शहरका सहकारी ढाल्न प्रभावशाली हैसियतका व्यक्तिकै ठूलो हात

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 07, 2023 | 04:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पहुँचवालाले चलाएका शहरका सहकारी संस्थाहरुमा बढी समस्याग्रस्त देखिएको छ । राजनीतिक संरक्षण पाएका र कुनै न कुनै रुपमा नीतिगत तहमै प्रभाव पार्न सक्ने व्यक्तिहरुले शहरमा चलाएका साकोस (बचत तथा ऋण सहकारी)हरुमा बढी समस्या भेटिएको हो । पहुँच र राजनीतिक संरक्षण पाएका व्यक्तिले नै सहकारीको रकम दुरुपयोग गर्ने गरेका छन् । 

पूर्व सहकारी सचिव गोपीनाथ मैनाली पनि यस कुरामा सहमत छन् । उनी सहकारी बुझेकै मान्छेले सहकारी बिगारेको दावी गर्छन् । यो कुरालाई आज भन्दा ९ वर्ष अघि नै प्रमाणित भए पनि राज्यबाट उपयुक्त कदम नचालिँदा अहिले ठूलो संख्याका सहकारीको अर्बौँ बचत रकम दुरुपयोग हुन पुगेको सहकारी विज्ञहरु बताउँछन् । 

गौरीबहादुर कार्की नेतृत्वको सहकारी समस्या समाधानका लागि सुझाव दिन गठित न्यायिक आयोगको प्रतिवेदनले २०७१ सालमै पहुँचवालाले चलाएका सहकारीमा समस्या औँल्याएको थियो । 

पूर्वसहकारी सचिव गोपीनाथ मैनालीका अनुसार सहकारीमा समस्या आउन भने २०६८ सालतिरबाट सुरु भएको हो । भूमि व्यवस्था तथा सहकारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी सहकारी मन्त्रालयमा लामो समय बसेका मैनाली पहिलो संविधानसभाले संविधान बनाउन नसकेर मुलुक सङ्क्रमणकालको अवस्था तिर धकेलिएपछि त्यही मौकामा केही सहकारीले वेथिति थालेको सुनाउँछन् ।

मुख्य गरी त्यतिबेला सुधीर बस्नेतले चलाएको ओरेण्टल सहकारीका विषयमा बढी उजुरी आएका थिए । ओरेण्टल सहकारीका सञ्चालक बस्नेत र सिभिल सहकारीका सञ्चालक इच्छाबहादुर तामाङबाट पनि पूर्वसचिव मैनालीको भनाइलाई पुष्टी गर्छ । उनीहरु प्रभावशाली कहलिन्थे, तर उनीहरुकै नेतृत्वमा रहेका सहकारीहरु ढले । त्यसो त, शिवशिखर र तुलसी सहकारी चलाएका केदारनाथ शर्मा, सुमेरु सहकारी चलाएका भरत महर्जन, गौतमश्री सहकारीका सञ्चालक राम बहादुर गौतम, कान्तिपुर सहकारीका प्रबन्धक प्रेम लामा, र देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको पनि पहुँच र प्रभाव कम थिएन । अहिले शर्मा पक्राउ परेका छन् भने भरत महर्जन र रवीन्द्र चौलागाईं फरार छन् । चौलागाईं फरार भएपछि सहकारी विभागले पक्राउ गरेर अनुसन्धान गर्न भन्दै सीआईबीलाई पत्र पठाएको छ ।

कान्तिपुरका प्रेम लामाले भने श्वेतपत्र जारी गर्न थालेका छन् । गौतमश्रीका गौतमले ७६ करोड बचत फिर्ता गरेको विवरण सहकारी विभागमा बुझाएका छन्, तर अझै पनि समस्या सुल्झिएको छैन । त्यस्तै, श्री पशुपति, बराह, लालिगुराँसलगायतका सहकारी संस्थाका बचतकर्ता पनि आन्दोलित भइरहेका छन् । 

२०७० सालको निर्वाचनपछि प्रधानमन्त्री बनेका शुशिल कोइरालाले सहकारी समस्या समाधानका लागि एउटा न्यायिक आयोग बनाए । पूर्वन्यायाधिश गौरीबहादुर कार्कीसहित ३ सदस्यीय उक्त न्यायिक आयोगले गुनासो माग्दा ओरेण्टल सहकारी विरुद्धमा मात्रै ६ हजार ८ सय १२ वटा उजुरी परेका थिए । ‘ओरेण्टलमा पैसा राख्नेहरु धेरैजसो पूर्वकर्मचारीहरु थिए’ पूर्व सचिव मैनाली स्मरण गर्छन् ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले त्यतिबेला नै १३० वटा सहकारी समस्यामा छन् भन्ने विवरणसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा १२ वटा सहकारी समस्याग्रस्त घोषणा भए भने बाँकी भएनन् । त्यही प्रतिवेदनले पहुँच भएका, नीतिगत प्रभाव पार्न सक्ने र संरक्षण पाएका व्यक्तिहरुले शहरमा चलाएका सहकारीमा समस्या र बेथिति छ भन्ने औँल्याएको थियो । 

‘गाउँगाउँका सहकारीले धेरै राम्रो काम गरेका छन्, तर शहरमा पहुँचवालाले चलाएका सहकारीमा मात्रै समस्या देखिएको छ, छिटो पैसा कमाउने अभिलाषा राखेर रिक्स हुने क्षेत्रमा जथाभावी लगानी गर्दा समस्या देखिएको हो, बचत फिर्ता दिन नसकेका सहकारीले घरजग्गामा लगानी गरेका छन्’ पूर्व सचिव मैनाली भन्छन्, ‘सहकारीको लगानी सहकारीमा भयो, एउटा सहकारीले पाँच, छ वटा सहकारीमा लगानी गरेको देखिएको छ, अहिले एउटा ठूलो कारोबार गर्ने सहकारीमा समस्या आयो भने त्यसको प्रभाव अरु चार, पाँच वटा सहकारीमा पर्छ । यो वेथिति शहरका सहकारीमा छ, गाउँका सहकारीले राम्रो काम गरेका छन् ।’ 

एक प्रतिशत शहकारीमा समस्या आउँदा तरङ्ग

९ खर्ब रुपैयाँ वित्तीय कारोबार गर्दै आएका र ७४ लाख सदस्य भएका ३२ हजार सहकारीमध्ये १ प्रतिशत जति सहकारीमा समस्या आउँदा तरङ्ग पैदा भएको छ ।

‘समस्या देखिएका यी १ प्रतिशत सहकारी पहुँचवालाले चलाएका थिए, ठूला मान्छेले चलाएका सहकारीमै समस्या आएपछि त्यसको हल्लाखल्ला बढी भयो, हल्ला बढी हुँदा ठिक ढङ्गले चलिरहेका ९९ प्रतिशत सहकारी पनि बद्नाम भए, सहकारी प्रतिको आम विश्वास गुम्ने क्रम बढ्यो’, पूर्व सचिव मैनाली भन्छन्, ‘अहिले बचत फिर्ताभन्दा पनि विश्वास फिर्ता गर्नुपर्ने बेला हो, सहकारी अभियान्ताहरु, र सञ्चालकहरुले सहकारीप्रति गिरेको बचतकर्ता सदस्यहरुको विश्वास फिर्ता लिन उनीहरुलाई कन्भिन्स गराउनुपर्छ । यसका लागि सरकारले पनि सहयोग गर्नुपर्छ, मिडियाले पनि ९९ प्रतिशत सहकारीले गरेका राम्रा काम देख्नुपर्छ, उनीहरुको प्रवद्र्धन गर्नुपर्छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved