चोभार सुक्खा बन्दरगाह चलाउने जिम्मा ट्रान्स नेपाललाई, ५ वर्षका लागि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 02:42:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चोभार सुक्खा बन्दरगाह चलाउने जिम्मा ट्रान्स नेपाल टी आर एस लोजिपार्क प्रा.लि.ले पाएको छ । यसअघि इन्टरमोडल यातायात विकास समितिले आह्वान गरेको टेण्डरमा आवेदन दिएका कम्पनीमध्ये ट्रान्स नेपाल छनोट भएको थियो । आज इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपालबीच सम्झौता भएको हो ।

समिति र प्रा.लि.बीच ५ वर्षका लागि २ करोड ८८ लाख रुपैयाँ न्यूनतम सट्टापट्टा बहाल र नियमअनुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको २० महिनामा क्रमशः कारोबार बढिरहेको बताएका छन् । उनले यो बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिँदा नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा समेत बढोत्तरी हुने देखिएको बताए । 

सम्झौतापत्रमा हस्ताक्षरपछि कम्पनीका प्रबन्ध निर्देशक राठीले चोभार सुख्खा बन्दरगाह सञ्चालनमा केही कठिनाई रहे पनि त्यस्ता चुनौतीलाई मध्यनजर गरेर अहिले कम्पनीले प्रभावकारी सञ्चालनको गृहकार्य सुरु गरेको बताए । 

इन्टरमोडल यातायात विकास समितिले चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि साउन ९ गते टेन्डर आह्वान गरेको थियो । जसमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले आवेदन दिएका थिए । समितिले प्राविधिक मूल्याङ्कनमार्फत बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाललाई दिने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved