नाडा चुनावः सबै मत खसे थापालाई सजिलो, चौधरीलाई मोफसलका व्यवसायीको डर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 09:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ साधारणसभा बुधबार उद्घाटन हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार (मंसिर २२ गते) उद्घाटन गर्ने साधारणसभाको बन्दसत्र २३ गते हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नाडाको यो साधारणसभाको विशेष महत्व छ ।

अध्यक्ष कृष्ण प्रसाद दुलालले सहमतिमै नेतृत्व चयन गरेर जिम्मेवारी हस्तान्तरणको लक्ष्य राखेपनि अध्यक्षका प्रत्याशी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएपछि अध्यक्ष दुलालको चाहना सफल हुने सम्भावना करिब करिब सकिएको छ ।

कसको सम्भावना कति ?

नाडामा निर्वाचन नै भएको खण्डमा पनि शत् प्रतिशत मत खस्ने सम्भावना छैन । किनकी, यसअघि ९६२ सदस्य रहेको नाडामा अहिले ३१ सय बढी सदस्य छन् । सबै सदस्य मतदान प्रक्रियामा भाग लिन आउँछन् भन्न सकिने अवस्था नरहेको नाडाकै पदाधिकारी बताउँछन् । 

चौधरी समूह कर्पोरेट हाउसको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको छ भने थापा समूह मोफसलका साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल अटोमोबाइल्स एसोसियसन (वाडा) बाट चौधरीलाई चूनौति दिन मैदानमा आएको छ ।

काठमाडौँ र बाहिरका पनि ठूला व्यवसायिक घरानाका डिलर्सहरु सबैले चुनाव भएको अवस्थामा मतदानमा भाग लिने सम्भावना बढी हुन्छ । चौधरीकै कम्पनीका डिलर्सहरु पनि धेरै भएको र उनलाई साथ दिएका कर्पोरेट हाउसहरुका पनि आ–आफ्नै डिलर्स धेरै भएकाले त्यहाँका प्रतिनिधिहरु चौधरीलाई नै मतदान गर्न काठमाडौँ आईसकेको स्रोत बताउँछ ।

काठमाडौँ भित्रका सदस्यहरु ७० प्रतिशत बढी चौधरीको समर्थनमा रहेको चौधरीको विपक्षी टिमले पनि स्वीकार गरेको विषय हो । अर्कोतर्फ, काठमाडौँ बाहिरबाट सबै सदस्य नआउँदा चौधरीलाई नै फाइदा पुग्ने सदस्यहरु बताउँछन् । 

किनकी, ध्रुव थापाको मत काठमाडौँ बाहिर (जहाँ अत्याधिक बाहुल्य सदस्यहरु छन्) बाक्लो छ । काठमाडौँभित्र चौधरीको ७० प्रतिशत मत भएजस्तै काठमाडौँ बाहिर भने थापाको त्यो तहको मत रहेको बताइन्छ । मोफसलका व्यवसायीहरुको ‘सेन्टिमेट’को मत पनि थापाकै भएकाले सबै सदस्य आएर मतदान गर्ने हो भने चौधरीलाई हराएर थापाले जित्ने सम्भावना बढी रहेको स्रोतले दाबी गरेको छ ।

ठूला व्यवसायीहरु चौधरीको पक्षमा देखिएपनि साना व्यवसायीको मत निर्णयक हुने भएकाले थापा नै निर्वाचित हुने र पहिलो पटक नाडाले मोफसलबाट नेतृत्व पाउने अपेक्षा थापा समूहमा खुलेका सदस्यहरुको छ । उता चौधरी समूहबाट उम्मेदवार समेत रहेका नाडाका वर्तमान महासचिव सुनिल रिजाल आफूहरुको ‘प्यानल’ नै विजयी हुने दाबी गर्छन् ।

कसको मत कति ?

करण चौधरी समूहले सुरुमा आफूहरुसँग ७० प्रतिशत मत रहेको र प्रत्याशी समूहले जम्मा ३० प्रतिशत मात्रै मत बोकेर नेतृत्व दाबी गरिरहेको बताएको थियो । तर, अहिले अवस्था फेरिएको छ । चौधरी समूहबाट उम्मेदवार बनेकाहरु नै थापा समूहले ४५ प्रतिशत मत आफ्नो पक्षमा पुर्याएको ‘रिपोर्टिङ’ गर्न थालेका छन् ।

‘हामीले ६० प्रतिशत मत ल्याउँछौँ भन्ने थियो, तर चुनावसम्म उहाँहरुको ४५ प्रतिशत पुग्ने देखियो’ चौधरी समूहका एक सदस्य भन्छन्, ‘चुनाव त हामी जित्छौँ नै, तर मतान्तर खासै धेरै हुने देखिएको छैन ।’

तर, थापा भने यसमा कुटनीतिक जवाफ दिन्छन् । बिजपाटीले ‘तपाईहरुको पक्षमा कति प्रतिशत मत छ भन्ने अनुमान गर्नुभएको छ ?’ भनेर सोध्दा थापाले आफ्ना प्रत्याशी समूहले यसअघि भनेको कुरा स्मरण गर्छन् ।

‘उहाँहरुले सुरुमा ७० प्रतिशत हाम्रो भन्नुहुन्थ्यो, अहिले ५५ प्रतिशत मात्रै छ भन्न थाल्नु भएको छ, चुनावसम्म उहाँहरुले आफ्नो भनेको जति हाम्रो हुन्छ, अहिले हाम्रो ४० देखि ४५ प्रतिशत मात्रै देख्नुभएको छ, त्यो चुनावमा उहाँहरुले आफूले पाउने मत भन्नु भएको हो’ थापा भन्छन् ।

अर्कोतर्फ, दुबै समूहले सदस्यहरुलाई फोन गरेर मत माग्न सचिवालय नै बनाएका छन् । थापा आफैँ सदस्यसँग कुराकानी गर्छन् भने चौधरीले आफ्ना कर्मचारीलाई कुरा गर्न लगाएका छन् । यसले पनि चौधरीप्रति साना व्यवसायी खुशी छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved