दुई सय अरब आकाशगङ्गाहरुले बनेको यस ब्रह्माण्ड, जसको प्रत्येक आकाशगङ्गाहरुमा लगभग दुई सय अरब ताराहरू छन्। यति विशाल ब्रह्माण्डमा हाम्रो ग्रह कति सानो छ यसैबाट हामी अनुमान लगाउन सक्छौं । जसको सुरुवात तेह्र अरब बर्ष अगाडीबाट सुरु भयो र हाम्रो ग्रह पृथ्वी जम्मा चार अरब बर्ष अगाडीमात्र बन्न सक्यो।
हामी यति विशाल तारामण्डलहरुबीच आफूलाई महान ठान्छौं। त्यसो ठानिनु गलत होइन किनभने ब्रम्हाण्डको विशालताको साक्षी हामीहरू छौं। फगत हाम्रो अस्तित्व तिन अरब बर्षदेखि एक कोशिका जीवको रुपमा विकसित हुँदै आजको होमोसेपियनको रुपमा नआएको भए त्यो विशाल ब्रह्माण्डको सुन्दरतालाई कसले महत्व दिन्थ्यो? यसअर्थ हाम्रो पृथ्वी यो विशाल ब्रह्माण्डको सानोभन्दा सानो अंश भएता पनि यसको र यहाँ बस्ने मानव जातिको महत्व उल्लेखनिय छ। यस विशाल अस्तित्वको खोजको पहिलो कडी भनेको नै तार्किकता हो । तसर्थ हामीले हाम्रो तार्किकताको स्वभावलाई प्रस्फुटन हुने मौका सदा सर्वदा दिनु पर्छ।
छद्म विज्ञानको आडमा तार्किकतालाई नष्ट गर्ने प्रयासहरू समाजमा सदा भहिरहेको देखिन्छ। चाहे त्यो पूर्वकालका संघ वा मतले पृथ्वीलाई बिचमा राखेर सूर्यलाई वरीपरी घुमाएको थियो। अथवा आजको छद्मभेषी ज्ञानीहरुले पानीमा स्मृति हुन्छ भनेर विज्ञानका शब्दहरु सापटी लिएर वकलिरहेका छन् । र बेचीरहेका छन्, तिनका अर्थहिन आदर्श, आशा र डर। हो त्यही डर ठूलो तगारो हुन्छ तार्किकताको मार्गमा । यसले अरूकेही माग्दैन, माग्छ 'त केवल सोच्न, विचार गर्न अनि मात्र विश्वास गर्न । तर हामी केवल आस्थामा अडिरहेका छौं। हामी बिना सोच र प्रमाण विश्वास मात्र मात्र गरीरहेका हुन्छौ,जसको धरातल निकै कमजोर हुन्छ। यो टुटेको दिन हामीलाई धरै दुख लाग्छ। तर धेरै समय (सायद केही सय बर्ष) देखिका यस्ता अभ्यासहरूले हामीलाई (मानव जगतलाई) कसीलो गरी बाँधेको छ भन्दा अन्यथा नहोला। तर मानव इतिहासमा यस्ता वन्धनहरूलाई खुकुलो गर्दै विकास र आविष्कारको 'मार्गमा मानव नलागेको भए के आजको वैभव, प्रगति (भौतिक र तार्कि) सम्भव थियो ? सोचौं प्रश्न गरौं। तर विश्व मानव तार्किक नभएको होइन, आज पनि उ सतप्रतिशत तार्किक छ। आफ्नो छोडेर अरुको विषयमा संकारमा, व्यवहारमा, रितिथितिमा उ पूर्ण तार्किक छ । हो होइन छुट्याउने जिम्मा पाठक आफैलाई तर उ आफ्नो मामिलामा तार्किक भएर सोच्न चाहदैन किन भने उसले आफ्ना सोच, कार्य आदिलाई रेशमको कोयोको रुपमा लिएको हुन्छ। जसमा उ सुरक्षित महसुश गर्छ। जसबाट बाहिर आएर हेर्न उसले हिम्मत जुटाउन सकेको हुन्न ।
हो यस्ता कोकुन (रेशमको कोयो) लाई बडावा दिन छद्म विज्ञानका खेलाडीहरु सधै हाम्रो समाज वरीपरी घुमीरहेका हुन्छन् । उनीहरु विभिन्न वाहानामा बलत्कार, हत्या, नरसंहार, जातिवाद घुमाउरो पाराले सहि सिद्ध गर्ने प्रयास गर्छन्। उनीहरु महिनावारी भएको बेला आस्थाका केन्द्रहरूमा जाननहुने वैज्ञानिक कारणहरू पेश गर्छन्। पानीमा स्मरण हुन्छ भनेर पानी बेच्छन् त कहीले चन्द्र चक्रलाई केन्द्रमा राखेर आआफ्ना गफ बेच्छन्। उनीहरु भविष्यका कर्णधार बच्चाहरुको वालमस्तिष्कमा तर्कलाई ठाउँ दिन चाहाँदैनन्। चाहान्छन् त केवल छद्म विज्ञान र गफको पुलिन्दा वालमस्तिष्कमा घुसाउन, जुन उनीहरुको लागी उर्भर भूमी हो।
यदी तर्कका लागी उनीहरुले ठाउँ खाली गरेका भए सूर्य उत्तरायन हुने बेला मनाइने मकर संक्रांतिको मिति फरक गरेर मनाउथे होला। हुनत हाम्रा धेरै जस्तो चाडपर्व ऋतुहरुका आधारमा मनाइन्छ । यसैकारण ति सबै चाडपर्व ऋतुहरूका हुन् । हामीले सुनेका छौं पृथ्वीले सूर्यलाई २३डिग्री अक्षतर्फ पारेर परिक्रमा गर्छ यसैकारण सूर्य छ- छ महिनाको अवधिमा उत्तरायन र दक्षिणायन हुन्छ। तर यसरी परिक्रमा गर्ने क्रममा सूर्य यस पर्व भन्दा केही हप्ता अगाडिनै उत्तरायन भहिसकेको छ । तर हामी कर्मकाण्डि पाराले पर्व मनाइरहेका छौं। हो यस्तै साधारण लाग्ने विषयहरूलाई समय अनुसार तर्कसंगत हिसावले परिमार्जन गर्न हामीमा तार्किकता हुनु पर्छ। हालैको दुई घटना बलत्कार र हत्याको विषयमा समाजको चेत देख्दा लाग्छ हामीमा तार्किकता आउन अझैं धेरै समय लाग्छ।
अन्त्यमा मकर संक्रान्तिको यहाँहरू सबैमा शुभकामना। घ्यः चाकुः संल्हु या सकसित भिन्तुना।