मुलुकमा पछिल्लो समय बीमा व्यवसायको बृद्धि सँगसँगै बीमा अभिकर्ताको संख्या समेत बढ्दै गएको छ ।
नेपाल बीमा प्राधिकरणले अभिकर्ता अनुमतिपत्र प्रक्रियामा सहजीकरण गर्न शुरु गरेसँगै अभिकर्ताको संख्या बढ्न थालेको हो । यतिमात्र नभएर पछिल्लो समय बीमा प्राधिकरणको स्वीकृति लिएर लघुबीमा कम्पनीहरूले पनि कारोबार सुरू गरेपछि यो संख्या बढ्न सहयोग पुगेको हो ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा २ लाख ९६ हजार ४६ जना बीमा अभिकर्ताले अनुमतिपत्र लिएका थिए । तर, एक व्यक्तिले एउटा मात्र कम्पनीको अभिकर्ता बन्न पाउने व्यवस्था लागू भएपछि भने आव २०७९/८० मा अभिकर्ताको संख्या घटेर २ लाख ७७ हजार ६२६ कायम भएको थियो ।
तर चालू आव २०८०/०८१ मा अभिकर्ताको संख्या भने पुनः बढेको छ । चालू आवको चैत मसान्तसम्ममा अभिकर्ताको संख्या ३ लाख ६ हजार ११४ पुगेको प्राधिकरणले जानकारी दिएको छ । बीमा ऐन २०७९ को व्यवस्थाअनुसार ‘एक अभिकर्ता, एक बीमा कम्पनी’को प्रावधानले घटेको बीमा अभिकर्ताको संख्या पुनः बढ्न थालेको हो ।
लाइसेन्स नवीकरण गर्नेको संख्या कम भए पनि नयाँ लिनेको संख्या बढेको प्र्राधिकरणले बताएको छ । गत आर्थिक वर्षसम्ममा लाइसेन्स लिएकामध्ये १ लाख ३३ हजार ७८० ले मात्र नवीकरण गरेका छन् ।
यस्तै चालू आवमा जीवन बीमा कम्पनीमार्फत १ लाख ७९ हजार ५८९ जनाले नयाँ अनुमति लिएका छन् । त्यसैगरी, निर्जीवन बीमा कम्पनीका लागि ८४८, लघु जीवन बीमाका लागि १ हजार ८५६ र लघु निर्जीवन बीमाका लागि ४१ जनाले अभिकर्ता लाइसेन्स लिएको प्राधिकरणले जानकारी दिएको छ ।