राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदको लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज वैशाख ७ गते सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन भनेको हो।
आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र,लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्ने उल्लेख छ ।
त्यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव रहेको हुनु पर्ने छ । कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनु पर्ने सूचनामा उल्लेख छ।
त्यस्तै कुनै राजनीतिक दलको सदस्य नभएको, बैंक सँगको ठेक्कापट्टा वा कुनै चल/अचल सम्पत्ति सम्बन्धी कारोबारमा आफैँ वा आफ्नो परिवारको कुनै सदस्यको संलग्नता नभएको वा यस बैंकसँग निजी स्वार्थ नभएको प्रमाण पेश गर्नु पर्ने छ। त्यस्तै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको हुनु पर्ने छ । टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको हुनु पर्ने छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको हुनु पर्ने छ। साथै आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र र आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको प्रमाण पेश गर्नु पर्ने छ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ तथा अन्य प्रचलित नेपाल कानूनद्वारा अयोग्य नरहेको हुनु पर्नेछ। आवेदनको साथमा ५ हजार शब्दमा नबढ्ने गरि व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्ने छ ।
बैंकको सीइओ छनौट समितिले प्राप्त आवेदनमध्ये उम्मेदवारकोे शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनको आधारमा ५ जनाको नाम सर्ट लिस्ट गर्ने छ। त्यसपछि ति ५ जनाको शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अङ्कको योग्यताको आधारमा उच्चतम अङ्क प्राप्त गर्ने तीन जनालाई सञ्चालक समिति समक्ष सिफारिस गरिनेछ । जस मध्ये बाट संचालक समितिले एक जनालाई सीइओ नियुक्त गर्ने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि हाल बैंकमा सीइओ पद रिक्त छ ।