अघि बढ्यो गाँजादेखि ढुङ्गासम्म निकासी गर्ने महत्वकांक्षी योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 10:14:17 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार घाटा हरेक महिना चुलिँदै गएपछि त्यसलाई कम गर्ने नीतिसहित महत्वकांक्षी योजना‘एकिकृत व्यापार रणनीति’ कार्यान्वयनमा ल्याएको छ।

मन्त्रालयले सन् २०२८ मै (अबको ५ वर्षमा) अर्थतन्त्रको आकार सय खर्बको हुने भन्दै अर्थतन्त्रको आकारको २० प्रतिशत बराबरको निर्यात गर्ने लक्ष्यसहित ‘एकीकृत व्यापार रणनीति’ कार्यान्वयनमा ल्याएको हो। यसको अर्थ आगामी ५ वर्षमा २० खर्ब बराबरको निर्यात गर्ने लक्ष्य छ।

चालु आर्थिक वर्षको वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ छ । कुल वैदेशिक व्यापारमा निर्यात १ खर्ब ३० अर्ब रुपैयाँको हुँदा आयात १३ खर्ब ३५ अर्ब बढीको छ। 

सन् २०३० सम्म नेपालको अर्थतन्त्रको आकार १ सय खर्बको हुने निजी क्षेत्रको दावी छ। यो अबस्थामा ल्याइएको व्यापार रणनीतिलाई अर्थपूर्णरुपमा हेरिएको छ। 

पूर्वअर्थसचिव रामेश्वर खनालले बनाएर दिएको व्यापार रणनीति वैशाख २६ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको हो । खनालले बनाएको मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले फागुन १६ गते नै मन्त्रिपरिषद पठाएको थियो । मन्त्रिपरिषदबाट वैशाख २६ गते मात्रै स्वीकृत भएर अहिले कार्यान्वयनमा आइपुगेको हो।

५ वर्षमा २० खर्ब रुपैयाँ बराबरको निकासी गर्ने महत्वकांक्षी लक्ष्य राखिएको व्यापार रणनीति कार्यान्वयन गर्न ५ वर्षमा ४ खर्ब ६३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। यो ४ खर्ब ६३ अर्बमध्ये रणनीति कार्यान्वयनको पहिलो वर्ष (आगामी आर्थिक वर्ष २०८१/०८१) का लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ। ५ वर्षमा २० खर्बको निर्यातका लागि १३ वटा रणनीति तय गरिएका छन् । 

यि हुन् निर्यातको रणनीति भित्र परेका वस्तु

एकिकृत व्यापार रणनीति २०८० मा १६ वस्तुहरुको निकासी सम्भावना देखाइएको छ। यसमध्ये केही निकासी भइरहेका पनि छन् । हाल निर्यात भइरहेका र भविष्यमा हुन सक्नेसमेत गरी योजना बनाइएको छ। 

अलैंची, अदुवा, दलहन, जुट र चिया निर्यातको उच्च सम्भावनाको सूचीमा छन्। यसअघि अलैंची, अदुवा र चिया मात्रै रहेकामा दलहन र जुट थपिएका हुन्। 

जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हाते कागज, रोजिन र टर्पेन्टाइनलाई वन क्षेत्रसँग सम्बन्धित निकासी हुन सक्ने वस्तुको सूचीमा समावेश गरिएको छ। 

ठूला उद्योगहरूमा फलाम तथा स्टिल, धागो तथा कपडा, जुत्ता, तयारी पोशाकलाई निर्यातको सम्भावना भएका वस्तुका रूपमा रणनीतिमा राखिएको छ। साना उद्योगमा गलैंचा, गहना, पश्मिना, पास्ता र ऊनीका सामान रहेका छन्। 

भविष्यमा निर्यात सम्भाव्य वस्तुहरूमा सुगन्धित तेल, हिमालयन स्प्रिङ्ग वाटर, तरकारी, फलफूल, मसलाहरू (दालचिनी, बेसार, लसुन, मरिच र तेजपात), हस्तकला, अल्लोका कपडाहरु, कफी, पीपीसी सिमेन्ट, छुर्पी र मह रहेका छन्।

भविष्यमा निकासीको सम्भावना भएका वस्तुहरूमा गाँजा र गाँजाजन्य वस्तु पनि राखिएको छ। आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भाव्य अध्ययन गरिने विषय समावेश छ। 

त्यस्तै, भविष्यमा निर्यात सम्भावना भएका वस्तुमा हाइड्रोजन ऊर्जा, ढुंगा तथा ढुंगाजन्य उत्पादनलाई निकासीको सूचीमा राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved