मोहम्मद अज्मत अलि
नेपालमा आर्थिक समृद्धिको नारा ब्यापक बनिरहेको छ। स्थानीय तहको निर्वाचनमा दलहरुद्वारा जारि घोषणापत्रमा उल्लेख बुँदाहरुले समेत नेपालको अबको आवश्यकता बिकास र आर्थिक समृद्धि नै हो भन्ने कुरालाई पुष्टि गरेको छ।
नेताहरुको भाषण देखि जनताको चुल्होसम्म, संसद देखि भर्खरै हुर्कने क्रममा रहेका स्थानीय सरकारका प्रतिनिधिहरुको व्यक्त विचारमा समेत बिकास र आर्थिक समृद्धिको कुरा मज्जैले सुन्न पाइन्छन।
नेपाल आर्थिक समृद्धिको बाटो तर्फ लम्कदै गर्दा के हामिले विश्व समुदायले अपनाएको डिजिटल प्रविधिको विकासलाई अपनाएका छौं त ? विश्व समुदायमा उदाउँदो अर्थतन्त्रको रुपमा चिनिएको एसियाका देशहरुले डिजिटल प्रविधिको क्रान्तिलाई अंगालेर आर्थिक समृद्धि हासिल गरिरहेको अवस्थामा के हामीले त्यसबाट केहि सिकेका छौं?
एसियाका उदाउँदो अर्थतन्त्रको उपमा पाएका राष्टहरुले डिजिटल क्रान्तिलाई अंगालेर शक्तिशाली राष्ट्रको रुपमा चिनिएका छन। डिजिटल क्रान्तिले एशियाली राष्ट्रहरुले गरेको उदीयमान अर्थतन्त्रहरू लागि अवरोधहरू हटाउँने काम गरिरहेको तथ्यहरु भेटिएका छन। फिलिपिन्स देखि इन्डोनेसियासम्म, बिकसित राष्ट्र देखि विकाशील राष्ट्रहरुले अर्थतन्त्रमा डिजिटल क्रान्ति मार्फत अपेक्षा गरेभन्दा धेरै राम्रो सुधार गरेका छन।
छिमेकी राष्ट्र भारत र चीन लगायतका एसियाली राष्ट्रका अर्थविद, नीति निर्माता, सरकार, व्यवसाय र उपभोक्ताहरुले बढ्दो क्रममा डिजिटल प्रविधिको प्रयोग गरेका छन। बिकास र आर्थिक समृद्धिको जोडदार आवाजको उठान गर्दै गर्दा के हाम्रो ध्यान त्यस तर्फ गएको छ ? विश्व एक परिवार जस्तै भएको अवस्थामा हामि कछुवा गतिमा विकसित डिजिटल प्रविधिको प्रयोग गरेर अवश्य पनि आर्थिक समृद्धि हासील गर्न सक्ने अवस्थामा छैनौँ।
त्यसो त स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले प्रचार प्रसारको क्रममा सोसियल मिडियाको प्रयोग अत्यधिक गरेको पाइएको छ। यसले पनि प्रविधिमा आएको क्रान्तिलाई हामि पछ्याउने क्रममा छौं भन्ने कुरा संकेत गर्छ। तर बैंकिङ तथा वित्तीय प्रणालीमा डिजिटल प्रविधिको प्रयोगमा हामि अझै पनि कछुवा गतिमा रहंदा कसरि आर्थिक समृद्धि हासिल हुन्छ ?
दैनिक १० औ लाख नेपाली रुपैयाँ फेसबुक लगायतका सोसियल मिडिया मार्फत नेपालबाट बाहिरिने गरेको छ। तर त्यसमा नेपाल राष्ट्र बैंकले ठोस नीति ल्याउन नसक्दा नेपाललाइ कुनै लाभ भएको छैन। बरु विदेश पैसा जाने क्रम बढी रहेको छ। डिजिटल प्रविधिको गतीलाई राष्ट्र बैंकले पछ्याउँन नसक्दा करोडौ रुपैयाँ नेपाल बाहिरिएको छ भने राष्ट्रले समेत राजश्व गुमाएको छ। राष्ट्र बैंकले अहिलेसम्म पेमेन्ट गेटवेको सहि नीति ल्याउन सकेको छैन भने अनलाइन मार्फत खरिद बिक्रि गर्न सुविधा हुने गरि नेपालका बैंकहरुले काम गर्न समेत सकेका छैनन्।
विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अघि बढेको छिमेकी देश भारतमा अमेरिकामा भन्दा बढी फेसबुक प्रयोगकर्ता रहेका छन। गत मार्च देखि डिसेम्बरसम्म भारतमा फेसबुक प्रयोगकर्ताको संख्या ५९ प्रतिशतले बढेको ब्लुमबर्गमा उल्लेख छ। त्यस्तै इन्डोनेसियामामा समेत प्रविधिको प्रयोग बढ्ने क्रममा रहेको छ। प्रति व्यक्ति १ दशमलब ३ का दरले त्यहाँका मानिसहरुले मोबाइल फोन प्रयोग गर्ने गर्दछन। उनीहरु मोबाइल फोनको प्रयोग मार्फतनै सम्पूर्ण कारोबार, बिलिंग पद्दति, खरिद बिक्रि कार्य, सरकारी सेवा लिने गरेका छन। इन्डोनेसियामा समेत बेलायतमा भन्दा बढी ट्वीटर प्रयोगकर्ता रहेको तथ्य छ।
विश्व अर्थतन्त्रको केन्द्रबिन्दुको रुपमा उदाएको एसियामा अवस्थित नेपालले समेत समयमै डिजिटल प्रविधिलाई अंगाल्न सकेन भने आर्थिक समृद्धि नारामा सिमित हुने निश्चित छ। एसियाका राष्ट्रहरुले विश्व अर्थतन्त्रमा नेतृत्त्व गर्नुको प्रमुख कारम नै डिजिटल प्रविधिलाई अगाल्नु रहेको बुझिएको छ। आगामी दिनमा डिजिटल प्रविधिलाइ प्रयोग गरि एसियाका राष्ट्रहरुले उच्च आर्थिक वृद्धि दर हासिल गर्ने आंकलन समेत गरिएको छ।
शक्तिशाली राष्ट्रको रुपमा उदाएको छिमेकी मुलुक चाइना विश्वकै ठुलो ई कमर्शको बजारको रुपमा अघि आएको छ। सिंगापुर र अरु एसियन मुलुकहरुले यसको भरपुर फाइदा लिएका छन। तर नेपाल भने छिमेकी भारत रिसाउने पो हो कि भन्ने डरले अन्य देशले उठाउँदै आएको उक्त फाइदा लिनबाट बन्चित रहेको छ। अनि कसरि हुन्छ आर्थिक सम्र्द्धि ?
अल्प बिकसित तथा विकास हुने क्रममा रहेका नेपाल जस्ता मुलुकहरुका लागि डिजिटल प्रविधिको प्रयोग अर्थतन्त्रलाई मजबुत बनाउने गतिलो आधार बन्न सक्छ। दुई उदाउँदा राष्ट्र भारत र चाइनासंगको सन्तुलित सम्बन्ध कायम गरि डिजिटल प्रविधिलाई अंगाल्ने हो भने नेपालले नसोचेको उपलब्धि हासिल गर्न सक्छ। तर यसका लागि हाम्रा अर्थविद, नीति निर्माता, सरकार र उपभोक्ताहरुलाई डिजिटल प्रविधिको ज्ञान, यसको लाभ र उपयोगको बारे जानकारी हुन अति आवश्यक छ। अन्य अल्प बिकसित मूलुकका १० मा १ व्यवसायले आफुलाई उत्कृष्ट डिजिटल प्रविधिको प्रयोग गरेको ब्याख्या गर्ने गर्दछन। तर हामि अझै पनि यसलाई एकादेशको कथा सम्झेर अझै पनि यसको प्रयोग गर्ने बेला नभएको भन्दै गरेको अवस्था छ।
छिमेकी मुलुक भारत, चाइना र फिलिपिन्स, इन्डोनेसिया लगायतका एसियाली राष्ट्रहरुमा अहिले पनि केहि र थोरै बैंकहरुले डिजिटल प्रविधिलाई अंगालेको देखिएको छ। यस अभाबलाई नेपालले सदुपयोग गर्न सक्ने हो भनेपनि ठुलो रकम नेपाल भित्रिन टेवा पुग्ने छ। र दुई ठुला राष्ट्र (चीन र भारत) का लागि केन्द्र बिन्दु बन्न सक्छ।
अन्तमा, एसियाली अन्य राष्ट्रले डिजिटल प्रविधिलाई अंगालेर हासिल गरेको आर्थिक समृद्धिलाई पछ्याउनुको अर्को बिकल्प नेपालसंग छैन। यसका लागि नेपालको शिक्षा नीति त्यहि अनुरुपको बनाउन सक्नु पर्छ। अन्त्यथा एक बटन थिचेर हुने काम सम्पन्न गर्न लागि घन्टौं लाइनमा बस्ने शिक्षित व्यक्तिहरुबाट आर्थिक समृद्धिको सपना पुरा हुने छैन।