सार्वजनिक र निजी क्षेत्र मात्र अर्थतन्त्रको खम्बा हो, सहकारी निजी क्षेत्रको एक पाटो मात्र

नीरव पुडासैनी

नीरव पुडासैनी

Jan 08, 2024 | 02:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सीप, ज्ञान र पुँजी अनि पहुँचकोे अभाव भएका कृषकहरु र अन्य विपन्न जनताको उत्थानका लागि अगाडी बढाईएका सहकारीहरुको मूख्य उद्देश्य ति जनतालाई आत्मनिर्भर गराउनु हो। तर, गरिवको जीवनस्तर उकास्नका लागि सहकारी आवश्यक छ भनेर तर्क गरिरहँदा जुन रुपमा बचत तथा ऋणमा मात्र सीमित रहेर धेरै संस्थाहरु सहर केन्द्रित हुन थाले, त्यसको विरोध हुनु स्वभाविक थियो।

राज्यले उपलब्ध गराएको सुविधा उपभोग गरि सहकारिताको मर्मलाई बिर्सिएर बैंक तथा वित्तीय संस्थाहरु सरह ब्याज उठाउन पल्किएका यस्ता सहकारीहरु लाई अर्थतन्त्रको खम्बा मान्नुको औचित्य छैन। तर नेपालमा सहकारी भन्ने वित्तिकै समूहमा रकम संकलन गरेर सानो पुँजी निर्माण गरी आत्मनिर्भर हुने कृषि व्यवसाय गर्ने संस्था होइन कि पहुँच हुनेहरुको आवश्यकता पुर्ति गर्ने बचत तथा ऋण सहकारीहरुलाई बुझियो। सहर बजारका सटरैपिच्छे खोलिएका बचत तथा ऋण सहकारीहरुले गरिब र विपन्नभन्दा पनि पहुँचवाला आफ्ना सदस्यको नै भलो गरिरहेको पाइन्छ। अहिले सहकारी क्षेत्रमा विक्रिति ने यहीँबाट सुरु भयो। पहुँचवालाहरुले सहकारी ढुकुटी खेल्न रकम जुटाइ दिने वा घरको तल्ला थप्न सहयोग पुर्‍याउने साधन बन्यो। राज्यले दिएको छुट र सुविधाहरु प्रयोग गरि निमूखा जनताको भन्दा पनि पहुँचवालाहरुलाई छोटो समयमा झन् धनी बनाउने सहकारीलाई अर्थतन्त्रको खम्बा रुपमा चित्रित गर्नु गलत हो।

वास्तवमा सहकारीलाई अर्थतन्त्रको एक महत्वपूर्ण खम्बाका रुपमा चित्रित गर्नु भनेको  नेपाललाई सधैं अति कम विकशित राष्ट्रहरुको सूचीमा राख्नु हो, जुन गलत हो। सहकारीबाट दैनिक गर्जो त टर्छ, तर यसबाट देश विकास गर्ने पुँजी जुट्न सक्दैन। सहकारीले सहकार्यको भावना दिन्छ तर ठूलो पुँजी यसबाट निर्माण हुन सक्दैन। देशको आर्थिक तथा समग्र विकासका लागि सार्वजनिक र निजी क्षेत्र नै चाहिन्छ।  सहकारीको अवधारण गरिव मूलूकहरुको लागि हो, त्यसैले यो अपरिहार्य छ भनेर अर्थतन्त्रको दरिलो खम्बाका रुपमा चित्रित गर्न सकिँदैन। 

 सहकारी गरिव राष्ट्रमा मात्र छैनन्, सम्पन्न देशहरुमा सहकारीमार्फत धेरै कामहरु भइरहेका छन्। चाहे त्यो धेरै बर्ष अगाडि बेलायतमा खोलिएको  वाईन सोसाईटी (Wine Society Cooperation) होस् वा दुई चार बर्ष अगाडि मात्र खोलिएको बाथफोर्ड इन्टरप्राईजेज (Bathford Enterprise Cooperative)  नै किन नहोस्। यिनिहरुले समुदायको आर्थिक विकासमा टेवा दिइरहेका छन्। 

चूरो कूरो भनेको सहकारीहरुको मूख्य उद्देश्य ब्याजको स्याज कमाउनु कदापि होइन, जून नेपालमा भइरहेको छ। विशुद्धरुपमा यस्ता सहकारीहरुले आफ्ना सदस्यहरुको विभिन्न वस्तुहरु जस्तै कृषि पैदावार वा त्यसबाट बनेको खाद्म तथा गैर खाद्म बस्तुको सामूहिक विकास र त्यसको बजारीकरण गर्न मद्दत गर्छन्। यस्ता गतिविधि सहकारीको जन्म भएका देशहरु बेलायत, अमेरिका लगायत अन्य युरोपियन देशहरुमा पनि आजसम्म प्रचलित छ। 

 सहकार्यको मान्यताबाट विकास भएको सहकारीहरुको महत्वका वारे धेरै चर्चा गर्नु आवश्यक छैन। तर हाम्रो सन्दर्भमा यही सहकार्यको मान्यता फगत बचत तथा ऋणमा मात्रै सीमित हुँदै जानु दुर्भाग्यपूर्ण हो। यसो भनिरहँदा  सहकारीको औचित्य समाप्ति भएको पक्कै होइन। यदि यसको उद्देश्य अनुरुप कार्य गर्न सकियो भने अझै पनि धेरै ठूलो योगदान दिन सक्छ। 

 सहकारीको अवधारणा अनुरुप किसानले उत्पादन गरेका उत्कृष्ट नगदे बालीहरुको बजारीकरण र त्यसको आधुनिकीकरणमा गर्न सके यो एक कोषे ढुङ्गा नै साबित हुन्छ। जसरी अहिले किसानहरु आफ्नो उत्पादनको कम मूल्य लिन बाध्य छन् वा बाध्य पारिएका छन्।  उनीहरुसँग न त उचित भण्डारको व्यवस्था छ, न त बजारीकरणको पहुँच र उपाय नै। त्यसकारण सहकारीको मर्म अनुरुप यसको प्रयोग गर्न सके कृषक अनि कृषि उत्पादनकोे उचित मूल्य पाउन सकिन्थ्यो। 

 निजी क्षेत्र  जो अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा हो, त्यसले नाफामूखि हुन खोज्नु असान्दर्भिक होइन। तर छोटो समयमा प्रतिफल दिने व्यापारमा नै सीमित रहनु चाँही अर्थतन्त्रको लागि उत्पादनशील हुँदैन। निजी क्षेत्रले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै रोजगारी पनि श्रृजना गर्न सक्नुपर्छ अनि मात्र यो क्षेत्र देशको महत्वपूर्ण खम्बाको रुपमा आफै साबित हुन्छ।

हाम्रो निजी क्षेत्र राज्यको सुविधा र छुटको प्रयोग गरेर नाफा आर्जन गर्न बढी सचेत देखिन्छ। हाम्रो निजी क्षेत्र राज्यका कानुन तथा नीति नियममा भएका लुपहोलहरुको फाइदा उठाउन वढी समय खर्च गर्छ, नकी उत्पादन बढाउनका लागि। 

निसन्देह व्यापार व्यवसाय र स्वयं व्यापारीहरु अर्थतन्त्रको महत्वपूर्ण खम्बा हुन् तर त्यही अनुरुप अर्थतन्त्रलाई गतिलो टेवा दिनसक्ने उद्योगको सुरुवात गर्न नसक्नु हाम्रो निजी क्षेत्रको सबैभन्दा ठूलो कमजोरी हो। 

लेखक अर्थतन्त्रका जानकार हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved