अरुण चौधरीको पक्राउ : आर्थिक लेनदेन कि राजनीतिक एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 02:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको उद्योगी घरानाका अरुण चौधरी सहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि नेपालको राजनीतिमात्रै नभई निजी क्षेत्र पनि तात्तिएको छ। चौधरी पक्राउ परेको केहि घण्टामै नेपालका उद्योगीहरुको बलियो तथा ठूलो संस्था नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन गरेर यसको विरोध  गर्यो। 

सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गर्दा आपत्ति जनाउनुको औचित्यमाथि नै प्रश्न उठेपछि अरुण चौधरी पक्राउ पर्नुमा नभई पक्रिने प्रकृयामा आफुहरुले विरोध गरेको परिसंघका अध्यक्ष राजेश अग्रवाल, संघका निवर्तमान अध्यक्ष बिष्णु अग्रवाल, संघकै पूर्व अध्यक्ष हरिभक्त शर्मा लगायतले प्रष्ट पारे। 

पछिल्लो समय उद्योगी व्यवसायी पक्राउ पर्नुमा आर्थिक लेनदेन कम राजनीतिक एजेन्डा धेरै भएको र त्यसको शिकार उद्योगी व्यवसायी भएको उद्योगी व्यवसायीहरुले अनौपचारिक कुराकानीको क्रममा भन्ने गरेको पाइएको छ। 

नेपालका एक उद्योगपति भन्छन, 'मिन बहादुर गुरुङ पक्राउ पर्दा कतै यो कर्पोरेट वार हो कि भन्ने आशंका हामीले गरेका थियौं तर सरकारको कामकारबाही हेर्दै जाँदा यो अरुनै भएको हाम्रो बुझाई हो। '

माओवादी नेतृत्त्वले ल्याएको बजेट पास गराउनुपर्ने र त्यसको लागि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको पनि साथ् चाहिने भएकाले उनीहरुलाई साइजमा ल्याउन ललिता निवास प्रकरण जन्माईएको र त्यसको शिकार मिनबहादुर गुरुङ भएको  आफुहरुको बुझाई रहेको ति उद्योगपतिले बताए। 

उनी अगाडी थप्छन् ' मिन बहादुर गुरुङसंगै जोडिएको केश हुन्थ्यो भने ललिता निवास प्रकरण पहिल्यै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको थियो, यसलाई अहिले आएर रातारात सीआईबिमा उजुरी दर्ता गराएर पक्राउ पुर्जी जारी गर्नुपर्थेन।  अर्कोकुरा, त्यत्रो ८ अर्ब बिगो कायम हुने अनि २ करोड धरौटी तिरेर बाहिरिने भन्ने पनि कहीं हुन्छ। यो सबै हेर्दा उनि (मिन बहादुर गुरुङ) राजनीतिक एजेन्डाका शिकार भएको देखिन्छ। '

मिन बहादुर गुरुङकै शैली अहिले उद्योगपति अरुण चौधरीको पक्राउमा देखिएको व्यवसायीक वृत्तमा चर्चा छ। सिधा रुपमा हेर्दा  'सरकारको नाम रहेको बाँसबारी छाला तथा जुत्ता कम्पनीको १० रोपनी जमिन आपसी मिलेमतोमा निजी स्वामित्वमा ल्याई राज्यलाई हानि नोक्सानी पुर्याएको' भन्ने आरोपमा चौधरी पक्राउ परेका हुन्। 

नेकपा माओवादी नेतृत्त्वमा पहिलो पटक सरकार भएको बेला २०४३ सालदेखि सुरु भएको सरकारी सम्पति हडपेको यो केशमा अरुण चौधरी समातिएको भए अचम्म मान्नुपर्थेन होला। तर तेस्रो पटक सरकारको नेतृत्त्व गरिरहेको अहिलेको अवस्थामा नै चौधरी पक्राउ किन परे ? यो नै आम चाँसोको विषय हो। 

यो पक्राउलाई कर्पोरेट वार मान्न नसकिने र नेपाली उद्योगी व्यवसायी यो स्तरमा गिरेर काम गर्न नसक्ने उद्योग व्यवसायमा झन्डै ५० वर्ष विताएका अर्का उद्योगी बताउँछन।  एकले अर्कालाई अप्ठ्यारो पारेर वा केहि जुक्ति निकाएर व्यवसाय आफ्नो पक्षमा पार्नु व्यवसायमा सामान्य हुन् तर  नामो निसान मेटाउने गरि एकले अर्कालाई सिध्याउने किसिमको कर्पोरेट वारको कल्पना अहिले नै गर्न नसकिने उनको तर्क छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल फेर्छु भन्ने सन्दर्भका यो प्रकरण भएकाले यसलाई राजनीतिक एजेन्डा नै भन्नुपर्ने र मान्नुपर्ने ती उद्योगीको भनाई छ। उद्योगी अरुण चौधरीको पक्राउले सत्ता नेतृत्त्व गरिरहेका दाहाललाई धेरै लाभ मिलेको उनको दाबी छ। 

माधव  नेपाललाई अबको प्रधानमन्त्रीमा अगाडी सारेपछि रुष्ट भएका दाहालले नेपाली कांग्रेसभित्रको अन्तरसंघर्षमा खेलेर रचेको एउटा घटनाको रुपमा लिनुपर्ने ती उद्योगीको दाबी छ। संस्थापन पक्षका शशांक कोइरालाले माधव नेपाललाई अबको प्रधानमन्त्रीको रुपमा अगाडी बढाएकाले त्यसलाई मत्थर बनाउन प्रधानमन्त्री दाहालले शेर बहादुर देउवा निकट मानिने कांग्रेसका सांसद विनोद चौधरीका भाई अरुण चौधरीलाई 'गोटी' बनाएको ती उद्योगीको भनाई छ। 

यो घटना 'छोरी कुटेर बुहारी तर्साउने' खेल भन्दा माथि 'एक तिर तीन शिकार' को रुपमा बुझ्नुपर्ने ती उद्योगीको भनाई छ। ती उद्योगीकाअनुसार अरुण चौधरी पक्राउ पर्दा पहिलोकुरा, जनतामाझ विशेषगरि गृहमन्त्री रहेका नारायणकाजीले सुशासनको लडाई लडेको संदेश गएको छ र यसले उनको गृहमन्त्री पद जोगाएको छ। दोस्रोकुरा, पार्टी सभापति देउवा निकट मानिएका विनोद चौधरीलाई कमजोर बनाउने योजनाले डा प्रकाश शरणमहतले आफ्नो गुटलाई प्रयोग गरेको र प्रचण्डले त्यसमा नै खेलेका हुन्। तेस्रो कुरा, सरकारी जग्गा हडपेका बाँकीसंग पनि सहजै डिल गर्ने बाटो बनेको छ। 

ती उद्योगीको आरोपलाई शुक्रबार बसेको  काँग्रेसको संसदीय दलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग बोलेका सांसद सुनिल शर्माको भनाईले  पनि पुष्टि गरेको छ। दाहाल नेतृत्वको सरकारले उद्योगपतिहरूलाई पक्राउ गरेर 'अन्डर टेबुल' पैसा डिल गर्ने गरेको उनले दाबी गरे। 

उनले भनेका थिए, 'मीनबहादुर गुरुङदेखि अरुण चौधरीसम्मको गिरफ्तारी माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डिजाइनमा हो। उनीहरूले ठूला उद्योगपति र घरानाहरू पक्राउ गर्ने, ह्यारेस गर्ने र अन्डर टेबुल पैसा डिल गर्छन्' उनको भनाई थियो।

त्यसो त् गृहमन्त्री रहेका नारायणकाजि श्रेष्ठमाथि केन्द्रीय  अनुसन्धान ब्युरो (सीआइबि) र प्रहरी प्रशासन प्रयोग गरेर उद्योगी व्यवसायी तर्साउने गरेको आरोप यस अगाडी पोखरामा भएको मणिपाल अस्पतालमा भएको घटनामा पनि लागेको थियो। माओवादी सांसदकै स्वकीय रहेका व्यक्तिले डाक्टर कुटेको र त्यसपछि सिर्जना घटना कुनै तमिल फिल्मको भन्दा कम थिएन। उक्त घटनामा दर्जनौ डाक्टर, बिरामी कुरुवा कुटिएका थिए। तर यसको भित्रिकथा भने मणिपाल अस्पतालका संचालनको जिम्मेवारी पाएको बतास समुहसंगको पैसाको डिल भएको बजार चर्चा थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved