तिब्बतमा भएको लक-डाउनकै बीचमा यसरी खोलियो तातोपानी नाका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 06:12:25 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा नेपालमा दैनिक उपभोग्य सामग्रीको अभाव नहोस् भनेर तिब्बतमा लकडाउन हुँदाहुँदै पनि चीनले तातोपानी नाकाबाट सामान बोकेका कन्टेनरहरू पठाउन सहजीकरण गरिदिएको छ ।

कोभिड संक्रमणदर बढेपछि गत साउन २३ गतेदेखि चीनले तातोपानी नाका बन्द गरेको थियो । अन्तर्राष्ट्रिय रूपमै आवागमन बन्द गरेको चीनले दशैंलाई लक्षित गरेर तातोपानी नाका खुलाएको हो ।

अन्य देशसँगको सीमा बन्द रहेको अवस्थामा चीनले दशैंलाई लक्षित गरेर तातोपानी नाका खोलेपछि नेपालका व्यापारी-व्यवसायीहरू खुसी भएका छन् ।

चीनको सिगात्से, न्यालम, खासा, ल्हासालगायत बोर्डरका नजिकको बजार क्षेत्रमा रोकिएका कन्टेनर नेपाल ल्याउन ल्याउन शनिवारदेखि नाका खुलेको हो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले चिनियाँ चिनियाँ सुरक्षाकर्मी र अधिकारीबाट अनौपचारिकरुपमा रोकिएका कन्टेनर पठाउनमात्रै नाका खोलिएको बताएका छन् । शनिवार र आइतवार गरेर अहिलेसम्म ८ वटा भन्दा बढी कन्टेनर नेपाल पठाइएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण पटक-पटक खुल्ने र बन्द हुने तातोपानी नाका पछिल्लो समय गत साउन २३ गतेदेखि बन्द थियो ।

तातोपानी हुँदै नेपाल आउने डेढ सय भन्दा बढी कन्टेनर सीमामै रोकिएपछि ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले नाका खुलाउन पहल गरेको थियो । ल्हासाका महावाणिज्यदूत नवराज ढकालको विशेष पहलमा शनिबारबाट तातोपानी नाका खुलेको हो । 

ल्हासास्थित महावाणिज्यदूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले बिजपाटीसँगको टेलिफोन कुराकानीमा भने, 'नाका खुलाउन हामीले चीनका विभिन्न सरकारी निकायमा लिखित र मौखिक पहल गरेका थियौं । यहाँ एक महिनादेखि लक-डाउन छ । सरकारी कार्यालयहरू पनि आंशिक मात्र खुला छन् । अन्तर्राष्ट्रिय आवागमन पनि बन्द गरिएको अवस्था छ ।'

राईले तिब्बतमा अहिले १८/२० हजार सक्रिय संक्रमित भएको बताए । 'यस्तो अवस्थामा पनि चीनले हाम्रा लागि नाका खोलिदिएको अवस्था छ । दशैंकै लागि भनेर हामीले गरेको पहल सफल भएको छ ।'

उनले केरुङ नाका यही सेप्टेम्बरको १५ तारिखबाट खुल्ने जानकारीसमेत गराए । 'तातोपानी खुलेको छ, अब १५ तारिखदेखि केरुङ पनि खुल्छ,' उनले भने ।

महावाणिज्यदूत ढकालले बिजपाटीसँग संक्षिप्त कुरा गर्दै सबैको पहलमा नाका खोलिएको बताए । उनले भने, 'तिब्बतमा भएको लक-डाउनको बीचमा पनि हामीले नाका खुलाउन सफल भयौं । यसमा महावाणिज्यदूतको मात्र होइन, नेपालको परराष्ट्र मन्त्रालय, सञ्चारकर्मी र विभिन्न सरोकारवालाको उत्तिकै भूमिका छ ।'

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved