नेपाली मिडियाले अझै बाटो देखाउन सकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 08:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पवन गोल्यान

सामान्यतया न्यूनतम आवश्यकता परिपूर्ति हुनु अर्थात बाँच्नलाई चाहिने आधारभूत आवश्यकता पूरा हुनुलाई समृद्धि भनेर अर्थ लगाईए पनि समृद्धि भनेको मूलतः अनुभूति हो भन्ने गरिन्छ । तर, मलाई लाग्छ, भूगोल भूमि र जनसंख्याको उचित सदुपयोगबाट हुने दिगो विकास नै समृद्धि हो ।

नेपालको सन्दर्भमा नेपाली भूगोल र भूमि सुहाउँदो दिगो विकास नै समृद्धि हो । समृद्धिका आधार धेरै हुन सक्छन् तर अहिले हामीसँग कृषि, उर्जा, पर्यटनजस्ता क्षेत्र हाम्रा समृद्धिका आधार हुन् । यिनीहरूको उपयोग र उपभोग नेपाली माटो सुहाउँदो बनाउन सकियो भने समग्र नेपाली जनताले समृद्धि महसुस गर्नसक्ने आधार बन्थ्यो । विडम्बना नेपाल सरकारले कहिल्यै पनि नेपाली माटो सुहाउँदो विकासको मोडल तय गर्न सकेन । सरकारको नीति नै नेपाली माटो सुहाउँदो हुन नसकेकाले नेपालको निजी क्षेत्र पनि नेपाललाई समृद्ध बनाउनेतर्फ अघि बढ्न सकेन । तलका केही तथ्यले त्यसलाई पुष्टि गर्छ ।

अर्थतन्त्रमा विगत र वर्तमान

कुनैबेला हाम्रो निर्यातको हिस्सा ५० प्रतिशत हुन्थ्यो र हामीले नेपालमा उत्पादन भएका दाल, चामल, जुटजस्ता कृषिजन्य उत्पादन हामीलाई पुगिसरी भएर छिमेकी राष्ट्र लगायतका देशमा निर्यातसमेत गथ्र्याैं । यहाँबाट कृषिजन्य उत्पादन निर्यात हुँदा हाम्रो व्यापार घाटा सन्तुलनमा थियो र हाम्रो बजेटको आम्दानीको स्रोत पनि यहीँको उत्पादनमा आधारित राजश्व थियो । तर, अहिले त्यो इतिहास बनेको छ ।

जब हामी खाडीमा जान थाल्यौँ तब हाम्रो आम्दानी बढ्दै गयो र हामी विदेशमा उत्पादन भएका सामानमा निर्भर हुन थाल्यौँ । विदेशबाट सामान आउँदा हाम्रो राजश्व पनि बढ्दै गयो र हामीले आयातमा निर्भर राजश्वमा निर्भरता बढाउँदै लग्यौँ । जसको नतिजा हाम्रो अगाडि छ । अहिले आयातमुखी राजश्वको विकल्पबारे हामी सोच्न पनि नसक्ने अवस्थामा पुगिसकेका छौँ ।

४५ प्रतिशत जङ्गलले ओगटेको देश हो नेपाल तर यहाँ अहिले वार्षिक १ खर्बको फर्निचर आयात गर्छौँ । ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको कृषि प्रधान देश भन्छौँ तर वार्षिक अर्बौँको कृषिजन्य वस्तु आयात गर्छौं । विश्वकै दोस्रो ठूलो जलविद्युत क्षमता भएको देशमा छौँ तर अहिले पनि हिउँदमा भारतको बिजुलीमा निर्भर छौँ । पशुपति, लुम्बिनी, जानकी मन्दिर, स्वयम्भू गुम्बा, दोलखा महादेवजस्ता धार्मिक धरोहरले सम्पन्न मुलुक हौँ हामी तर विडम्बना हामीले यसको एक प्रतिशत पनि उपयोग गर्न सकेका छैनौँ । सयौँ मातृभाषा बोलिने र पुराना संस्कृतिसँग साइनो भएको देश हो नेपाल तर कहाँ हो कहाँ हराएका छौँ हामी ।

वर्षमा ६ वटा मौसमी सिजन भएको मुलुक हो नेपाल तर मौसमी परिवर्तनको लाभ उठाउन सोच्न पनि नसक्ने अवस्थामा छौँ । विश्वका ठूलाठूला हिमालय पर्वत, उचाईका च्याङग्रा, यहाँ उत्पादन हुने कपास, कटन, अल्लोजस्ता कयौँ विशेषता बोकेको देश हो नेपाल तर आफ्नै सुगन्ध थाहा नभएको मृगजस्तै भएका छौँ हामी नेपाली ।

माटो सुहाउँदो भएन विकास मोडल 

नेपाली माटो सुहाउँदो विकासको मोडल नेपालका सरकारले तयार गरिदिएको भए नेपालका निजी क्षेत्रपनि यिनै उपलब्ध स्रोतहरूको अधिकतम प्रयोग गरेर व्यवसाय गरिरहेका हुन्थे । जुन दिगो पनि हुन्थ्यो र व्यवसायीका लागि माटो सुहाउँदो व्यवसाय पनि बन्थ्यो । सरकारले माटो सुहाउँदो विकास मोडल अख्तियार गर्न नसक्दा निजी क्षेत्र पनि छिट्टो र सानो मिहिनेतले नाफा कमाउने आयातमुखी व्यापारमा लाग्न बाध्य भयो । जसले गर्दा हामी दिगो विकासको मोडलमार्फत समृद्ध नेपाल बनाउन सक्ने अवसरबाट धेरै टाढा धकेलिइसकेका छौँ ।

नेपालको शासन पद्दति जतिजति जनतामैत्री र स्वतन्त्र बनाउँदै गयौँ त्यतित्यति हामी हाम्रो स्रोत साधनको प्रयोग गर्नबाट टाढा हुँदै गयौँ । जसले गर्दा अहिले आएर आयातमुखी राजश्वमा निर्भर अर्थतन्त्र भएको देश बन्न पुग्यौँ । जहाँनिया राणा शासनदेखि विभिन्न कालखण्डमा विभिन्न शासन व्यवस्थालाई फाल्दै यहाँसम्म आइपुग्दा हामी अहिले गणतन्त्र नेपालको अवस्थामा पुग्यौँ । हाम्रा विकासका मोडल भने शासन पद्दति जस्तै बढी स्वतन्त्र भए । जसले गर्दा वास्तविक विकासको मोडल के हो ? भन्ने कुराबाट नै हामी वञ्चित हुन पुग्यौँ । हामीले जहाँनिया राणा शासन हुँदै बहुदलीय व्यवस्था र प्रजातन्त्र हुँदै गणतन्त्र रोज्यौँ । जनताको खुसी र स्वतन्त्रताका लागि भनेर पटकपटक शासन व्यवस्था बदल्यौँ तर देशको अवस्थालाई माटो र यहाँको जनसंख्या सुहाउँदो बनाउन कहिल्यै सकेनौँ ।

त्यसो त नेपालको माटो सुहाँदो दिगो विकासको मोडलमा विकासका काम गर्ने प्रयास नभएका होइनन् तर राजनीतिक दलबीच रहेको अस्वस्थ प्रतिस्पर्धाले गर्दा सही कामले पनि निरन्तरता पाउन सकेन । राजा महेन्द्रपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, केपी शर्मा ओलीको पालामा माटो सुहाउँदो विकासको खाका कोर्ने प्रयास नभएको होइन । ती विकासका खाकाप्रति राजनीति दल इमान्दार नभइदिँदा दिगो विकास सुहाउँदो विकासका मोडलले निरन्तरता पाउन सकेन ।

मिडिया चुकेको ठाउँ

नेपालका राजनीतिक दल, यहाँको स्थायी सरकार अर्थात कर्मचारीतन्त्रले दिगो विकासका खाका कोर्न नसक्दा निजी क्षेत्रपनि नाफा केन्द्रित आयातमुखी व्यवसायमा पुगेको अवस्थालाई समाजको ऐनाको रूपमा चित्रण गरिएको सञ्चारमाध्यमले पनि चित्रण गर्न सकेन । नेपालका सञ्चारमाध्यम विगतमा व्यवस्था परिवर्तनको लडाईंमा लाग्न बाध्य भए भने अहिले प्रतिस्पर्धाको लडाईंमा टिक्ने संघर्षमा छ । जसले गर्दा सञ्चारमाध्यमले वास्तविक अवस्थाको अध्ययन, अनुसन्धान गरी यसको वास्तविक चित्र बाहिर ल्याएर समाज र देशलाई नेपालको माटो सुहाउँदो विकासको मोडल बनाउने दिशामा राजनीतिक दल अघि बढेको छैन वा बढ्न सकेन भनेर चेतनासमेत दिन सकेन ।

मिडिया चुकेको ठाउँ नेपालका राजनीतिक दल, यहाँको स्थायी सरकार अर्थात कर्मचारीतन्त्रले दिगो विकासका खाका कोर्न नसक्दा निजी क्षेत्रपनि नाफा केन्द्रित आयातमुखी व्यवसायमा पुगेको अवस्थालाई समाजको ऐनाको रूपमा चित्रण गरिएको सञ्चारमाध्यमले पनि चित्रण गर्न सकेन । नेपालका सञ्चारमाध्यम विगतमा व्यवस्था परिवर्तनको लडाईंमा लाग्न बाध्य भए भने अहिले प्रतिस्पर्धाको लडाईंमा टिक्ने संघर्षमा छ । जसले गर्दा सञ्चारमाध्यमले वास्तविक अवस्थाको अध्ययन, अनुसन्धान गरी यसको वास्तविक चित्र बाहिर ल्याएर समाज र देशलाई नेपालको माटो सुहाउँदो विकासको मोडल बनाउने दिशामा राजनीतिक दल अघि बढेको छैन वा बढ्न सकेन भनेर चेतनासमेत दिन सकेन ।

सबै क्षेत्र दिगो विकासको मोडलमा अगाडि बढ्न नसक्दा सञ्चारमाध्यमले त्यसको वास्तविक अवस्था जनतामाझ ल्याउन सकेका भए सम्भवतः नेपालको परिस्थिति अहिलेभन्दा केही बढी सकारात्मक हुन्थ्यो जस्तो लाग्छ ।

यति हुँदाहुँदै पनि विगतमा व्यवस्था परिवर्तन र राजनीति केन्द्रितसञ्चारमाध्यम पछिल्लो समय विकास र व्यवसाय केन्द्रित हुन सकेको पाइन्छ । त्यसमा पनि पछिल्लो समय आर्थिक मिडियाको संख्या बढ्दै जाँदा विकास र व्यवसाय केन्द्रित अर्थात निजी क्षेत्रमैत्री सूचनाहरू सम्प्रेषण हुन थालेका छन् तर यो अझै पर्याप्त छैन ।

सञ्चारमाध्यमले अझैपनि निजी क्षेत्र र सरकार एक सिक्काका दुई पाटा हुन्, विकासको रचयिता सरकार हो भने ड्राइभर निजी क्षेत्र हो भन्ने कुरा पत्तो पाइनसकेको महसुस हुन्छ । त्यसैले नेपालका सञ्चारमाध्यम त्यसमा पनि आर्थिक क्षेत्रमा केन्द्रित मिडियामा काम गर्ने पत्रकार र यस्ता मिडिया सञ्चालकले दिगो विकासको स्पष्ट भिजन लिएको हुनुपर्छ जस्तो लाग्छ ।

सञ्चारमाध्यम नै समृद्ध नेपाल बनाउने अभियानमा सामेल भएको अवस्थामा सरकार पनि दिगो विकास केन्द्रित विकासका मोडल बनाउन बाध्य हुनेछ भने त्यही मोडललाई पछ्याएर निजी क्षेत्रपनि समृद्ध नेपालको अभियानमा स्वतः सामेल हुनेछन । त्यसैले सञ्चारमाध्यम त्यसमा पनि आर्थिक मुद्दामा केन्द्रित सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएकाले मिडियासक्षम र सबल हुनुपर्छ भन्ने मलाई लाग्छ ।

विधागत पत्रकारिताले आर्थिक मुद्दा बलियो

सञ्चारमाध्यम पनि पछिल्लो समय विधागत बनेका छन् । यसरी विधागत रूपमा विकास हुनु भनेको समृद्ध नेपालको खाका कोर्न क्षेत्रगत रूपमा केन्द्रित हुनु हो, जुन सकारात्मक पनि हो । क्षेत्रगत रूपमा मिडिया केन्द्रित हुँदा विषयवस्तुबारे बुझाई गहन हुने, त्यसले समाजमा सही र तथ्यपरक सन्देश जानेमा विश्वस्त हुन सकिन्छ ।

जस्तो पछिल्लो समय बिस्तार हुँदै गरेको आर्थिक मुद्दामा केन्द्रित पत्रकारिता त्यसैको बलियो उदाहरण हो । आर्थिक पत्रकारिता फस्टाउँदै गर्दा आर्थिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुले पनि प्राथमिकता पाउने गरेका छन् । यसले राज्यलाई निजी क्षेत्रमैत्री नीति निर्माणमा पनि सहयोग पुगेको छ ।

बिजपाटीको अलग्गै पहिचान

आर्थिक पत्रकारिताको क्षेत्रमा विगत ७ वर्षदेखि कलम चलाउँदै आएको बिजपाटी डटकम पनि आर्थिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई प्राथमिकता दिने सञ्चारमाध्यम भएकाले समाजमा विशेषगरी काम गरेर खानेहरूको क्षेत्रमा यसले छुट्टै र अलग्गै पहिचान बनाएको छ ।

पछिल्लो समय निजी क्षेत्रमैत्री नीतिगत विषयमा पनि बढी समाचार आएको पाइएकाले दिगो विकासका मोडलमा सरकार र निजी क्षेत्रलाई एक ठाउँमा ल्याउन सक्नेगरी रिपोर्टिङ गर्नमा सक्षम र सबल हुनेछ भन्नेमा विश्वस्त छु ।

(नेपाली माटो सुहाउँदो दिगो विकाससँग जोडिएर उद्योग, व्यवसाय गरिरहेको समूह गोल्यान ग्रुपका अध्यक्ष हुन् पवन गोल्यान । नेपालको कुल निर्यात र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गोल्यान ग्रुप उर्जा, कृषि, होटेल, धागो, बैंक वित्त, बीमालगायतका क्षेत्रमा लगानी गरेको छ । नेपाली माटो सुहाउँदो नीति निर्माणमा जोड दिनलाई यसको प्रवद्र्धन तथा प्रचारप्रसार गरिरहेका गोल्यान आफैले पछिल्लो समय माटो ब्राण्डका कृषिजन्य उत्पादन स्वदेश तथा विदेशमा चिनाउन र व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । नीति निर्माण नै पहिलो पूर्वाधार हो भन्ने बुझाई राख्ने उनले एनएमबी बैंकको अध्यक्षको भूमिका निर्वाह गर्दै बैंक तथा वित्तीय संस्थाका अध्यक्षको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) लाई समेत नेतृत्व गरिरहेका छन् ।)

यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved