
काठमाडौँ उपत्यकाबाहिर (खासगरि तराइ मधेशका जिल्लामा) घरजग्गा कारोबार केही बढेको देखिए पनि उपत्यकाका ‘कोर सिटी एरिया’मा घरजग्गा कारोबार सुस्ताएको छ । मुख्य शहरी क्षेत्रभित्र घरजग्गा किनबेच घटेको तथ्यांकले नै देखाएको छ ।
दरबारमार्ग, नक्साल, बालुवाटार, महाराजगञ्ज, न्यूरोड, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्र, बबरमहल, थापाथली, माइतीघर क्षेत्रको घरजग्गा कारोबार डिल्लीबजार मालपोतबाट हुन्छ । यसैगरि, मैतीदेवी, डिल्लीबजार, रातोपुल, कमलादी, सामाखुशी, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक लगायत रिङरोड भित्रका एरियाको कारोबार पनि यहीँ मालपोतमार्फत हुने गरेको छ । चक्रपथबाहिर बालाजु बाइपास, बनस्थली, ढुंगेधारा, गंगलाल हस्पिटलसम्मका क्षेत्रहरुको कारोबार पनि डिल्लीबजार मालपोत अन्तर्गत हुँदै आएको छ । तर, यी क्षेत्रमा अहिले घरजग्गाको लिखत पारित घटेको छ ।
भूमि व्यवस्थापन विभागका अनुसार २०७९ सालमा डिल्लीबजार मालपोतबाट २ हजार ५ सय १४ घरजग्गाको लिखत पारित भएको थियो । तर, वर्ष २०८० मा जम्मा २ हजार ३ सय २९ घरजग्गाको मात्रै लिखत पारित भएको छ ।
घट्दो तथ्यांकले कोर सिटी एरियाका महँगा जग्गा र घरको किनबेचमा मन्दी कायमै छ भन्ने देखाएको रियलइस्टेट व्यवसायीहरु बताउँछन् ।
३० प्रतिशत बढी मूल्य घट्यो, तर ग्राहक छैनन्
घरजग्गा व्यवसायीहरुका अनुसार कोर सिटी एरियासहित काठमाडौँ उपत्यकाका शहरी क्षेत्रमा अहिले घरजग्गा बिक्रि गर्न चाहने जग्गा तथा घर धनीहरु धेरै छन् । तत्कालै पाउने अवस्था हुँदा ३० देखि ४० प्रतिशतसम्म मूल्य घटाएरसमेत घरजग्गा बिक्रि गर्न चाहनेहरु बढे पनि ग्राहक उपलब्ध भएको कतिपय व्यवसायीहरुको बुझाई छ ।
‘किन्छु भन्नेहरुसँग पैसा छैन, बैंकबाट घर कर्जा लिने आँट कसैमा छैन’ एक जना व्यवसायी भन्छन्, ‘बैंकले पनि सहजै कर्जा दिन सकिरहेका छैनन् । ब्याजदर घटे पनि कर्जा लिएर सम्पत्ति जोड्ने चाहना धेरैमा हराइसकेको छ ।’
ति व्यवसायीका अनुसार रिङरोडभित्र यसअघि (मन्दी अगाडी) प्रति आना एक करोड पर्ने जग्गा अहिले ७० लाखमै पाइने अवस्था छ । ‘जग्गा धनीहरुलाई आर्थिक रुपमा समस्या परेको बेला छ, अलिकति बार्गेनिङ गर्नेले ६० लाखसम्मै पाउन सक्ने स्थिति छ’ उनी थप्छन्, ‘तर, ग्राहक छैनन् । खासमा भन्ने हो भने अहिले पैसा भएकाहरुले आफूले चाहेकै मूल्यमा चाहेको ठाउँमा जग्गा पाउने अवस्था छ ।’
त्यसो त, चक्रपथ भित्रको कोर सिटी एरियाभन्दा बाहिर पनि सुविधाको विकास र विस्तार भइरहेकाले रिङरोड बाहिरकै जग्गा किन्नेहरु बढेकाले पनि रिङरोडभित्र घरजग्गा कारोबार घटेको भूमी व्यवस्थापन तथा अभिलेख विभागको बुझाइ छ ।
‘सिटी एरिया तुलनात्मक रुपमा महँगो छ, यसकारण मान्छेहरु रिङरोड बाहिर बढी आकर्षित देखिएको पाइन्छ’ विभागका एक अधिकारी भन्छन्, ‘कोर एरियाको कारोबार गर्ने डिल्लीबजार मालपोतबाट भएको कारोबार विवरणले पनि मान्छेहरु सिफ्ट भइरहेको देखिन्छ । साथै, सिटी एरियामा जमिन मात्रै जोड्छु भन्नेले घरसहित किन्नुपर्ने बाध्यता छ, यहाँ खाली जग्गा पाउने सम्भावना नै न्यून छ ।’
ति अधिकारीका अनुसार कोर सिटी क्षेत्रभित्रै घरजग्गा किन्छु भनेर योजना बनाएकाहरु पनि अझै मूल्य घट्न सक्छ भनेर कुरेर बसेको पाइन्छ ।