१० अर्ब कर छलेको आशंकामा फेरि खुल्दै २ हजार फर्मको ‘फाइल’, सय वटामा के भेटियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 02:22:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गत भदौ अन्तिमबाट आन्तरिक राजस्व विभागले करिब २ हजार फर्म तथा कम्पनीले राजस्व छली गरेको आशंकामा अनुसन्धान सुरु गर्यो । नक्कली बिल बिजक पेश गरि कर छली गरेको आशंकामा विभागले १ हजार ९६६ फर्म तथा कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो । यी फर्मबाट करिब १० अर्ब राजस्व छली भएको अनुमान विभागको थियो ।

आन्तरिक राजस्व विभागका अनुसार कुल १ हजार ९६६ फर्मको फाइल खोलिएकोमा अहिलेसम्म १ सय फाइलको अनुसन्धान सकिएको छ । १ सय वटा फर्ममाथि गरिएको छानबिनबाट उनीहरुलाई ३२ करोड कर तोकिएको छ । उनीहरुले कारोबार नै नगरी भ्याट बिल दाखिला गरि सरकारबाट भ्याट फिर्ताबापतको रकम लिएर राजस्व छली गरेको पाइएको विभाग स्रोत बताउँछ ।

फाइल खोलिएकामध्ये अहिले १ हजार ८६६ फर्म तथा कम्पनीमाथिको छानबिन जारी छ । चैतभित्र यी सबैको छानबिन सकेर कर निर्धारण गर्ने लक्ष्यमा आन्तरिक राजस्व विभाग छ ।

‘वस्तु र सेवाको लेनदेन नभई बिजक मात्रै लिएर १३ प्रतिशत भ्याट सरकारसँग दाबी गर्ने गरेको आशंका लागेपछि १ हजार ९६६ वटा फर्मको फाइल खोलिएको थियो, तिमध्ये १ सय वटाको छानबिन सकिएर ३२ करोड कर निर्धारण भएको छ’ आन्तरिक राजस्व विभाग स्रोतले भन्यो, ‘वस्तु र सेवाको बिक्रिका लागि नभई बिल मात्रै बिक्री गर्न फर्महरु खोलिने गरेको पाइयो ।’

विभाग स्रोतका अनुसार अहिलेसम्म अनुसन्धान सकिएका फर्म तथा कम्पनीमध्ये एउटै कम्पनीले ६÷७ करोडसम्म कर छली गरेको पाइएको छ । 

यसअघि, विभागका महानिर्देशक दीर्घराज मैनालीले कर छली भएको आशंकामा विभिन्न कम्पनीको फाइल ‘रि ओपन’ गरेर अनुसन्धान भइरहेको बिजपाटीलाई जानकारी दिएका थिए । विभागले यो विशुद्ध अनुसन्धान मात्र भएको र यसलाई ‘रि अडिट’ भन्न नमिल्ने बताएको थियो । अहिले भइरहेको अनुसन्धानमा अडिट भएका र नभएका सबै खालका कम्पनी तथा फर्म परेकाले यसलाई ‘रि अडिट’ भन्न नमिल्ने विभागको भनाइ रहँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved