बैंकिंङ उद्योगमा सँधै चर्चामा आउने बैंकमा पहिलो श्रेणीमा पर्ने बैंकहरुमा पर्छ एनआइसी एशिया बैंक। विभिन्न आरोपले चर्चामा आइरहने एनआईसी एशिया बैंक यस पटक भने आफ्नै कारणले विवादमा फस्न पुगेको हो।
अहिले सतहमा डेपुटी सीइओको राजीनामा, नक्कली नोट छपाइमा संलग्नता जस्ता कुराले बैंक विवादमा तानिएपनि विवादमा तानिएको यो नै पहिलो घटना भने होइन। विगतमा पनि ब्याज निर्धारण गर्ने विषयमा सिंगो बैंकको संस्था नेपाल बैंकर्स संघ संगको टसल परेकै हो। राष्ट्र बैंकले असल नियतले ल्याएको बैङ्काइन्स्योरेन्स जस्तो राम्रो प्रोडक्टमाथि टेकेर कमाउ धन्दामा लाग्दा बैंक विवादमा तानिएकै हो। तर विगतको विवाद भन्दा यस पटकको विवाद केहि फरक र अर्थपूर्ण छन् र त्यो भएको पनि बैंक आफ्नै कारणले हो।
पहिलोकुरा, बैंकको डेपुटी सीइओको राजीनामा र फिर्ति जस्तो संवेदनशील विषयमा तत्कालै उचित प्रतिक्रिया दिन नसक्दा बैंक आन्तरिक रुपमा नै विवादमा फसेको भन्ने आम जनमानसमा पर्न गएको हो। यहि कुरालाई 'क्यास' गर्दै दुर्गा प्रसाई लगायतले बैंक डुब्न लागेको भन्दै प्रचार प्रसारलाई ब्यापक बनाए। जस कारण केहि दिनमै एनआईसी एशिया बैंकबाट ठूला मात्रामा निक्षेपकर्ताहरुले आफ्नो पैसा झिके।
पछिल्लो समय नेपाल राष्ट्र बैंक बैक वित्तीय संस्थाहरुको 'डिप इन्सपेक्सन' मा रहेको सत्य हो। र एनआईसी मात्रै नभई अरु धेरै बैकहरुमा अहिलेपनि नेपाल राष्ट्र बैंकको 'डिप इन्सपेक्सन' चलिरहेको छ। तर बैंकभित्रको बढ्दो अनियमितताको साक्षी बस्न नसकेर डेपुटी सीइओले नै राजीनामा दिन बाध्य भए भन्ने कुरा स्वयम् बैंकभित्रकै कमीकमजोरीले पुष्टि गर्यो। जसले गर्दा धमिलो पानीमा माछा मार्ने प्रवृत्ति बोकेका स्वार्थि समुहलाई थप बल पुग्यो।
अहिले बैंकले आफुहरुको वित्तीय अवस्था राम्रो रहेको विज्ञप्ति जारी गरेको छ। एउटा प्रेस मिट राखेर डेपुटी सीइओ को राजीनामा र अन्य आरोपबारे संचारमाध्यमलाई जानकारी दिन सक्थ्यो। तर अहिले बैंकमाथि सर्वसाधारणको भरोशा एउटा तहमा भत्किसकेपछि आफुहरुको वित्तीय अवस्था राम्रो रहेको भन्दै केहि दैनिक पत्रिकाको फ्रन्ट पेजमा विज्ञप्ति निकालेको छ। यसलाई आफ्नो कर्तुत लुकाउन बैंकले गरेको लगानीको रुपमा आम सर्वसाधारणले बुझेका छन्। स्वार्थी समुहले यहि बिज्ञप्तिको कुरालाई लिएर थप आलोचना नगर्लान भन्न सकिदैन।
दोस्रो कुरा, हिजोको शाखा विस्तार र ब्यापार विस्तारमा लिएको आक्रामक नीतिको असर अहिले बैंकमाथि परेको सत्य हो। करारमा लिएका अपरिपक्व कर्मचारीको सहायताले बैंक हाक्न खोज्दा यस बीचमा बैंकमा धेरै जालसाजी र अपराधिक गतिविधि भएका छन्, जसको मुल्य बैंकका ऋणी र ग्राहकले मात्र नभई स्वयम् बैंकले पनि चुकाईरहेको छ। बैंकले आफ्नो गल्ति लुकाउने प्रयत्न गर्नु स्वाभाविक भएपनि मिटरब्याजी जस्तो गम्भीर प्रकृतिको अपराधिक गतिविधिलाई पनि पैसा पेलेर लुकाउन खोज्दा बैंकमाथि धेरै ग्राहकको विश्वासमा कमि आएको छ।
अहिले शाखा बन्दको समाचार बाहिर आइरहँदा डीडीसी, नेपाल टेलिकम जस्ता व्यस्त रहने ठाउँबाट एक्सटेन्सन काउन्टर बन्द गरेको कुरालाई बैंकले सहर्ष स्वीकारेर शाखा बन्दबारे सत्य कुरा बोल्दिनु पर्थ्यो तर बैकले शाखा बन्दको प्रस्ताव नगरेको भनेर झुटो संदेश दिंदा आफै फस्न पुगेको हो। फाइनान्स र सहकारीबीचको फरक पत्ता लगाउन गाह्रो हुने ठाउँमा एक्सटेन्सन काउन्टर र शाखाबीचको अन्तर सर्वसाधारणले बुझ्छन् भन्नु बैंकको ठुलो भ्रम हो। बैंकले अति आवश्यक ठाउँमा रहेका बाहेकको शाखा बन्दबारे सोच बनाएको र केहि एक्सटेन्सन काउन्टर बन्द गर्नुपरेको कुराबारे सत्य बोलिदिएको भए पनि अहिलेको विवाद कम हुन्थ्यो होला।
तेस्रो कुरा, कुनै बेला आक्रामक रुपमा ब्यापारमा लाग्दा प्रचार प्रसारमा ठूलो बजेट खर्चिएको थियो। यतिसम्म कि एनआईसी एसियाको विज्ञापन हाल्नकै लागि सयौं अनलाइन मिडिया जन्मिए भने बैंककै कर्मचारीले दश थरिका अनलाइनमा विज्ञापन हालेर हजार होइन लाखौँ कमाए। तर पछिल्लो समय अर्थतन्त्रमा मन्दी छाउदै गर्दा र बैंकको कर्जा लगानी क्षमतामा क्यापिटल एडुकेसी रेसियोको कारण ह्रास आउँदा बैकले प्रचार प्रसारको बजेट ठूलै मात्रामा घटायो। जसले गर्दा हिजो एनआईसी एशियामा मात्रै निर्भरहरुमा अहिले एक किसिमको छटपटी रह्यो। जसले गर्दा बैंक डुब्नै लाग्यो, नक्कली नोटमा सामेल भयो, जस्ता दर्जनौ गलत आरोप र दुष्प्रचारको शिकार बन्यो।
एनआइसी एशिया आफैंमा देशकै ठूलो नेटवर्क भएको राष्ट्रिय स्तरको बैक हो भन्नेमा कुनै दुई मत छैन। त्यसैले दिनमा एउटा शाखामा एउटा उजुरी पर्दा पनि दिनमा ३५० बढी उजुरी पर्छन् । र उजुरीको संख्या हेर्दा ठूलै समस्या पो हो कि भन्ने भान पर्न सक्छ। यसको व्यवस्थापनको लागि संक्रिण सोच भएका मिडिया व्यवस्थापक भन्दा सूचनाको ग्याप नहुनेगरि परिपक्क कर्मचारीलाई यसको जिम्मेवारी दिन सके बैंक कम विवादमा पर्ने सम्भावना रहन्छ। तर विगतमा जस्तो आफुबारे आएका सत्य आरोपलाई छल्न विगतमा जस्तो अहिले पनि मिडियाबाजी र विज्ञप्तिबाजी गरेर बैंकले पुरानो गल्ति दोहोर्याउदै छ, जुन बैंकको लागि थप घातक हुन् सक्छ।