शेयर बजारमा लगानी गर्नेले थाहा पाउनै पर्ने तीन पक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 05:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

मुराहरि पराजुली 

विकसित मुलुकका तुलनामा सेयर बजार संस्कृति हाम्रा लागि नयाँ हो । त्यसैले यो बजारमा प्रवेश गर्नु अघि कुन कुन पक्षमा विचार पु¥याउनुपर्छ भन्ने हामी धेरैलाई जानकारी छैन । धेरैले आधारहीन कथनका आधारमा लगानी गरिरहेका हुन्छन् । यस लेखमा धितोपत्र दोस्रो बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने तीन वटा पक्षका बारेमा चर्चा गरिएको छ ।

१. आधारभूत पक्ष

समग्र अर्थतन्त्र, उद्योगको क्षेत्रगत स्थिति, कम्पनीको वित्तीय अवस्था तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी लगानीसम्बन्धी निर्णय गर्नुलाई आधारभूत विश्लेषण भनिन्छ । व्यवस्थापनको प्रभावकारिता, राजनीतिक अवस्था, व्यवसाय विस्तारको सम्भाव्यता, बाह्य राजनीति, कम्पनीको वित्तीय दिगोपनलाई प्रभाव पार्ने विविध तŒवहरूलाई आधार भूत विश्लेषणमा समेटिएको हुन्छ ।

कम्पनीको सम्पत्ति, नगद प्रवाह, ऋण, आय, खर्च लगायतका सूचक नै उसको स्वास्थ्य नाप्ने आधार हुन् । सेयरको आन्तरिक मूल्य (Intrinsic Value) मा प्रभाव पार्ने सबै तथ्याङ्क आधारभूत विश्लेषणमा समावेश हुन्छन् । जसमध्ये आधारभूत विश्लेषणमा बढी प्रयोग हुने सूचकलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।  

१.१ सेयरको बजार मूल्य र वृद्धि (Market Price and Growth)

सचेत लगानीकर्ताले सेयर किनबेचको निर्णय गर्दा बजार मूल्य र इतिहासलाई हेर्नैपर्छ । यद्यपि खरिद वा बिक्री कारोबारका लागि सेयरको बजार मूल्य विवरण र इतिहास मात्रै हेरेर पुग्दैन ।

१.२ प्रति सेयर आम्दानी (Earning Per Share, EPS)

प्रति सेयर आम्दानी (Earning Per Share, EPS) कम्पनीको खुद आम्दानी (नाफा) लाई सेयर सङ्ख्याले भाग गरेपछि प्राप्त हुन्छ । यसलाई समान प्रकृतिका अन्य कम्पनी वा सेयर बजारका सबै कम्पनीसँग तुलना गर्न सकिन्छ । अथवा आफूले कारोबार गर्न चाहेको कम्पनीकै विगत र वर्तमानमा प्रति सेयर आम्दानी कति छ ? भविष्यमा कति हुन सक्छ ? भन्ने सामान्य विश्लेषण पनि गर्न सकिन्छ । प्रति सेयर आम्दानी जति धेरै भयो त्यति राम्रो हुन्छ ।  

१.३ बुक भ्यालु (Book value)

स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सेयर बजारमा एउटा मूल्यमा कारोबार भइरहेको हुन्छ भने उक्त सेयरको आन्तरिक (अन्तर्निहित) मूल्य अर्कै हुन सक्छ । अङ्ग्रेजीमा बुक भ्यालु (नेटवर्थ) र नेपालीमा किताबी मूल्य (खुद मूल्य) भनिने यो सूचकलाई बोलीचालीको भाषामा सेयरको खास मूल्य वा वास्तविक मूल्य भन्न सकिन्छ । कम्पनीको सेयरको किताबी मूल्यभन्दा स्टक एक्सचेन्जमा कारोबार हुने मूल्य कहिले बढी हुन सक्छ, कहिले कम । सचेत लगानीकर्ताले सकेसम्म वास्तविकभन्दा बजारले कम मूल्याङ्कन गरेको सेयर पहिल्याएर खरिद गर्नुपर्छ ।

१.४ पिइ रेसियो (PE Ratio)

वित्त साहित्यमा मूल्य आम्दानी अनुपात (पिइ रेसियो) लाई कम्पनीले समीक्षा अवधिमा गरेको आम्दानीलाई र बजारमा चलिरहेको सेयरको मूल्यसँग दाँजेर हेर्ने सूचकका रूपमा व्याख्या गरेको पाइन्छ । कुनै कम्पनीको आम्दानीलाई हेरेर लगानीकर्ताले सेयरलाई कति मूल्य तिर्न तयार भएका छन् भन्ने पनि यो सूचकले बताइरहेको हुन्छ । यसले लगानीकर्ताको अपेक्षालाई पनि प्रतिविम्बित गर्छ भनिन्छ । सेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भूमिका खेलेको हुन्छ । कुनै वस्तुगत कारणविना पनि सेयरको मूल्य तलमाथि गरिरहेको हुन्छ । यसैले अन्य लगानीकर्ताको अपेक्षा के छ भन्ने जानिराख्नु पनि उचित हुन्छ । सामान्यतया मूल्य आम्दानी अनुपात २० सम्म हुनुलाई सुरक्षित मानिन्छ । मूल्य आम्दानी अनुपात २० भन्दा जति माथि हुन्छ, जोखिम त्यति नै बढ्दै जान्छ । एउटै क्षेत्रका कम्पनीबिच पिइ रेसियो तुलना गर्नु उचित हुन्छ ।

१.५ पिबी रेसियो (PB Ratio)

सेयरको बजार मूल्य र किताबी मूल्यको अनुपात (पिबी रेसियो) कारोबार निर्णयका लागि सहयोग गर्ने एक अर्को महŒवपूर्ण सूचक हो । कुनै कम्पनीको पिबी रेसियो १ (एक) भन्दा कम छ भने बजारले उक्त कम्पनीको सेयरको कम मूल्याङ्कन गरिरहेको छ भन्ने हुन्छ । पिबी रेसियो १ (एक) भन्दा बढी छ भने बजारले कम्पनीको सेयरको बढी मूल्याङ्कन गरिरहेको छ भन्ने हुन्छ । परम्परागत रूपमा यो सूचकको मान ३ हुँदासम्म सेयर खरिद गर्न उचित हुन्छ भन्ने मान्यता रहिआएको छ ।

१.६ सेयरमा प्रतिफल (Return on Equity)

नेपाली लगानीकर्ताले कम चासो दिने अर्को वित्तीय सूचक हो, सेयरमा प्रतिफल (रिटर्न अन इक्विटी, आरओई) । सेयरधनीले कम्पनीमा लगाएको पुँजीबापत कति प्रतिफल पाइरहेका छन् भन्ने यसले देखाउँछ । यसको अर्थ यो प्रतिफल दर जति धेरै भयो, कम्पनीको सेयर त्यति नै आकर्षक हुन्छ । लगानी गर्दा कम्तिमा तीन वर्षको आरओईको तथ्याङ्क हेर्नु उचित हुन्छ ।

१.७ सम्पत्तिमा प्रतिफल (Return on Assets)

म्पनीको स्वामित्वमा भएका सबै किसिमका भौतिक तथा अभौतिक सम्पत्तिको लगानीबाट कति प्रतिफल प्राप्त भइरहेको छ भन्ने कुराको जानकारी सम्पत्तिमा प्रतिफल दरले दिन्छ । यो सूचकमा पनि हाम्रा लगानीकर्ताले खासै चासो दिएको पाइँदैन ।

१.८ ऋण–स्वपुँजी अनुपात (Debt Equity Ratio)

सामान्य चेतको विषय के हो भने जति थोरै ऋण भयो, त्यति राम्रो । व्यक्तिगत जीवन र सार्वजनिक दुवैमा यो कुरा लागू हुन्छ । ऋणलाई उत्पादनशील कार्यमा लगाउन सकिएन भने त्यसले ठुलो वित्तीय भारसिर्जना गर्छ र अन्ततः ऋणीलाई धराशायी बनाउन सक्छ । यसैले वित्तीय संसारमा कुनै कम्पनी कति स्वपुँजीमा र कति ऋण लिएर चलेको छ भन्ने विषयमा निकै चासो दिइन्छ ।

२. प्राविधिक पक्ष

प्राविधिक विश्लेषणमा धितोपत्रको दोस्रो बजारमा कायम विगतको मूल्य र कारोबारको आकारलाई विश्लेषणको प्रमुख आधार बनाइन्छ । यो वित्तीय बजारमा व्यापक रूपमा प्रयोग हुने विधि हो । विकसित बजारमा सेयर तथा डेरिभेटिभ्स कारोबारमा यसको उपयोग हुन्छ । नेपालमा प्राविधिक विश्लेषणको प्रयोग गर्न थालिएको धेरै भएको छैन । धितोपत्रको दोस्रो बजार कारोबार अनलाइन भएपछि यसको प्रयोग बढेको भए पनि धेरै जना प्राविधिक विश्लेषणका बारेमा अनविज्ञ नै छन् । यहाँ प्राविधिक विश्लेषणको सामान्य रूपरेखा खिचिएको छ ।

२.१ बजार मूल्य र कारोबार परिमाण (Market Price and Transaction Volume)

प्राविधिक विश्लेषकहरू मुख्य गरी धितोपत्रको बजार मूल्य र कारोबार परिमाणका तथ्याङ्कमा केन्द्रित हुन्छन् । बजारमा धितोपत्रको विगतको मूल्य गति र कारोबार परिमाणले भविष्यको सङ्केत प्रदान गर्छ भन्ने मान्यता प्राविधिक विश्लेषकले राख्छन् ।

२.२ चार्ट र ढाँचा (Charts and Models)

चार्टहरू प्राविधिक विश्लेषणमा आधारभूत उपकरण हुन् । रेखा चार्ट, बार चार्ट र क्यान्डलस्टिक चार्ट लगायतका विभिन्न प्रकारका चार्टले मूल्यको गति तथा दिशा अनुमान गर्न सहयोग गर्छन् । विश्लेषकहरूले यी चार्टहरूमा विभिन्न किसिमका ढाँचाहरू खोज्छन् । ट्र्याङ्गल, हेड एन्ड साउल्डर, डबल टप, डबल बटम लगायतका ढाँचाहरूले भविष्यको मूल्य बताउँछ भन्ने विश्वास प्राविधिक विश्लेषणमा गरिन्छ ।

२.३ सूचक र कम्पन (Indicators and Oscillators)

प्राविधिक विश्लेषकहरूले मूल्य प्रवृत्ति पहिचान गर्न विभिन्न सूचकको प्रयोग र कम्पन मापन (ओसिलेटर) गर्छन् । मुभिङ एभरेज, रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आएसआइ), मुभिङ एभरेज कन्भरजेन्स डाभर्जेन्स (एमएसिडी), स्टोकास्टिक ओसिलेटर प्राविधिक विश्लेषणमा प्रयोग हुने प्रचलित सूचकहरू हुन् । यी सूचकहरूले कुनै धितोपत्र बढी खरिद (ओभर बाउट) भएको वा बढी बिक्री (ओभर सोल्ड) भएको अवस्था पहिल्याउन र त्यो प्रवृत्तिले निरन्तरता पाउँछ कि पाउँदैन, त्यस्तो प्रवृत्ति उल्टिन्छ वा मूल्य तलमाथि नगरी अगाडि बढ्छ भन्ने विश्लेषण गर्न मद्दत गर्छन् ।

२.४ प्रवृत्ति विश्लेषण (Trend Analysis)

प्राविधिक विश्लेषणमा प्रवृत्तिको अवधारणा महŒवपूर्ण हुन्छ । विश्लेषकहरूले सुसूचित कारोबार निर्णय गर्नका लागि प्रचलित प्रवृत्ति (बजार उकालो लाग्ने, ओरालो लाग्ने वा सिधा बढ्ने) पहिचान गर्ने प्रयास गर्छन् । यस्ता प्रवृत्तिहरू अल्पकालीन, मध्यमकालीन वा दीर्घकालीन हुन सक्छन् ।

२.५ टेवा र अवरोध (Support and Resistance)

टेवा र अवरोध धितोपत्रको बजार मूल्यका मनोवैज्ञानिक स्तर वा तहहरू हुन् । टेवाले मूल्यलाई तल झर्न दिँदैन र अवरोधले माथि चढ्न दिँदैन भन्ने विश्वास गरिन्छ । यसै कारण टेवा र अवरोध भनेर पहिचान गरिएका मूल्यबिन्दुहरूमा धितोपत्रको माग वा आपूर्तिको दबाब हुन्छ । उदाहरणका लागि अवरोधको तहमा मूल्य पुगेपछि धितोपत्रको आपूर्ति बढ्छ र उकालो लाग्ने प्रवृत्ति रोकिन्छ । टेवामा पुगेपछि विपरीत अवस्था आइलाग्छ ।

२.६ क्यान्डलस्टिक ढाँचा (Candlestick Patterns)

धितोपत्रको सुरु मूल्य, अन्तिम मूल्य, अधिकतम मूल्य र न्यूनतम मूल्यलाई सजिलै देख्न सक्ने गरी मैनबत्ती वा क्यान्डलको आकृतिमा चार्टलाई प्रस्तुत गर्ने विधिलाई क्यान्डल चार्ट भनिन्छ । सजिलै बुझ्न सकिने भएकाले चार्ट विश्लेषणमा अन्य चार्टहरूभन्दा यसको प्रयोग अधिक हुन्छ ।

क्यान्डल चार्टमा क्यान्डल दुई प्रकारले देखाइन्छ, घटेको र बढेको । घटेकोलाई रातो वा कालोमा देखाइन्छ र बढेकोलाई हरियो वा सेतोमा देखाइन्छ । चार्टमा क्यान्डलको रङ मुख्य भागमा आधारित हुन्छ । निश्चित समयावधिमा कारोबार खुलेको भन्दा बन्द भएको कारोबारको मूल्य बढी भएमा हरियो र कारोबार खुलेको भन्दा बन्द भएको कारोबारको मूल्य कम भएमा रातो हुने गर्दछ । त्यसै गरी क्यान्डलको माथिको छायाले कारोबारको उच्च मूल्यलाई देखाउँछ भने तलको छायाले उक्त कारोबार अवधिको न्यून मूल्यलाई दर्शाउँछ ।

२.७ इलियट वेभ थ्योरी (Elliott Wave Theory)

इलियट वेभ थ्योरीमा बिजुली, हावा वा ध्वनीका तरङ्ग जसरी धितोपत्रका बजार मूल्यहरू चल्ने तर्क गरिएको छ । यो अवधारणाको विकास राल्फ नेल्सन इलियटले १९३० को दशकको उत्तराद्र्धमा गरेका थिए । उनको सिद्धान्तमा आधारित विधिले वित्तीय बजारहरूमा दोहोरिने तरङ्गहरूको ढाँचा पहिचान गर्न खोज्छ । इलियटका अनुसार बजार मूल्यका चाललाई ट्रेन्डिङ वेभ्स र काउन्टर ट्रेन्ड वेभ्समा वर्गीकरण गर्न सकिन्छ । यी मुख्य तरङ्गलाई अरू स–साना उपतरङ्गमा विभाजन गरिन्छ ।

ती तरङ्गहरूलाई तिनीहरूको आकार र अवधिका आधारमा विभिन्न डिग्रीहरूमा वर्गीकृत गरिन्छ । ग्रान्ड सुपरसाइकल, सुपरसाइकल, साइकल, प्राइमरी, इन्टरमिडिएट, माइनर, माइन्युट, मिनुएट र सबमिनुएट ती तरङ्गका डिग्री हुन् ।

विश्लेषकहरूले ठुलो तरङ्ग संरचनाभित्र हालको स्थिति पहिचान गर्ने प्रयास गर्छन् । तरङ्गहरूको लम्बाइ मापन गर्ने र सम्भावित उल्टो तरङ्ग पहिल्याउन फिबोनाची अनुपातलाई समावेश गर्छन् । यो विधिमा तरङ्गको चरित्र (कमजोर वा शक्तिशाली) हो कि होइन भन्ने पनि खुट्याइन्छ । यहाँ भनिएका तरङ्गहरूको सही पहिचान गर्न सजिलो भने हुँदैन । 

३. मनोवैज्ञानिक पक्ष

मान्छेले कुनै चिज गलत हो भन्ने पर्याप्त सूचना पाएको अवस्थामा पनि लोभ, डर, इष्र्या, अहङ्कार लगायतका भावनात्मक कारणले गलत काम गरिरहेको हुन्छ । आर्थिक निर्णयहरू पनि भावनात्मक कारणबाट प्रभावित हुन सक्छन् । त्यसैले आधारभूत तथा प्राविधिक विश्लेषणका साथसाथै मनोवैज्ञानिक कारणहरूमा पनि दृष्टि दिनुपर्ने विज्ञहरूको राय छ । यहाँ लगानीसम्बन्धी मनोवैज्ञानिक पक्षहरूको मोटामोटी चर्चा गरिएको छ ।

३.१ अङ्कुशे प्रभाव (Anchoring Bias)

बिहेभिअरल इकोनोमिक्समा उठान गरिएका मूल मनोवैज्ञानिक विषयहरूमध्ये ‘एङ्करिङ’ अहिलेको हाम्रो सेयर बजारको अवस्थासँग मिल्दोजुल्दो छ । एन्करलाई नेपालीमा अंकुश भन्न सकिन्छ । यो यस्तो मनोवैज्ञानिक अंकुश हो, जसले हामीलाई एउटा बिन्दुमा अड्याएर राख्छ ।

हाम्रो अवचेतन मन कुनै सूचना, सङ्केत, विम्ब, अङ्क, घटना आदिमा अड्किएको हुन्छ । त्यसरी अड्किएको मनले चिजहरू परिवर्तनशील हुन्छन् भन्ने हेक्का राखेको हुँदैन । त्यसैले हामीले सही ठहर गरेको कम्पनी सधैँ सही र गलत ठहर गरेको सधैँ गलत हुन्छ भन्ने त्रुटिपूर्ण निष्कर्ष निकाल्न सक्छौँ । 

यस्तै खालको मनोवैज्ञानिक कमजोरी सेयर बजार लगानीकर्तामा पनि हुन्छ । लगानीकर्ताहरूले कुनै सम्बन्ध नै नभएको अङ्क वा आँकडालाई आधार बनाइरहेका हुन्छन् । उदाहरणका लागि धेरै लगानीकर्ता छोटो समयमा निकै घटेको सेयरमा लगानी गर्न उद्दत हुन्छन् । उनीहरूको दिमागमा हालसालै उक्त सेयरले हासिल गरेको उच्च मूल्यको अङ्कुश लागेको हुन्छ ।

३.२ मनोगत लेखाङ्कन (Mental Accounting)

पैसालाई मानसिक रूपमा अलग्याउने हाम्रो बानी हुन्छ । तलब, ज्याला जस्ता नियमित स्रोतबाट आएको पैसा खाने, लाउने, घरभाडा तिर्ने, केटोकटीको पढाइमा खर्च गर्ने जस्ता आधारभूत तथा नियमित काममा लगाउने र आकस्मिक रूपमा पाएको वा अतिरिक्त कमाइलाई फर्माइस गर्ने गर्छौं । नियमित वा आकस्मिक स्रोतबाट प्राप्त भएको होस्, नियमित वा फर्माइसमा खर्च होस्, पैसा भनेको पैसै हो भन्ने बिर्सिन्छौँ ।

वित्त बजारमा लगानी गर्दा पनि यस्तै खालको त्रुटि हुन सक्छ । यहाँ जोखिमयुक्त र कम जोखिमयुक्त क्षेत्रमा अलग्याएर लगानी गरिन्छ । पहिले पहिले अर्थशास्त्रीले पनि यस्तै सुझाउँथे । धेरैलाई यो रणनीति बजारलाई जित्ने अचुक अस्त्र हो भन्ने विश्वास छ । तर, कम वा बेसी जुनसुकै जोखिमयुक्त क्षेत्र होस्, लगानी खराब पल्टियो भने प्रतिफल कम भई नै हाल्छ ।

३.३ अति आत्मविश्वास (over confidence)

अति आत्मविश्वासबाट प्रभावित भएर पनि सेयर बजारमा धेरै गल्ती हुन्छन् । कुन सेयर किन्ने, कुन बेच्ने, कहिले किन्ने, कहिले बेच्ने भन्ने कुरा अरूलाई भन्दा मलाई बढी थाहा छ भन्ने अति विश्वास केही लगानीकर्तामा हुन्छ । विकसित बजारहरूमा गरिएका अध्ययनका अनुसार यस्ता लगानीकर्ताहरू बढी सेयर किनेबच गर्छन् र उनीहरूको प्रतिफल किनबेच खर्चले नै कम बनाइदिन्छ । 

३.४ पुष्टीकरण आग्रह (Confirmation Bias)

पुष्टीकरण र पूर्वदर्शी पूर्वाग्रहले पनि हामीलाई नराम्ररी झुक्याउँछ । हामीले जे देख्न वा सुन्न चाहेका हौँ, त्यही देख्ने वा सुन्ने गर्छौँ । लगानीकर्तालाई कुनै कम्पनीको सेयर किन्न मन लागिरहेको छ भने कम्पनीको बारेमा उसले सोधखोज गर्न थाल्छ । यस क्रममा कम्पनी नराम्रो पुष्टि हुने बलियो र ठोस प्रमाण फेला नपारेसम्म उसको मानसले कम्पनीका बारेमा राम्रा कुराहरू मात्रै टिप्दै टिप्दै जान्छ; नराम्रा कुराहरू छाड्दै छाड्दै जान्छ । र, निष्कर्षमा पुग्छ कम्पनी राम्रो हो । यहाँनेर कम्पनी राम्रो भएर उसले राम्रा कुरा थाहा पाएको होइन, बरु पहिल्यै एक किसिमको धारणा बनाएर सोधखोज गरिएकाले राम्रो हो भन्ने पुष्टि हुन गएको हो ।

३.५ पूर्वदर्शी आग्रह (Hindsight Bias)

‘यस्तो हुन्छ भन्ने त मलाई पहिल्यै थाहा थियो’ भन्ने किसिमको अभिव्यक्ति पूर्वदर्शी आग्रह हो ।  संसारभर विभिन्न समयमा सङ्कट आएका छन् । आफू त्यस्ता सङ्कटको एउटा पक्ष हुँदाहुँदै पनि मान्छेहरू त्यसबाट मुक्त थिए र त्यसको जानकारी उनीहरूलाई पहिल्यै थियो भन्ने स्वाङ् पार्छन् । जस्तो नेप्से यतिउति विन्दुमा पुग्छ, घरजग्गा कारोबार घट्छ, ब्याजदर बढ्छ वा घट्छ भन्ने मलाई पहिल्यै थाहा थियो भनेर पछि ठोकुवा गर्ने मान्छेहरू थुप्रै हुन्छन् ।

३.६ जुवाडे त्रुटि (Gambler’s Fallacy)

जुवाडे त्रुटि अर्काे मनोवैज्ञानिक समस्या हो । लङ्गुरबुर्जामा लगातार पाँच पटक झण्डा डबल देखा प¥यो भने अर्को पल्ट पनि झण्डा डबल नै पर्छ भनेर दाउ लगाउने कुरालाई मनोवैज्ञानिकहरूले जुवाडे त्रुटि भनेका छन् । हाम्रो दैनिक जीवनमा, हाम्रा टोलछिमेकमा यस्ता कैयौँ पात्र फेला पर्छन् । सेयर बजारमा लगातार चार दिन बढेको कम्पनीको सेयर पाँचौँ दिन पनि बढ्छ भन्ने मानसिकताले राम्रै काम गरेको हुन्छ । समय विभाजनको आधार भने दिन, साता, महिना वा वर्ष कुनै पनि हुन सक्छ ।

३.७ भिडको मानसिकता (Herd Mentality)

‘यत्रा मान्छे लागिपरेका छन्, ठिकै त गरेका होलान् नि’ भनेर भिडलाई पछ्याउने प्रवृत्ति लगानीकर्तामाझ आम रूपमा देखिने अर्को मनोवैज्ञानिक समस्या हो । लोभलालचले भ्रमान्ध बनाएपछि हामी यस्तो व्यवहार गर्छाैँ । सेयर बजारमा मात्र नभएर हाम्रो गलैँचाको व्यापार, पश्मिनाको निर्यात, घरजग्गा कारोबार, वैदेशिक रोजगार लगायतका क्षेत्रमा यस्तै प्रवृत्ति देखा परेको छ । यस्तो पूर्वाग्रह पीडित मान्छेले वास्तवमा कुनै चिजले कसरी काम गरिरहेको छ भनेर भित्री कुरा बुझ्ने कष्ट गर्दैन ।

३.८ तीव्र प्रतिक्रिया (Over Reaction)

अनपेक्षित समाचार आउनेबित्तिकै बेचिहाल्ने र आफुलाई मनपर्ने किसिमको समाचार वा आफ्नो आग्रहलाई पुष्टि गर्ने किसिमको समाचार आए किनिहाल्ने लगानीकर्ता पनि बजारमा हुन्छन् । सूचनाहरूमा यस किसिमको तत्काल र तीव्र प्रतिक्रिया दिने लगानीकर्ताले अधिकतम लाभ सुनिश्चित गर्न सक्दैनन् । यस्ता लगानीकर्ता हाबी हुँदा नयाँ सूचनाले बजार ह्वात्तै बढ्ने, ह्वात्तै घट्ने हुन सक्छ । अर्कोतिर बारम्बार कारोबार गर्दा लगानीकर्ताको कारोबार लागत पनि बढ्छ ।

३.९ तात्कालिक प्रभाव (Recency Effect)

हालसालैको घटनाबाट अति प्रभावित हुने र केही समयपछि त्यसलाई पुरै बिर्सिदिने मनोवैज्ञानिक समस्या पनि लगानीकर्तामा हुन्छ । यस्तो समस्या भएका लगानीकर्ता अल्पकालीन लगानीमा रमाउँछन् । दीर्घकालीन लगानी दृष्टिकोणको सर्वथा अभाव हुन्छ । यसले उनीहरूलाई दीर्घकालीन लगानीबाट प्राप्त हुने सहज तथा सुरक्षित लाभबाट वञ्चित बनाउँछ ।

३.१० असमानुपातिक भार (Prospect Theory)

मान्छेले उपलब्धिलाई भन्दा नोक्सानीलाई बढी भार दिन्छन् । अनुसन्धाताहरूका अनुसार यस्तो मानसिक समस्याबाट ग्रस्त व्यक्तिले नराम्रो सेयर लामो समयसम्म लिएर बस्छन्, त्यसलाई बिक्री गरेर नोक्सानी घटाउँदैनन् । यसै गरी उनीहरू राम्रो सेयर अलिकति मूल्य बढ्दैमा आत्तिएर बेच्छन् र नाफा कम गर्छन् । यससम्बन्धी व्याख्यालाई वित्तीय साहित्यमा Prospect Theory) को नाम दिइएको छ ।

३.११ विजेताको त्रुटि (Winner’s Fallacy)

लाभ–हानी वा विजय–पराजयको कुनै पनि खेलमा प्रवेश गरिसकेपछि सामान्य मान्छेमा तार्किकताभन्दा अहंले बढी काम गर्छ । सेयरको दोस्रो बजार वा बोलकबोलबाट मूल्य तय हुने कुनै पनि सन्दर्भमा यस किसिमको व्यवहार देख्न पाइन्छ । यसमा बोली लगाइने वस्तु वा सम्पत्तिको आन्तरिक मूल्य वा वास्तविक मूल्यभन्दा खरिदकर्ताले बोलेको मूल्य धेरै बढी हुन्छ । लिलामी मूल्य आन्तरिक मूल्यमा ठुलो अन्तरलाई सामान्यतया अपूर्ण जानकारी, भावनात्मक वेग र अन्य व्यक्तिपरक कारणहरूले बल पु¥याएको हुन्छ । यस किसिमको खेलमा भाग लिने एक जनाले मात्रै नभई धेरै जनाले वस्तु वा सम्पत्तिको मूल्यलाई अनावश्यक रूपमा माथि धकेल्छन् ।

मुराहरि पराजुली नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved