प्रधानमन्त्री भन्छन्, ‘सीमित व्यक्ति र समूहले कर्जाको ठूलो हिस्सा उपयोग गर्ने समस्या देखियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 02:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट प्रवाह हुने कर्जामा सीमित व्यक्ति तथा समूहको मात्रै पहुँच रहने समस्या बढिरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने समस्या देखिएको बताएका हुन् ।

‘कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको छ, तर बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव न्यून देखिन्छ’ उनले भने, ‘सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत–साधनको उपयोग गर्ने, उपलव्ध स्रोत–साधन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या देखिएका छन् ।’

यस्ता प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंकले समयमै उचित कदम चाल्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । 

उनले नेपाली अर्थतन्त्रले आन्तरिक र वाह्य कारणले सिर्जना भएको चुनौतीको उच्चतम बिन्दु पार गरिसकेको भन्दै आगामी परिदृश्य राम्रो रहेको पनि दाबी गरे । बैंकिङ क्षेत्रको तरलता बढ्दै जाने र कर्जाको ब्याजदर घट्दै जाने क्रमले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने प्रधानमन्त्रीको विश्वास छ । 

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले अर्थतन्त्रको संरचनागत सुधार गर्ने, बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने, अनावश्यक खर्च कटौती गर्ने, पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने, निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिने पनि बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved