पार्टीको प्रचार गर्ने गजबको अवसर पनि पाए । तर मर्मत सकिएर चिल्ला देखिएका सडक ओभाउन नपाउंदै खोस्रिने काम सुरु भइसकेको छ। ढल व्यवस्थापनको लागि भनेर केहीदिन मात्रै कालोपत्रे भएको हात्तिसार, कमलादी, पुतलीसडक क्षेत्रमा ढल व्यवस्थापनको लागि भन्दै सडकको कालोपत्रे उक्काउन सुरु गरिएको छ । 

विभाग भन्छ, ‘हामीलाई थाहा हुँदैन’

खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मिना श्रेष्ठ काठमाडौँ उपत्यका भित्रको ढल व्यवस्थापनको काम आफूहरुले नहेर्ने बताउँछिन् । बिहिबार सामाजिक सञ्जालमा कमलादी आसपासमा ढल निकासका लागि केही दिनअघि मात्रै पिच भएको सडक भत्काउँदै गरेको तस्बिर सार्वजनिक भएपछि विभागसँग यसबारे जानकारी लिन खोज्दा काठमाडौँको सडकमा ढलको काम मेलम्ची खानेपानी आयोजना अन्तर्गतकै एक अंग ‘पिआइडी’ ले हेर्ने भएकाले यसबारे विभागलाई जानकारी नहुने उपमहानिर्देशक श्रेष्ठको भनाई छ । 

‘काठमाडौँ उपत्यकाको ढलको काम हामी हेर्दैनौँ’ उपमहानिर्देशक श्रेष्ठले भनिन्, ‘अहिले प्रोजेक्ट इम्प्लिमेन्टेसन डाइरेक्टोरेड (पिआइडी)ले हेरिरहेको छ । यो मेलम्चीकै एउटा पार्ट हो ।’ 

तर प्रोजेक्ट इम्प्लिमेन्टेसन डाइरेक्टोरेड (पिआइडी)ले पनि आफूहरुले सडकको काम नभई नदी किनारको मात्रै हेर्न बताएको छ । पिआइडीका योजना निर्देशक भोज बिक्रम थापाका अनुसार पुतलीसडक क्षेत्रमा भएको ढलको काम सडक विभागले नै गरेको हो । 

‘हामी नदी किनारको मात्रै ढल हेर्छौँ’ थापाले भने, ‘हामीले अहिले हनुमन्ते र मनोहरा खोलाको मात्रै काम हेरिरहेका छौँ । पुतलीसडक क्षेत्रमा भएको भनिएको ढल निकासको काम सडक विभागले नै गरेको हो ।’ 

के भन्छ सडक विभाग ?

सडक विभागले भने वर्षाको समयमा पुतलीसडकलाई जलमग्न हुनबाट जोगाउन ढल विस्तार गर्न लागिएको बताएको छ । सडकको नयाँ पिच उक्काईएको नभई पूरानो कालोपत्रे उक्काएर दीर्घकालिन निकास दिन यसो गरिएको विभागका प्रवक्तासमेत रहेका उपमहानिर्देशक शिवहरि सापकोटा बताउँछन् । 

‘वर्षातको समयमा कुमारी हल निस्कको चोकबाट ढल निस्केर पुतलीसडक जलमग्न हुन्छ’ उनले भने, ‘ढल सानो भएका कारण पानी जम्ने भएकाले अब वर्षा अगाडी नै सबै काम सकेर अर्को पटकदेखि सो क्षेत्रमा काम गर्नुपर्ने नगरी फिनिसिङ गर्ने हो ।’

यसका लागि गत भदौमा नै भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयबीच सो क्षेत्रको ढल टुकुचामा डिस्पोज गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार लागत काठमाडौँ सडक विस्तार आयोजनाले ब्यहोर्ने र ठेक्काको काम सडक विभागले गर्ने भनिएको थियो । मेलम्ची आयोजनाले गौशाला–चावहिल क्षेत्रमा ढल निकासको लागि अपनाएकै मोडलमा पुतलीसडक क्षेत्रमा पनि ढल निकासको काम थालिएको विभागको भनाई छ । यसका लागि करिब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved