बेरोजगारी मात्रै होइन विदेशिनुको कारण: बैंकको जागिर छोडेर पोल्याण्ड पुगेको एक जोडीको कथा

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 25, 2023 | 02:35:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर २२ गते नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी आवद्ध संघ संस्थाका पदाधिकारीसँग गरेको बैठकमा बैंकका कर्मचारीहरुको विदेश पलायनबारे छलफल भएको थियो । राम्रै तलब सुविधा पाइरहेका बैंकका कर्मचारी पनि नेपाल छाडेर विदेश जाने क्रम बढेकोमा बैंकका सीईओ तथा सञ्चालकहरु नै चिन्तित बनिरहेका थिए । उनीहरुले यस्तो गुनासो राष्ट्र बैंकमा सुनाएपछि राष्ट्र बैंक पनि चिन्तित देखिएको छ ।

बिहिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमै राम्रो जागिर गरिरहेका युवाहरुको विदेश पलायनलाई वेरोजगारी समस्याका रुपमा मात्रै बुझ्न कठिन भइरहेको बताएका छन् । मासिक ८० हजार तलब पाउने युवाहरु विदेश गइरहेको भन्दै प्रधानमन्त्रीले युवाहरुमा राष्ट्रिय भावना कमजोर भइरहेको हो कि भन्ने आशय व्यक्त गरेका छन् ।

राष्ट्र बैंकको बैठकमा उठेको विषय र प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई पुष्टि गर्ने एउटा घटना बिजपाटी डटकमले फेला पारेको छ । जुन कुराले राम्रो तलब सुविधा पाइरहेका युवाहरु पलायन हुनुमा हाम्रो सामाजिक चिन्तन पनि कारक देखिएको पुष्टि हुन्छ ।

यस्तो छ उक्त घटना

रबिन थापा (नाम परिवर्तन) प्रभु बैंकमा अधिकृत स्तरमा काम गरिरहेका थिए । सेञ्चुरी बैंकमा कार्यरत अनुजा कार्की (नाम परिवर्तन)सँग उनको चिनजान भयो । उनीहरु नजिकिए र प्रेम सम्बन्धमा पुगे । २०७९ मंसिरमा यी दुइ बैंक मर्ज भए । बैंक मर्ज भएकै छेको पारेर २०७९ साल मंसिर अन्तिममा उनीहरुले पनि लगनगाँठो कसे ।

अनुजाको माइती काठमाडौँ बाहिर भए पनि रबिनको घर काठमाडौँमै थियो । उनीहरु बिहान सँगै कार्यालयका लागि निस्कन्थे, बेलुका घर पनि प्राय सँगसँगै पुग्थे । कहिले अनुजालाई रबिनभन्दा ढिला पनि हुन्थ्यो । घर पुगेपछि रबिन बा आमासँग गफगाफ र मोबाइल ल्यापटपमा ब्यस्त हुन्थे भने अनुजा खाना पकाउने र खुवाउने काममा ब्यस्त हुन्थिन् । हाम्रो सामाजिक चिन्तनले बुहारीले खाना पकाएर खुवाइदियोस्, भाडाकुडा माझेर बसिदियोस्, सकेसम्म घर बाहिर नजाओस् भन्ने सोच राख्छ । जुन सोच रबिनको परिवारले पनि राख्यो । घरको काम गरेर कार्यालय जानुपर्दा अनुजालाई कहिले ढिलो हुने र कहिले बेलुका अवेरसम्म काम गर्नुपर्दा पनि घरकै पिरलो हुन थाल्यो ।

यो कुरा अनुजाले रबिनलाई भन्न थालिन् । बुहारी घरमै बसिदिए हुन्थ्यो भन्ने बा आमाको सोच देखिएको कुरा रबिनलाई पनि अनुभूति भइरहेकै थियो । तर उनी आफू सरह अध्ययन र क्षमता भएकी श्रीमतिलाई घरभित्रै सिमित गराउन चाहँदैन थिए । काठमाडौँमै घर भएकाले उनलाई कोठा खोजेर अन्यत्र बस्न पनि नैतिक रुपमा सहज भएन ।

यसपछि के गर्ने भनेर रबिन र अनुजाले सल्लाह गर्न थाले । उनीहरुले बैंकबाट सरुवा लिएर काठमाडौँ बाहिर जाने सोच पनि गरे । तर, त्यसले समस्या समाधान नहुने देखे । त्यसपछि दूबैले सल्लाह गरे, विदेश जाने । यसपछि गत साउनमा दूबै जना पोल्याण्ड गए ।

‘विदेश जाने प्रोसेस सुरु गरेपछि म विदेश जाने भएँ, टिकटको व्यवस्थापन तपाईले गरिदिनुपर्छ भनेर रबिनले भन्यो, मेरो ट्राभल कम्पनी भएकाले टिकेटिङको काम पनि हुन्थ्यो । मैले बसेर सल्लाह गरौँ, मेरो अफिसमा आइज भनेँ, उ आयो, मैले यहीँ यति राम्रो जागिर छ, दूबै जनाको कमाई जोड्दा मासिक डेढ लाग्छ हुन्छ, किन जानुप¥यो विदेश भनेर सोधेँ’ रबिनका अङ्कल योगेशले बिजपाटीसँग भने, ‘यस्तो यस्तो समस्या प¥यो भनेर मलाई सुनायो । मैले यो कुरा सोच्दै सोचेको थिइनँ । मैले कल्पना नै नगरेको कुरा सुनेपछि म झस्किएँ ।’

उनले आफूले रबिनलाई सकेसम्म विदेश नजान सुझाए पनि उसले सबै प्रक्रिया पूरा गरेको कागजात ल्याएर टेबलमा राखिदिएर हिडेको पनि स्मरण गरे ।

‘एकदिन बिहान फोन ग¥यो, भिसा आयो, टिकट चाहियो भन्यो । म केही बोल्नै सकिनँ । अनि दिउँसो मेरो अफिसमा आएर कागजात छोडेर हिड्यो, एकछिन बस भनेको मानेन । बेलुका फोन गरेँ, उठाएन । पछि उसकी अन्टीलाई फोन गरेर छिटो टिकट मिलाइदिन भनिदिनु भनेछ’ रबिनका अंकलले थपे, ‘अनि टिकट काटिदिएँ ।’

उनका अनुसार यो एउटा प्रतिनिधिमूलक घटना हो । नेपालमै मासिक ३० हजारदेखि माथि कमाउने व्यक्तिलाई विदेश जानुपर्ने बाध्यतात्मक अवस्था नहुने भए पनि विवाह पश्चात परिबन्धमा परेर श्रीमतिसहित विदेश उड्ने क्रम बढिरहेको ट्राभल कम्पनीका सञ्चालकसमेत रहेका योगेशको अनुभव छ । 

यस अघि : राष्ट्र बैंकको बैठकमा खोजियो बैकका कर्मचारीको बढ्दो विदेश पलायनको कारण


:बिजपाटीमा प्रकाशित भिडियोहरु हेर्नका लागि यहाँ थिच्नुहोस् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved