कोरोना भाइरस, लकडाउन र हाम्रो कृषि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 08:45:25 AM मा प्रकाशित

laxmi  sunrise bank

गोबिन्द शर्मा 

कृषि हाम्रो प्राणेश्वर हो राजादेखि रंकसम्म कसैको पनि जीवन कृषि उत्पादन बिना चल्न सक्दैन  अधिकांश घर परिवारको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएको नेपाली परिवेशमा कृषिको महत्व अझ धेरै छ । त्यसैले राष्ट्रिय विपदको बेलामा कृषि क्षेत्रको संरक्षण गर्नु राज्य र नागरिक समाजको प्राथमिकताको बिषय हुनु पर्दछ ।

नेपालमा अहिले कोरोना भाइरसको सम्भावित प्रकोपको रोकथामका लागि बन्दाबंदी चलिरहेकोछ । यो आवश्यक पनि हो ।  बन्दाबंदीको यो समयमा किसानहरुले आफ्ना उत्पादनहरु बजार सम्म लान सकिरहनु भएको छैन र संगसंगै आफ्नै खेत बारीको कामका लागि पनि ढुक्कले निस्कन सक्नुभएको छैन । कृषिका अधिकांश उत्पादनहरु समयमा बजारमा लान नसकिएमा नाश हुने हुन्छन् । तसैले किसानले बाध्य भएर दुध पोख्ने, तरकारीहरु गाइ बस्तुलाई  खुवाउने गर्न थाल्नु भएका खबरहरु संचार माध्यम र सार्बजनिक गन्थन हरुमा प्रशस्तै आउन थालेका छन् ।

यस परिस्थितिले एकातिर किसानको अहिलेको आम्दानि कम हुन्छ भने अर्को तिर यसपछिको अर्को मौसमको उत्पादन पनि कम हुन्छ । यो उत्पादन कमिको परिपूर्ति गर्न बढी मात्रामा कृषि उत्पादन विदेश वाट आयात गर्नुपर्ने हुन्छ जसले देशको आर्थिक सन्तुलनमा नकारात्मक असर पर्दछ । साठी प्रतिशत भन्दा बढी घर परिवार समेट्ने कृषक समुदायको जीवनस्तर खस्कनेछ । उद्योग व्यापारका लागि कच्चा पदार्थको अभाब हुनेछ भने सेवा प्रदायक व्यवसायीको ग्राहक संख्या कम हुनेछ । छोटकरीमा भन्नुपर्दा कृषि क्षेत्रमा घाटा लाग्नुका आर्थिक, सामाजिक, राजनैतिक र मानबिय असरहरु धेरै  हुन्छन् । त्यसैले कृषि क्षेत्रलाई कुनेटामा राखेर विपदको ब्यबस्थापन र सम्वृद्धि नेपालको कामना गर्नु दिवा स्वप्न मात्र हुनेछ ।

अहिले कोरोनाको कारण असर परेको क्षेत्र भनेर व्यापार, उद्योग, पर्यटन इत्यादि भनेर बारम्बार भनिने गरेकोछ तर कृषि क्षेत्रको ख्याल फाट्ट फुट्ट मात्र गर्ने गरिएको छ । आवश्यक ध्यान र नीतिगत सम्बोधन नहुँदा अहिले हाम्रो कृषि क्षेत्रमा परिरहेका र पर्न लागेका असरहरु निम्न छन् :

-कृषकहरुले आफ्ना उत्पादन बजार ल्याउन सक्नुभएको छैन भने अर्को तिर उपभोक्ताको आवश्यकता पूर्ति गर्न भारत  लगायतका देशहरुबाट कृषि उपज आयात गरिरहनु परेको छ। 

-पशुपालक कृषक हरुलाई पशु आहारको आपूर्तिमा ब्यवधान आएको छ

-कृषि जमिन तथा घर भाडामा लिएका कृषक हरुलाई भाडा तिर्न समस्या देखिएको छ

-आवत जावतमा अप्ठ्यारो हुँदा कृषकले आफ्नो खेतबारीमा जान र काम गर्न असुविधा भएको छ। 

-नजिकिँदो मकै र धान खेतीको लागि बिउको आपूर्ति कसरी गर्ने भनेर चिन्ता गर्न थाल्नु परेको छ

ऋण लिएर गरिएका कृषि ब्यवसायहरुले ब्याज तथा किस्ता तर्न नसक्ने अबस्था आइलागेको छ

-हरेक बर्ष मुख्य कृषि मौसममा हुने मलको अभाब यो बर्ष झन बढी हुने होकी भन्ने डर पलाउन थालेको छ। 

-चिया, कुखुरा, पशु जस्ता श्रमिक बढी लाग्ने फार्म हरुमा श्रमिकको अभावले उत्पादन डुब्ने जोखिम बढेको छ। 

- यी र यस्तै अन्य समस्या हरुका कारण कृषक हरुमा आफ्नो पेशा प्रति नै आम नैराश्यता उत्पन्न हुन थालेको छ । 

-गहुँ, मसुरो इत्यादि बालि भित्र्याउन ट्रयाक्टर, थ्रेसरहरु को आबश्यक पर्नेमा अहिले तिनीहरुको आवागमनलाई लाइ दुरुत्साहन गरिएको छ। 


यी समस्याहरुको निराकरण गरि कृषक हरुको आधारभूत आवश्यकताको सम्बोधन गर्न सरकार, नागरिक समाज र उपभोक्ता हरुले निम्न कुराहरु गर्नु गराउनु जरुरी छ : 

कृषि उपजहरुको संकलन गरि बजार सम्म ढुवानी गर्न विशेष गाडीहरुको ब्यवस्था गर्नु पर्दछ, त्यसमा अनुमति प्राप्त संकलन टोलि रहनु पर्दछ र त्यो टोलीले सुरक्षित तबरले वडा वडाबाट उपज संकलन गरि नजिकको बजार या सदरमुकाम लगेर थोक तथा खुद्रा बिक्रेतालाई दिने ब्यवस्था गर्नुपर्दछ । सहजताका लागि उत्पादनको कृषक मूल्य सबैमा एउटै राख्न पनि सकिन्छ ।

पशु पंक्षी हरुकालागी आवश्यक दाना, ढुटो, चोक्कर, भुस्सा इत्यादि ढुवानी लाइ निर्वाध गराउनु पर्दछ। 

-छिमेकीहरु मिलेर खेतबारीमा अर्म पर्म गर्नु पर्ने अवस्थाका लागी आवश्यक मास्क उपलब्ध गराउनु पर्दछ । साथ् साथै आपसी दुरी कायम तथा अनावश्यक चिज बस्तु नछोई कसरी कृषि कर्म गर्न सकिन्छ, काम सकेपछि ति कृषि उपकरण हरुलाई कसरी सर सफाइ गर्नु उपयुक्त हुन्छ भन्ने जानकारी सार्वजनिक संचार माध्यमबाट निरन्तर दिनु पर्दछ  

- कृषकले आधारभूत आत्म सुरक्षा अपनाएर कृषि कर्मका लागि घर खेत आवत जवान गर्न पाउने व्यवस्था गर्नु पर्दछ । यो सुविधाको दुरुपयोग नगर्न र आवश्यक आत्मसुरक्षा गर्न कृषक हरु पनि सचेत हुनुपर्दछ 

कृषक तथा कृषि मजदुरहरुका लागि विशेष परिचय पत्र को ब्यवस्था गर्नु पर्दछ र उहाँ हरु आफ्नो कार्य क्षेत्र आउन जान निर्बाध रुपमा गर्न पाउने ब्यवस्था गर्नु पर्दछ 

सडकमा कृषि उपकरणहरुको आवागमनलाई सहजीकरण गर्नु पर्दछ। 

-यो बसन्त ऋतुमा आवश्यक बिउ बिजनहरुको माग अनुमान र तिनको खोजि गरि कमसेकम वडा कार्यालय बाट खरिद गर्न सक्ने ब्यवस्था गर्नु पर्दछ

यति हुँदा हुँदै पनि विशेष बालि, स्थान वा अरु कुनै कारणले व्यवसायमा नकारात्मक असर पर्नजाने कृषकहरुको पहिचान गरि उनीहरुलाई प्रत्यक्ष राहत तथा भाडा एवम् ब्याज छुट गराउन पहल गर्नु पर्दछ । 

चालु लक डाउनको अवधिमै पनि कम से कम १ अर्ब २० करोड मूल्य बराबरका ताजा तरकारी र यो भन्दा धेरै बढी दुग्ध उत्पादन बजार जान नपाएर खेर गइ सकेको छ । किसानको यो घाटा लाइ राहत मार्फत सम्बोधन गर्नु पर्दछ ।

उपभोक्ता हरुले बजारमा समान किन्दा सके सम्म नेपाली कृषि उपज नै किन्ने तत्परता देखाउनु पर्दछ ता कि कृषक हरुलाई बजार सहजता तथा आत्म सन्तुष्टि मिलोस् 

-नागरिक समाजले आफ्ना बोलि, ब्यबहार र कार्यक्रम हरु मार्फत कृषक हरुलाई प्रोत्साहित गर्ने र कृषक हरुलाई परेका समस्या खोजि खोजि तिनको समाधानका लागि बहु पक्षीय सहजीकरण गर्नु पर्दछ 

यसो भएमा हाम्रो कृषि क्षेत्र जोगिनुको साथै हामीले नियमित रुपमा स्वस्थ स्थानीय उत्पादन उपभोग गर्न पाउनेछौं । राज्यको कुल गार्हस्थ्य उत्पादन वृद्धि हुनेछ भने व्यापार घाटा कम भइ राज्य मजबुत हुनेछ। अनि हाम्रो कोरोना जस्ता विपद हरुको सामना गर्ने क्षमता केहि हद सम्म भए पनि बढ्नेछ ।

लेखक 'हसेरा एग्रिकल्चर रिसर्च एण्ड ट्रेनिंङ सेन्टर'का संचालक हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved