'बालेनको प्रतिच्छाया बनेर सयौं बालेनहरुको अबको यात्रा संसद हुनुपर्छ', नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

May 25, 2022 | 02:57:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हजारौं बालेनहरु सभागृह बाहिर आफ्ना आगामी मेयर, यसलाई यसरी भनौं पतित चेहरा माझ एउटा नव उदयमान शक्तिको पर्खाईमा रहेको देख्दा निकै रोमान्चित तुल्यायो। लाग्यो यो क्षण कहिल्यै नसकीयोस्। तर समय हो निरन्तर चलिरहन्छ।

 हिजो त्यहि सभागृह साक्षी थियो घृणितहरुको विजय उत्सवको, तर आज त्यो अमुर्त सभागृह पनि सन्तुष्ट देखिन्छ। सबै प्रफुल्लित देखिन्छन् बालेनका हरेक मतमा परेका स्वस्तिक छाप देखेर, चाहे त्यो सदर मत होस् वा बदर मत।

 हो, बदर र सदर दुवै मतको समान अधिकार छ, आशा गर्ने अधिकार। किनभने ति दुवै मत हाल्ने जनहरुले बालनेका सरल प्रतिवद्दताहरुलाई विश्वास गरेका थिए। अब क्रमिक रुपमा उनीहरु आशातित नजरले त्यसले मुर्तरुप लिएको हेर्न चाहन्छन्। यो नै उनको लागि खबरदारी हो। बहानाको गुन्जायस उनलाई छैन, खबरदारी पहिलो दिनबाट नै सुरु हुन्छ। यसको कारण जनहरु निराश छन्, ब्याकुल छन्, भयभित र व्यग्र छन्। अझै पर्खिनु पर्ने धैर्यता जनहरुसँग निमेष मात्र पनि छैन भन्दा बालेन प्रति रुखो भएको ठानिनु गलत हुन्छ। किनभने उनले हामी सबै काठमाडौँवासी भोटर तथा यहाँ बसोबास गर्ने नागरिक जो अन्य क्षेत्रका मतदाता हुन्, सबैलाई उनले आफ्नो अवधारणा तथा प्रतिवद्दताहरुमा भरोसा दिलाएका छन्। त्यसैको फलस्वरूप अन्यक्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारप्रति सबैको आकर्षण बढेको देखिन्छ।

 बालेनले आफ्नो कुरा बुझाउन सकें , भोटर रिझाउन सकें , र मतदातालाई यो मान्छेले हाम्रो नेतृत्त्व गर्छ भन्ने विश्वास दिलाउन सकें र सबैको भरोससा आर्जन गर्न सकें  ।  हो, यहि कुराको उत्सव हो यो, र यसैले उनलाई जितायो। यो उनको जित जति हो, त्यसको सयौं गुणा जित काठमाडौँका मतदाताको हो। किनभने काठमाडौँ सालिन छ, भद्र छ, सभ्य र शिष्ट छ, तटस्थ र सुसंस्कृत छ भन्ने कुरा पुन: अहिले प्रमाणित भएको छ। यस पटक काठमाडौँले बालेन मार्फत मधेशलाई पनि मौका प्रदान गरेको छ वा गर्नेछ भन्ने कुरालाई थप प्रष्ट्याएको छ।

यस अर्थमा पनि यो जित काठमाडौँको हो। काठमाडौँ धेरै कठोर छ , यसले बाहिरकालाई स्वीकार गर्दैन भन्ने भाष्य थियो। त्यो हिजोको  भाष्य अहिले आएर गलत प्रमाणित भएको छ। तथापि काठमाडौँ बाहिर रहेका पालिकाहरुमा पनि लौरो चुनाव चिन्हमा मत खसेको छ, जहाँ उक्त चुनाव चिन्हका कुनै उम्मेदवार नै छैनन्।

 यस अर्थमा यो देशका जनताहरुमा कुनै किसिमको प्रान्तीय जातीय विभेद गर्ने कुसंस्कृति छैन। यो फगत नेताहरुले लगाउने प्रयास गरेको आगो मात्र हो भन्ने कुरा पनि सुष्म रुपमा प्रमाणित भएको छ। जसरी यो जित बालेन संगै काठमाडौँको भयो त्यसै गरि हार चाही काठमाण्डौ या भनौ यहाँको मूलधारलाई आ आफ्नो नियन्त्रणमा राखिरहेको दाबि गर्ने दलहरुको हार भएको छ।

 बालेन लगायत सबै स्वतन्त्र ऊम्मेद्वारहरुले पाएका सबै मतहरु चाहे त्यो सदर होस् वा भूलवस भएका बदर मत होस्, ति सबैलाई राम्रो झापट हानेको अनुभवको भएको हुनुपर्छ,सबै दलका ठालुहरूलाई । यदि भएको छैन भने अब उप्रान्त राजनीति नगरे भयो।

काठमाडौँका जनताले परिवर्तन चाहेका छन्। उनको जितले यो प्रष्ट पारेको छ। यहाँका मतदाताहरुले दिएको मत र उनको जितलाई विश्व राजनीतिक मंचले नेपालीको प्रजातन्त्र प्रतिको विश्वासलाई अझ बलियो बनाएको छ भनेर बुझ्ने छन्। बालेनप्रतिको मतलाई समावेशी र बहुदलवादको पक्षमा खबरदारीको रुपमा लिनु पर्छ। त्यसोत सुरुवाती दिनहरुमा युवा मतदातामा बालेन प्रति ठुलो क्रेज देखिएको थियो।  तर मतदानको दिनसम्म आइपुग्दा हरेक तह र तप्काका मतदाताले भित्रि रुयमा उनलाई स्वीकारेको देखिन्छ। त्यो स्वकारोक्ति वा भनौं क्रेज एक दिनमा बनेको होइन। उनको व्यवहार, प्रस्तुति र दृष्टिकोणका आधारमा भएको हो। जसको जग विगतमा संचालित सामाजिक अभियान र सामाजिक संजालको महत्वपूर्ण भूमिका छ। यस पटकको मतदाताको रुझानले राजनीतिमा युवा हस्ताक्षेको आवश्यकता छ भन्दा गलत नभईएला ।

 चुनाव लड्न करोडौं खर्च लाग्छ। खर्च नगरी चुनाव जितिदैन। मधेशलाई काठमाण्डौले उपेक्षा गर्छ। थर विशेष र जात विशेषका उम्मेदवारलाई चुनावमा उठाउनुपर्छ। स्थापित पार्टीहरुले जसलाई चुनावमा उठाएपनि जित्छ, किन भने त्यो अमुक दलको इलाका हो। यस्ता भाष्यहरुलाई यस पटक काठमाडौँको चुनावी नतिजाले चिर्ने प्रयास गरेको छ।

 हो यस्तै कारणहरुले लौरो परिवर्तनको प्रतिक बन्यो। त्यसकारण बालेन सन्नीकट  रहेको प्रान्तीय र संसदीय निर्वाचनको लागि एउटा आशातित बिम्ब हुन्। यो लहर एउटा सोच हो। जसको सुखद सुरुवात भएको छ। पतित नेताहरुको जसरी पनि चुनाव जित्ने मान्यताबाट पिल्सिएका जनताहरुको सोचबाट एकाएक मुखरित भएको आवाज यस्तै हुन्छ। दलहरुलाई हेक्का रहोस्।

 यस पटक यो राजधानीको शहर आफ्नो आशातित उम्मेदवार मार्फत सम्पूर्ण देशलाई सामाजिक अभियान्त्रिकीकरणको दिशामा संदेश दिन चाहन्छ। सायद बालेनको जित संगै तराईको काठमाण्डौ प्रतिको गुनासो केहि हदसम्म कम गर्न ठुलो भूमिका खेलेको छ। यो जितसंगै बालेनले अब दलको छायाँ नपरेका वा दल बदलुवा विज्ञ इतरका राम्रा इमान्दार मानिसहरुको विज्ञ समुह बनाएर काम सुरु गर्नु राम्रो हुन्छ।

उनले आफ्नो कार्यकारिणी शक्तिको प्रयोग गरेर विकास, सम्पदा, सभ्यता , अर्थतन्त्र, धर्म संकृति, र कानुनका विज्ञहरुको टिम बनाउनु राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहन्छु । अब उनले तत्काल शहर सफा गर्नु छ । सुरक्षित बनाउनु छ। फुटपाथहरु हिड्न लायक बनाउनु छ । सम्पदाहरुको अतिक्रमण हटाउनु छ । ब्यापारीहरुको कब्जाबाट मन्दिरहरुलाई मुक्त गराउनु छ । अब उनले तत्कालै सुरु गर्नु पर्ने तर दुरगामी प्रभाव हुने ६ वटा कार्ययोजनामा विशेष ध्यान दिनु पर्छ। सडक तथा फुटपाथ अतिक्रमण गरेर सहरका साना व्यवसायीले उद्यम गर्नु पर्ने (बाध्यता) वातावरणको अन्त्य गर्नुपर्छ। सबै वडाहरूमा स्थापित सामुदायिक विद्यालयहरुको स्तर वृद्धि गरी उन्नत विद्यालयहरुमा रुपान्तरण गर्नुपर्छ। आकस्मिक स्वास्थ्य उपचार वडा स्थलबाट संचालित स्वास्थ्य केन्द्र मार्फत गर्ने व्यवस्था मिलाउने कुराको थालनी गर्नु पर्छ। यस नगरका सडकलाई घुलो र खाल्टो रहित बनाउने प्रयास गर्नु पर्छ। काठमाडौंमा रहेका सरकारी जग्गा र खुलाठाउँहरुलाई बालबालिका र जेष्ठ नागरिक मैत्री बनाउनुपर्छ र सबै अतिक्रमण हटाउनु पर्छ । खाने पानी, बिजुली जस्ता आधारभूत कुराको वितरण राज्यले प्रदान गरेको सुविधा अनुरुप जनसंख्याको हिसावले समान वितरणको व्यवस्था गर्नु पर्छ।

यति हुदा हुदै पनि उनलाई चुनौतीहरु नआउने होइनन् । यो अभिसम्भाव्य छ । बालेनको अगाडी आउँन सक्ने सम्भावित चुनौती भनेको कर्मचारीतन्त्र र राजनीतिक सिन्डिकेटबीच जिर्ण बनेको मानसिकता मात्र हो । त्यो मानसिकता भनेको असहयोग गर्ने कुटिल सोच हो, त्यस सोचलाई चिर्न बालेन तयार देखिन्छन् र हुनु पर्छ । उनी कमजोर कुनै पनि अर्थमा छैनन् । उनलाई जनताको साथ छ, उनी सँग शैक्षिक योग्यताको दम छ, तत् समबन्धि सीप र ज्ञान छ, प्रयोगात्मक कुराको अनुभव छ । यसपटक ति सिन्डिकेटधारीहरुको दाल गल्ने वाला छैन । यद्यपि ति कुटिलहरुले कुनै व्यवधान गर्न खोजे उनलाई जनताको ढोका सधै खुला छ ।

पुन: एकपटक बधाई तथा शुभकामना। हामी मतदाता र काठमाडौँबासीको विश्वासमा खरो उत्रिनुहोस्। हामी तपाइँको हरेक गतिविधिलाई नियालीरहेका हुने छौँ। धन्यबाद । 

(लेखक पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् । यो लेखमा उल्लेख बिषयवस्तु लेखकको नितान्त व्यक्तिगत विचार हो)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved