समृद्ध नेपाल बनाउन गरगहनाको ठूलो महत्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2023 | 10:24:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मणिकरत्न शाक्य

‘समृद्ध’ नेपाल हामी सबै नेपालीको हक र चाहना हो । राजनीतिक परिवर्तनसँगै देशमा आर्थिक विकास होला, आम जनताले सुख र समृद्धिको अनुभुति गर्न पाउलान् भन्ने सबैको अपेक्षा हो ।

सबै राजनीतिक पार्टीहरूले पनि जनताको चाहनालाई ध्यानमा राखी आ–आफ्ना कार्यक्रमहरू बनाइरहेका छन् । यसलाई हामीले अत्यन्त सकारात्मक रूपमा हेरेका छौँ । समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न देशमा आर्थिक गतिविधि बढाउनुपर्दछ । विदेशी विनिमयको सञ्चिति क्रमशः घट्नेक्रममा हुँदा नेपालको अर्थतन्त्रमा सङ्कुचन आइरहेको छ ।

यस सन्दर्भमा अन्य उपभोग्य वस्तु आयात गर्ने रकमको जोहो गर्न कठिनाई परिरहेको छ । गरगहना मात्र यस्तो उत्पादन हो जुन तुलनात्मक लाभ भएको नेपाली कला, सीप र डिजाइनमा बन्ने गर्दछ र संसारभरि छरिएर रहेका नेपालीहरूले माग गरिरहेका छन् । त्यसैले नेपालको व्यापार घाटा घटाउन सुनचाँदीका गरगहना बनाई विश्व बजारमा निर्यात गर्ने हो भने यसले Low volume, high value product का रूपमा देशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गर्न सक्नेछ ।

सरकारसँग यसका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघले पहल गरिरहेको छ । रोजगारी अभिवृद्धि, लगानी र उचित प्रतिफलका साथ व्यवसाय वृद्धि, सरकारको राजश्वमा वृद्धि र अर्थतन्त्रको विकासमा प्रत्यक्ष योगदान यस क्षेत्रले दिन सक्नेछ ।

महासङ्घले नेपालको आर्थिक समृद्धिका लागि संभावनाका ढोका पहिचान गरी बाटो सुझाइदिएको छ । यसमा नेपाली सञ्चारमाध्यममार्फत अत्यन्त सकारात्मक भूमिका निर्वाह भएको छ । राजनीतिक समाचारले प्राथमिकता पाउने समयलाई चिरेर आर्थिक सामाजिक समाचारलाई प्राथमिकतामा राख्दै अहिले समाचार सम्प्रेषण भइरहेको छ । यसले कालान्तरमा आर्थिक सूचनाहरूमा पहुँच र जनमानसको चेतना अभिवृद्धि गरी समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न अवश्य मद्दत गर्नेछ ।

राष्ट्रको चौथो अङ्ग सञ्चारमाध्यमको प्रयोग र सहयोगबिना समृद्ध नेपालको सपना साकार हुनै सक्दैन । सुनचाँदीको क्षेत्रबाट देशको अर्थतन्त्रको विकासका लागि गर्नुपर्ने विभिन्न कार्यक्रम, नीति निर्माण तथा व्यवस्थापनका काम आम उपभोक्ता र सरोकारवाला निकाय समक्ष पु¥याउन सञ्चारमाध्यमको भुमिका निर्विकल्प रहेको छ । यसमा अहिले व्यवसायिक पत्रकारिता गर्ने र अनलाइन सञ्चारमाध्यमहरूको भूमिका अझै बढी प्रभावकारी रहेको छ ।

सुनचाँदीको व्यवसाय परम्परागत रूपमा सञ्चालन भईआएको छ । यस यवसायलाई आधुनिक, वैज्ञानिक, मर्यादित र प्रतिष्ठित बनाउन नीति नियमहरू, व्यवसाय गर्ने वातवरण, दक्ष जनशक्ति, पर्याप्त कच्चा पदार्थ र व्यावसायिक अधिकारहरूको आवश्यकता छ । यो कुरा सञ्चारमाध्यमहरूले सम्बन्धित सरकारी निकायहरू, आम–उपभोक्ताहरू, संभावित रोजगार पाउने युवा पुस्ता समक्ष सटिक, सन्देशमूलक रूपमा पु¥याइदिए देशको आर्थिक समृद्धिमा प्रत्यक्ष सहयोग पु¥याउने आशा छ ।

अहिले आर्थिक पत्रकारिता पनि एउटा उदाउँदो क्षेत्रका रूपमा अगाडि आएको छ । राजनीतिक एजेण्डाका साथसाथै देशको आर्थिक समृद्धिका लागि आर्थिक एजेण्डा पनि उत्तिकै महŒवपूर्ण छन् । अहिले निकै युवा,होनहार र जुझारु नयाँ पुस्ताको प्रवेश पत्रकारितामा भएको छ । यसबाट समग्र सुनचाँदीको मूल्य, ट्रेड, आर्थिक कारोबार र ट्रेनिङ्गलगायतका गतिविधि समेटेर विभिन्न सामग्रीहरू प्रकाशन भइरहँदा यसले निकै सकारात्मक भूमिका निर्वाह गरेको छ ।

यस सन्दर्भमा समग्र नेपालको आर्थिक गतिविधिहरू समेटेर समाचार सम्प्रेषण गरिरहेको बिजपाटी डटकम अझै बढी प्रभावकारी रहेको छ । यसको सशक्त पक्ष भनेको आजको खबर आजै पढ्न पाउनु हो ।

अहिलेको डिजिट ल युगमा हातहातमा क्षणभरमै विभिन्न घटना परिघटना पुग्नु निकै आधुनिक र प्रविधियुक्त छ । सुनचाँदीको दरभाउ, डिजाइनको ट्रेड, दरभाउको उतार चढावजस्ता आम सरोकारका सूचनाहरू यसमा ताजाका ताजा पाउने हुँदा अनलाइनको लोकप्रियता बढ्दै छ र यसले निकै सकारात्मक भूमिका निभाइरहेको छ ।

समृद्ध नेपालको कल्पना धनको सञ्चयबिना हुन सक्दैन । धन राष्ट्रको हुन सक्छ, व्यक्तिको हुनसक्छ, समाजको हुनसक्छ । जब हामी धनको कुरा गर्छौँ, सुनचाँदी नभई वास्तवमा धनको कल्पना गर्नै सकिँदैन । हामीले कमाउने सम्पत्ति, तलब पैसा सबै नोटमा हुन्छ । नोट भनेको कागजी सम्पत्ति हो । नेपाली नोट नेपालको सीमानाभित्र मात्र चल्छ र विदेशमा चल्दैन । विदेशमा पनि जुन देश हो सोही देशमा मात्रै उक्त देशको मुद्रा चल्दछ । तर, सुनचाँदी यस्तो सम्पत्ति हो जुन जुनसुकै देशमा गएपनि चल्छ र सोही देशको मुद्रामा भुक्तानी पाइन्छ । त्यसैले समृद्ध नेपाल बनाउन, धनी हुन सुनचाँदी गरगहनाको ठूलो महत्व छ । यस क्षेत्रको विकास र विस्तार गर्न नेपाल सुनचाँदी व्यवसायी महासङ्घ निरन्तर कार्यरत रही आएको छ । 

मणिकरत्न शाक्य नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष हुन् । यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved