
होटल संघ नेपाल (हान)ले बैंकको साँवा र ब्याज तिर्न २ वर्षको समय माग गरेको छ । हानले बिहिबार राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाउँदै तत्काल बैंकको ब्याज तिर्न सक्ने अवस्था नरहेको भन्दै कर्जाको पुर्नतालिकीकरण गरिदिन माग गरेको हो ।
संघले साँवाको किस्ता र व्याज भूक्तानीका लागि २ वर्षको समय माग गरेको हो । संघकी अध्यक्ष सृजना राणाले कोरोनाले थला पारेको होटल तथा पर्यटन उद्योग अहिले पनि पूर्ण रुपमा पहिलाकै अवस्थामा आइनसकेको भन्दै अझै संचालन खर्च धान्न मुस्किल रहेको बताएकी छिन् ।
‘हाम्रो समस्या भनेकै बैंकको बढ्दो व्याजदर र बैंकहरुले साँवा व्याज बुझाउनु भनेर गरिरहेको ताकेता हो’ अध्यक्ष राणा भन्छिन्, ‘अहिले देशै भरका होटल व्यवसायी आन्दोलित छन्, होटल उद्योगको संरक्षण गर्न आवश्यक छ ।’
संघले कोरोनाका कारण होटल तथा पर्यटन क्षेत्र बढी प्रभावित भएको भन्दै त्यतिबेला मौद्रिक नीतिमार्फत दिइएका सहुलियतहरुलाई निरन्तरता दिन पनि माग गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्रसित नहुन आश्वासन दिँदै व्यवसायीका मागहरु सम्बोधन गरिने आश्वासन दिएको होटल संघका एक पदाधिकारीले बताए ।