![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका हाकिमहरुलाई राजस्व कम उठ्नुको कारण सोधेका छन् । बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा अर्थमन्त्रीले राजस्व कार्यालयहरुका प्रमुखहरुलाई काठमाडौँमै किन कम राजस्व उठ्यो भनेर प्रश्न गरेका हुन् ।
अहिलेको आर्थिक समस्याबाट ठूला व्यापारिक घरानाहरु प्रभावित नभएको भन्दै उनले धेरै आर्थिक क्रियाकलाप हुने काठमाडौँ उपत्यकाबाटै कम राजस्व उठ्नु सन्तोषजनक नभएको बताएका हुन् ।
‘काठमाडौं उपत्यकामा राजस्व संकलन लक्ष्यभन्दा कम किन उठ्छ ?’ अर्थमन्त्री डा. महतले प्रश्न गरे, ‘भ्याटमा नक्कली बिलको समस्या भनिएको छ, यो हो भने अपराध हो ।’
राजस्व विभागले कुल संकलन हुने राजस्वको ४४ प्रतिशत राजस्व ठूला करदाताबाट उठाउने गरेको स्मरण गराउँदै उनले गत वर्षको तुलनामा यसपाली ठूला करदाताबाट पनि कम मात्रामा राजस्व उठेको बताए ।
अर्थमन्त्री महतले काठमाडौँमै कम राजस्व उठ्नु समस्या भएको बताउँदै किन यस्तो भइरहेको छ भनेर कारण पत्ता लगाई आगामी दिनमा बढी राजस्व संकलन गर्ने कार्यदिशा तय गर्न निर्देशन पनि दिए ।