
सन्राइज बैंक लिमिटेडले कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । कैलाली जिल्लाको गौरीगंगा न.पा.– ३, कुचैनी भन्ने ठाउँमा उक्त सेवा संचालनमा ल्याएको हो । यस संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।
सोमबार, आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगरपालिका ३ न.वडाका वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।