अर्थमन्त्री भन्छन् 'अझै समस्या छन्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 02:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली अर्थतन्त्रमा अझै समस्या रहेको बताएका छन् । गतवर्षको तुलनामा अर्थतन्त्रका समस्याहरु कम हुने क्रममा रहेको भएपनि समस्यामुक्त भइनसकेको उनको भनाई छ । 

अर्थमन्त्री महतले अहिलेको देशको अर्थतन्त्र आजको भोलि नै सुधार भइहाल्ने अवस्था नरहेको उनको भनाई छ । 'समस्याको चाङ्ग छ', उनी भन्छन्, 'विस्तारै विस्तारै हल गरेर जाने हो । अहिले सकारात्मक लयमा छौं । अब निराश हुनुपर्ने अवस्था छैन ।' वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

अर्थतन्त्रका बाह्रय साथै आन्तारिक सुचक सुधारोन्मुख रहेको भएपनि तन्दुरुस्त अवस्थामा भने भइनसकेको उनको भनाई छ । अर्थतन्त्र हामीले भने जस्तै खाजेजस्तै नभएपनि सकारात्मक उन्मुख रहेको उनले बताए । ब्याजदर घट्दै गएको, कर्जा प्रवाह बढ्ने क्रममा रहेको साथै राजस्व संकलन पनि बढेका कारण अर्थतन्त्रमा सुधारोन्मुख रहेको बताए ।

उनले कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण अनावश्यक रुपमा कर्जा प्रवाह हुँदा अर्थतन्त्रमा समस्या पैदा भएको जिकिर गर्दै आफूले वित्त नीतिमा गरेको व्यवस्था र पछिल्लो पटक मौद्रिक नीतिमा गरिएको परिवर्तनले अर्थतन्त्रमा सुधार देखिएको बताए ।

शेयर बजारमा उत्साह र घरजग्गा कारोबारमा बढ्ने

अर्थमन्त्री महतले मौद्रिक नीतिको चौमासिक समिक्षा मार्फत नीतिगत दरमा गरिएको परिवर्तनले शेयर बजारमा उत्साह आएको बताएका छन् । मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ बाट ५.५ प्रतिशतमा झारिएको, बैंकदरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३ प्रतिशत कायम गरिएको छ । यसले ब्याजदर घट्दै गएको अर्थमन्त्री महतको दाबी छ । उनले शेयर बजारमा आएको उत्साहले अर्थतन्त्रमा सकारात्मक संकेत गरेको बताएका छन् । त्यस्तै समस्यामा परेका ऋणीहरुको कर्जा पुनसंरचना र पुनतालिर्कीकरणले बैंक ऋण तिर्न नसकेका ऋणीलाई सहज हुने मन्त्री महतको दाबी छ । 

वित्त अनुशासनमा जोड

अर्थमन्त्री महतले सरकारको खर्चमा सम्बन्धमा पनि निर्मम ढंगले आफू प्रस्तुत हुने बताएका छन् । यसका लागि सरकारी खर्च तर्फ वित्त अनुशासनमा जोड दिइएको उनको भनाई छ । उनले बहुवर्षिय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको साथै चालू आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिने व्यवस्था गरिएको जानकारी दिए । 

कर असुलमा जोड

अर्थमन्त्री महतले एनसेलले नेपालको कानुन अनुसार कर तिर्नुपर्ने बताएका छन् । यसका लागि सम्बिन्धत निकायलाई गम्भिर भएर छानबिन गर्न निर्देशन दिइएको उनको भनाई छ । उनले नेपालको कानुन मान्छु भनेर आइसकेपछि जुनसुकै लगानीकर्ताले पनि उक्त कानुन मान्नु पर्ने बताए । 'हामी लगानी प्रोत्साहन गर्न चाहन्छौ । कर्ही हाम्रो कानुनमा समस्या छ भने त्यसलाई सुधार गछौं ।' उनले भने, 'तर कानुन मान्छु भनेर भने आइसकेपछि कानुन मान्नुपर्छ । त्यसको विकल्प छैन् ।' विगतमा पनि करको विषयमा अन्तराष्ट्रिय अदालत गएको स्मरण गर्दै उनले नेपालको पक्षमा नै फैसला भएको बताए । 

बजेटको लक्ष्यभन्दा तलै मुद्रास्फीति रहने प्रक्षेपण

चालू आर्थिक वर्षको बजेटले साढे ६ प्रतिशत मुद्रास्फीतिको प्रक्षेपण गरेको छ । मन्त्री महतले यसवर्ष बजेटले लिएको राखेको लक्ष्यभन्दा कममा नै मुद्रास्फीति सीमित गर्न सकिने बताउँछन् । अधिकांश सामान भारतबाट नै आयात गरिने भन्दै भारतमा अहिले ५.५ प्रतिशत मुद्रास्फीति रहेको भन्दै नेपाललाई ६.५ प्रतिशत मुद्रास्फीति राख्न सकिने उनको भनाई छ । 

लगानीको लागि ४ क्षेत्र विशेष

उनले नेपालमा विभिन्न चार क्षेत्रमा लगानी गरेर विकासको रफ्तार बढाउन सकिने जिकिर गरे । जलविद्युत, पर्यटन, पूर्वाधार साथै आईटी सेक्टरमा लगानीको प्रशस्तै संभावना रहेको अर्थमन्त्री महत बताउँछन् । यसका लागि नेपाली, विदेशी साथै गैरआवासीय नेपालीले लगानी गर्न सक्ने उनको भनाई छ । यसका लागि नीतिगत समस्या भए हल गर्न सरकार तयार रहेको उनले बताए । आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्न लागेको सरकारले उक्त सम्मेलन अगाडि नै लगानीका लागि नीतिगत तथा संरचनागत अड्चन हल गर्न सकिने उनको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved