अर्थतन्त्र लयमा ल्याउन मौद्रिक नीतिको समीक्षाबाट सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2023 | 03:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने र अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताएका छन्  ।  

सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत गरे ।

“नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ । यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाई गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवद्र्धन गर्न सहयोग गर्नसक्छ,” उनले भने ।

अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन नपर्ने अध्यक्ष ढकालले बताए।

उनले भने, “निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ । अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ । अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन पर्दैनथ्यो । तर, यसले केही न केही सकारात्मक सन्देश चाँही दिनेछ भन्ने हाम्रो अपेक्षा छ,” 

राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न सकेन, अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको उनको भनाई छ । 

“राज्यका सबै निकायले राम्रो काम गरिरहेको बताइरहँदा पनि अर्थतन्त्र विग्रदै गएको अवस्था थियो । हामी निजी क्षेत्रले यसलाई सम्बोधन गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गर्‍यौ । उहाँले सर्वपक्षिय छलफलको आयोजना गरी सम्वाद परिषद्लाई सक्रिय बनाउनुभयो । यसले निजी क्षेत्र र राज्यका निकायबिच समन्वय र सहकार्य सहज हुने अपेक्षा गरेका छौ,” उनले भने। 

उनले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताएका छन् । 

निजी क्षेत्रले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्रीको भारत, चीन तथा युएई भ्रमणका अवसरमा लगानी सम्मेलनहरुको आयोजना गरेको बताउँदै अध्यक्ष ढकालले यस सुदूरपश्चिम प्रदेशमा यही फागुन महिनामा आयोजना हुने लगानी तथा विकास सम्मेलनले यस क्षेत्रको विकास र सम्मृद्धिमा नयाँ खुड्किलो बन्ने बताए । 

मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीले देखाएको चासो र लिएको अग्रसरताको प्रसंशा गर्दै अध्यक्ष ढकालले सरकारी प्रकृयाको कारण धेरै आयोजना रोकिने गरेको र त्यसलाई छिटोछरितो गराउने व्यवस्था मिलाउन समेत आग्रह गरे । 

सरकारी प्रकृयाको कारण धेरै आयोजनाहरु समस्यामा पर्ने गरेका छन् । त्यस्ता समस्यामा परेका आयोजनाहरुलाई अगाडि बढाउन सकियो भने लढाउन सकिन्छ । म आफैले पनि यस प्रदेशमा करिब ५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव अगाडि बढाएको छु । यदि सरकारी प्रकृयालाई समयमै टुङ्याउन सकियो भने आगामी फागुनमा आयोजना हुने लगानी तथा विकास सम्मेलनदेखि त्यो आयोजना  सुरु गर्न सकिन्छ, उनले भने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved